गाँजाको व्यावसायिक उत्पादनलाई वैधता दिने सरकारको घोषणा : को को छन् खुसी हुने ठुलाबडा ?

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेटमा औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेपछि अभियन्ताहरू निकै उत्साहित भएका छन् । अर्थमन्त्री पुनले मंगलबार संसद् बैठकमा पेस गरेको बजेटको २९ बुँदामा औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने उल्लेख छ ।

अर्थमन्त्रीको सो घोषणालाई अधिकांश सांसदले टेबुल ठोकेर समर्थन गरेका थिए । २०३३ सालदेखि नेपालमा प्रतिबन्धित भएको गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने सम्बन्धमा प्रतिनिधि सभामा सांसदहरूले समयसमयमा कुरा उठाउँदै आएका थिए । हिप्पी संस्कृतिका अमेरिकीहरू ०१७÷१८ सालतिर घुम्न आउँदा काठमाडौँमा रमाइलो गर्ने, आनन्द लिने उद्देश्यले गाँजा सेवन गर्न थालेपछि बिस्तारै यसले व्यापकता लिएको पाइएको छ । तिनीहरू धेरै समय काठमाडौँमै बिताउने भएपछि सरकारले सीमित पसललाई गाँजा बिक्रीको इजाजतपत्र दिएको थियो ।

पछि अमेरिकाको दबाबका कारण संयुक्त राष्ट्रसङ्घ नार्कोटिक्स बोर्डले गाँजालाई प्रतिबन्ध लगाएको थियो । राष्ट्रसङ्घले गाँजामाथि प्रतिबन्ध लगाएपछि नेपालले लागुऔषध(नियन्त्रण) ऐन २०३३ बनाएर यसको उत्पादन, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाएको थियो ।

गाँजालाई वैधानिकता दिन अभियान

२०७६ साल कात्तिकमा तत्कालीन नेकपाका सांसद शेरबहादुर तामाङले गाँजा सम्बन्धी गैरसरकारी विधेयक नै दर्ता गराएका थिए । त्यतिबेला विधेयकको पक्षमा ८० प्रतिशत सांसद रहे पनि ५२ जनाले हस्ताक्षर गरेको उनी सम्झन्छन् । सरकारको आगामी बजेटमै गाँजा खेतीलाई वैधानिकता दिने विषय समेटिएपछि उनी निकै खुसी छन् । नेपालमा व्यावसायिक गाँजा खेतीका लागि लागुऔषध(नियन्त्रण) ऐन संशोधन भएमा अन्तर्राष्ट्रिय रुपमा कुनै समस्या नभएको तामाङ बताउँछन् ।

‘लागुऔषध(नियन्त्रण) ऐन २०३३ मा केही संशोधन गर्नुपर्छ । त्यस ऐनमा गाँजा खेती गर्न, ओसारपसार गर्न, खानलाई बन्देज लगाएको छ । अन्तर्राष्ट्रिय कानुनमा अहिले समस्या छैन’, रातोपाटीसँग उनले भने, ‘संयुक्त राष्ट्रसङ्घमा गाँजालाई पहिला हानिकारक लागुऔषधको सूचीमा राखेको थियो । युएनले अहिले गाँजालाई हानिकारक लागुऔषध सूचीबाट हटाइसकेको छ । त्यसकारण अन्तर्राष्ट्रिय रुपमा अब कुनै बाधा बाँकी छैन ।’

राष्ट्रसङ्घ अन्तर्गत रहेको ‘कमिसन अन नार्कोटिक ड्रग’ले कोरोनाकै बेला युएनलाई विश्व स्वास्थ्य सङ्गठनको प्रमुखले गाँजालाई हानिकारक लागुऔषधबाट हटाएर औषधीय गुण भएको वनस्पतिको सूचीमा राख्न सिफिरिस गरेका थिए । त्यसपछि युएनको मातहतमा रहेको सीएनडीमा छलफल गराइएको थियो । गाँजालाई हानिकारक लागुऔषधबाट हटाउने पक्षमा नेपाल, भारत र थाइल्याण्ड लगायत २७ देशले मतदान गरेका थिए भने विपक्षमा २५ देशले मत हालेका थिए ।

ऐनमा रहेको प्रतिबन्धित व्यवस्थालाई हटाउन २०७७ साल जेठमा तत्कालीन नेकपाका सांसद विरोध खतिवडाले नेपालमा गाँजा र भाङलाई लागुऔषधको श्रेणीबाट हटाउन माग गरेका थिए ।

नेपालमा गाँजाको सम्भाव्यता कति ?

बजेटमा औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सरकारले कानुन बनाउने नीति ल्याएपछि छिटै ऐन संशोधन हुनेमा तामाङले विश्वास व्यक्त गरे । उनले गाँजा औषधिबाहेक कपडा बनाउन, तेल उत्पादनका साथै पर्यटकका लागि मनोरञ्जन दिन प्रयोग गर्नुपर्ने तर्क गर्छन् ।

‘जति पनि पर्यटक नेपालमा आउँछन्, पहाड घुम्न जान्छन्, हिमाल चढ्छन्, गाँजा प्रायोग गर्छन् । लोकल कुखुरा, सिस्नु, ढिँडो खान्छन् । पैसा बुझाउँछन्, जान्छन् । एक हप्तालाई घुम्न आएका पर्यटक एक महिना घुमेर जान्छन् । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ । व्यक्तिको आम्दानी पनि बढ्छ’, उनको तर्क छ ।

सरकारले व्यावसायिक खेतीको अवधारणा बनाएकोमा यस्तो खेती समुदायमा आधारित हुनुपर्नेमा तामाङको जोड छ । गाँजा खेती उत्पादनको पहिलो हकदार समुदाय भएको उनले बताए ।

‘गाँजा खेती किसानलाई दिनुपर्छ । व्यवसायीलाई लाइसेन्स दिएर सबै उत्पादन गर भन्न मिल्दैन । पहिलो उत्पादन किसानले पाउनुपर्छ । त्यसपछि औषधि, कपडा, तेल जे बनाए पनि कम्पनीलाई दिँदा हुन्छ’, तामाङले भने, ‘सीमित व्यक्ति वा व्यपारीलाई सयौँ बिघामा लगाएर अरुलाई लाइसेन्स नै नदिने हुँदैन । संविधानमा समाजवाद उन्मुख भनेपछि समुदायमा आधारित हुनुपर्छ ।’

Everest Incitute

गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने अभियानमा सुरूदेखि नै काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री केशव स्थापित पनि धान, बन्दा खेती गरेर देशको अर्थतन्त्र उँभो नलाग्ने दाबी गर्छन् ।

उनले गाँजाको उपयोगिताबारे जति अध्ययन गरे पनि कम हुने बताए । गाँजाको बिउ राम्रो भएमा एक रोपनीमा १० लाख रुपैयाँ आम्दानी हुने उनको भनाइ छ ।

‘यसले नेपालको अर्थतन्त्र कहाँ पुग्छ, बहसै नगरौँ । गाँजा खेतीमा नेपाल विश्वकै नेतृत्वदायी देश हुनुपर्छ’, स्थापितले भने, ‘१० वर्षमा विदेशीलाई ल्याएर अत्याधुनिक खेती गराउन सक्छौँ । ५÷१० रोपनी भएका मानिसले केही हजारको धान रोपेर केही हुँदैन । गाँजा खेतीबाट वर्षको ५० लाख कमाउन सकिन्छ । यसले मानिसको जीवनस्तर कहाँ पुग्छ ! बन्दा रोपेर हामी कहीँ उँभो लाग्दैनौँ । हाम्रो अर्थतन्त्र गाँजा खेती नै हो ।’

‘परम्परागत खेतीभन्दा गाँजाबाट २५ प्रतिशत बढी आम्दानी गर्न सकिन्छ । मानिसको आम्दानी १० प्रतिशतले वृद्धि हुन्छ । गाँजा बजारको हिसाबले पनि राम्रो छ । नेपालका पहाडी भूभाग बाँझो छ । वन्यजन्तुले बालीनाली नष्ट गरिरहेको अवस्थामा सुरक्षित खेती गाँजा हो,’ राजेश राईले भने ।

२०७४ सालमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि स्थापितले भौतिक पूर्वाधारमन्त्रीबाट राजीनामा दिएका थिए । २०७५ देखि उनी गाँजा खेतीको अभियानमा लागेका थिए । मन्त्रीबाट पदमुक्त भएपछि झापाको सतासी धाम नगरपरिषदमा गाँजा खेतीबारे आफूले पहिलोपटक विषय उठाएको स्थापितको दाबी छ ।

नेपालमा गाँजालाई वैधानिकता दिन पूर्वप्रधानमन्त्री केपी ओलीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

गाँजा खेतीका लागि राम्रो सम्भाव्यता भएको मुलुकमध्ये नेपाल एक हो । यहाँको हावापानी अनुसार फरकफरक प्रजातिको गाँजा नेपालमा पाइने गरेको त्रिभुवन विश्वविद्यालयमा वनस्पतिको विषयमा अनुसन्धान गरिरहेका राजेश राई बताउँछन् । उनका अनुसार गाँजा औषधिमात्र नभइ कपडा बुन्न र तेल निकाल्न प्रयोग भइरहेको छ । परम्परागत खेतीभन्दा गाँजाबाट २५ प्रतिशतभन्दा बढी आम्दानी हुने उनको तर्क छ ।

‘परम्परागत खेतीभन्दा गाँजाबाट २५ प्रतिशत बढी आम्दानी गर्न सकिन्छ । मानिसको आम्दानी १० प्रतिशतले वृद्धि हुन्छ । गाँजा बजारको हिसाबले पनि राम्रो छ । नेपालका पहाडी भूभाग बाँझो छ । वन्यजन्तुले बालीनाली नष्ट गरिरहेको अवस्थामा सुरक्षित खेती गाँजा हो,’ उनले भने ।

विश्वव्यापी जलवायु परिवर्तनको समस्या कम गर्न पनि यसले मद्दत गर्ने उनको तर्क छ । उनले भने, ‘गाँजामा कार्बनको सञ्चिति राम्रो छ ।’

नेपालको तराई बाहेक सबै क्षेत्रमा गाँजाका लागि हावापानी राम्रो देखिए पनि औषधिजन्य गुण हिमाल, पहाड र तराईमा फरक पाइएको राईको अनुभव छ । तथापि औषधिजन्य गुण कम भएका गाँजाको रेसा कपडा बनाउन तथा बिउबाट निस्केको तेल स्वास्थ्यका लागि निकै राम्रो भएको उनको तर्क छ ।

गाँजा क्यानाबिस परिवारको सपुष्पक वनस्पति हो । यो वनस्पति शताब्दीयौँदेखि औषधीय, मनोरञ्जन र अन्य उपयोगका लागि प्रयोग हुँदै आएको छ । क्यानाबिस सटिभा, क्यानाबिस इन्डिका र क्यानाबिस रुडरेलिस गरी यसका तीन वटा प्रमुख प्रजाति पहिचान गरिएका छन् । यी बाहेक पनि यसका कैयन् प्रजाति छन् ।

गाँजाको बोटको बोक्रा र पातबाट रेसा पनि बन्दछ, जसबाट कपडा, ब्याग, थैली आदि सरसामान बनाइन्छ । गाँजाको बिउ, बिउको तेल र पातका विभिन्न प्रयोग छन् । यो सागसब्जी, जुस, औषधि, अध्यात्म र मनोरञ्जनका लागि प्रयोग गरिन्छ ।

विभिन्न देशले अहिले आ–आफ्नो अर्थतन्त्रलाई बलियो बनाउन गाँजा खेती फुकुवा गर्न थालेका छन् । हाल करिब १०० भन्दा बढी देशमा गाँजाको व्यावसायिक खेती तथा किनबेच हुने गरेको राईको भनाइ छ ।

-ratopati

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.