सुमित्रा लुईटेल:
काठमाडौं । प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस जीर्ण खालको मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी) ले ग्रसित छन् । १४ लाखभन्दा बढीले यसबाट ज्यान गुमाएको तथ्यांक छ ।
ग्लोबल बर्डन अफ डिजिजेजको तथ्यांकमा आधारित एक राष्ट्रिय अध्ययन (अच्युतराज पाण्डेको संयोजकत्वमा) अनुसार नेपालमा कुल जनसंख्याको ६-७ प्रतिशत दीर्घ मिर्गौलाका बिरामी रहेका छन् भने मृत्युदर प्रतिलाख दुईदेखि तीन जना छन् ।
मानिसको शरीरमा रहेका विकार पदार्थ र बढी भएको पानीको मात्रालाई छानेर पिसाबको माध्यमबाट शरीर बाहिर पठाउने अंग हो मिर्गौला । सिमीको गेडा आकारको प्रत्येक मिर्गौला चारदेखि पाँच इन्च लामो हुन्छ । जसमा एउटा अति नै सानो नेफ्रोन नामक फिल्टर हुन्छ । यो फिल्टरले रगतमा भएको विकार र बढी मात्रामा भएको पानीलाई शरीर बाहिर पठाउने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा. डा. दिव्या सिंह शाह बताउँछिन् ।
मिर्गौलाको काम शरीरमा तरल पदार्थको स्तरलाई सन्तुलनमा राख्नु, रगतबाट फोहोर र विषाक्त पदार्थ फिल्टर गर्नु, रक्तचाप नियन्त्रण गर्ने हर्मोन निकाल्नु, स्वस्थ हड्डीहरू कायम राख्न भिटामिन डी सक्रिय गर्नु, हर्मोन उत्पादन गर्नु (जसले रातो रक्त कोषिकाहरूको उत्पादनलाई निर्देशित गर्दछ) हो ।
कन्सल्टेन्ट युरोलोजिस्ट डा. अनिल पुकार साह भन्छन्, ‘रगतमा खनिज पदार्थ (सोडियम, फस्फोरस, पोटासियम) सन्तुलनमा राख्न मिर्गौलाको महत्वपूर्ण भूमिका हुन्छ ।’
मिर्गौलाले २४ घण्टामा करिब २०० लिटर रगत छान्ने काम गर्छ । यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्याधिक पानीलाई पिसाबको माध्यमबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्ने डा. साह बताउँछन् ।
मिर्गौलाको संरचना
शरीरमा दुईवटा मिर्गौला हुन्छन् । मिर्गौला पेटको पछाडि मेरुदण्डको दुवै छेउमा हुन्छ ।
वयस्कमा मिर्गौला लगभग १० सेन्टिमिटर लामो, ६ सेन्टिमिटर चौडा र ४ सेन्टिमिटर बाक्लो हुन्छ । प्रत्येक मिर्गौलाको वजन लगभग १५० देखि १७० ग्राम हुन्छ ।
थोरै पानी पिउँदा मिर्गौलामा के असर पुग्छ ?
मिर्गौलाको काम शरीरमा रहेको विषाक्त पदार्थलाई फिल्टर गरी पिसाबसँगै बाहिर निकाल्ने हो । शरीरबाट धेरै पानी निस्कने प्रक्रिया जस्तो- पखाला लाग्ने, बान्ता हुने र पसिना धेरै जाने भयो र कम पानी पिउँदा शरीरमा रक्तचाप घट्छ ।
‘रक्तचाप घटेपछि मुटुले चाहिने मात्रामा मिर्गौलामा रक्तसञ्चार गर्न सक्दैन, जसले गर्दा मिर्गौलाले गर्ने काममा असर पुग्छ । जसकारण मिर्गौलामा ‘एक्युट किड्नी इन्जुरी’ हुनसक्ने मिर्गौला रोग विशेषज्ञ डा. निशान्त आचार्य बताउँछन् ।
‘यस्तो अवस्थामा कम पानी पिउनाले शरीरमा विषाक्त पदार्थ जम्मा हुने खतरा बढ्छ । जसले मिर्गौलाको कार्यमा समेत असर पर्छ । साथै मिर्गौलाको पत्थरी बन्ने, मिर्गौलामा संक्रमण हुने र मिर्गौला फेल खानेसम्मको जोखिम हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले मिर्गौलालाई स्वास्थ्य राख्न दैनिक तीनदेखि चार लिटर पानी पिउनुपर्छ ।’
धेरै पानी पिउँदा मिर्गौलामा कस्तो असर पर्छ ?
‘गुलियो पनि धेरै खायो भने तीतो हुन्छ’ भने जस्तै कुनै पनि कुरा शरीरलाई चाहिने भन्दा बढी भयो भने त्यसले असर गर्ने डा. आचार्य बताउँछन् ।
‘दैनिक तीनदेखि चार लिटर पानी पिउनुपर्नेमा साढे चार लिटर वा पाँच लिटर पानी पिइयो भने त खासै असर नगर्ला । तर दैनिक रुपमा धेरै मात्रामा पानी पिउँदा मिर्गौलालाई भार पर्छ र मिर्गौलामा समस्या निम्तिन सक्छ,’ उनी भन्छन् ।
पहिले नै मिर्गौलाको समस्या भएको व्यक्तिको मिर्गौलाको पानी फिल्टर गर्ने क्षमता कम हुन्छ । त्यसैले त्यस्ता बिरामीले पानी कम पिउनुपर्छ । यस्ता व्यक्तिले चिकित्सकको सल्लाहअनुसार पानी पिउनुपर्ने हुन्छ ।
पानी नखाएको बेला मिर्गौलाले के गर्छ ?
हाम्रो शरीरका धेरै अंग २४ घण्टा सक्रिय हुन्छन्, त्यसमा मिर्गौला पनि पर्छ । राति निदाएको समयमा पनि मिर्गौलाले आफ्नो काम गरिरहेको हुने डा. आचार्य बताउँछन् ।
‘मिर्गौला चनाखो अंग हो । यसले शरीरलाई के कुरा चाहिन्छ के चाहिंदैन भन्ने कुरा स्वभाविक तवरमा आफैं गर्न सक्छ,’ उनी भन्छन्, ‘यदि कसैले एक दिन पानी नखाई बस्छन्, व्रत बस्छन् भने मिर्गौलाले शरीरलाई आवश्यक पर्ने पानी शरीरको अन्य अंगबाट व्यवस्थापन गर्छ ।’
मिर्गौलामा समस्या हुने अन्य कारण
मिर्गौलाको समस्या सबैलाई हुनसक्छ तर मधुमेह, उच्च रक्तचाप, मोटोपन र नियमित तवरमा दुखाइ कम गर्ने औषधि सेवन गर्ने व्यक्तिलाई जोखिम बढी हुन्छ । त्यस्तै परिवारमा कसैलाई मिर्गौलासम्बन्धी समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि सम्भावना हुन्छ । जीर्ण खालको मिर्गौला सुन्निने समस्या (क्रोनिक ग्लोमेरुलोनेफ्राइटिस) भएकालाई यस्तो जोखिम बढी हुने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा. डा. सिंह बताउँछिन् ।
मिर्गौला खराब हुँदा देखिने लक्षण
प्रा. डा. सिंह भन्छिन्, ‘बिहान उठ्दा आँखाको डिल सुन्निने, खुट्टाको गोली गाँठा सुन्निन थाल्ने, शरीर सुन्निने, अकस्मात तौल बढ्ने, रक्तअल्पता हुने, अल्छी लाग्ने, थकान महसुस हुने, थोरै हिंड्दा पनि स्वाँस्वाँ हुने समस्या मिर्गौला खराब हुँदा देखिने लक्षण हुन् ।’
यस्तै हड्डी दुख्ने, पिसाब छिनछिनमा आउने, पिसाब फेर्दा धेरै फिंज ननिस्किने, पिसाबको रंग चिया जस्तो हुने पनि समस्या देखिन्छ ।
‘कतिपय मिर्गौलासम्बन्धी समस्यामा कुनै पनि लक्षण नदेखाउन सक्छ । तर पनि कहिलेकाहीं कोखा दुख्ने, पिसाब पोल्ने, ज्वरो आउने हुनसक्छ । यस्तो समस्या दोहोरिएमा मिर्गौलासम्बन्धी समस्या भएको हुनसक्छ,’ डा. सिंह भन्छिन् ।
मिर्गौला खराब भएपछि कस्तो उपचार ?
मिर्गौला खराब भएपछि सुरुमा अस्पताल गएर परीक्षण गराएर कुन चरणको हो भन्ने पत्ता लगाउनुपर्छ । नेपालमा जीर्ण खालको मिर्गौलाको समस्या भएका अधिकांश व्यक्ति अन्तिम अवस्थामा मात्रै चिकित्सकसमक्ष पुग्ने गरेका छन् ।
मिर्गौलाको खराबीका पाँचवटा चरण हुन्छन् । पाँचौं चरण अन्तिम चरण हो । चौथो चरणसम्मका बिरामीलाई औषधि सेवनले नै ठीक हुन्छ । पहिलो चरणमा छ भने दोस्रोमा जान नदिने, दोस्रोमा भए तेस्रोमा जान नदिने गर्दै औषधिले रोक्दै रोक्दै जान्छ । तर औषधि नियमित खानुपर्छ ।
तर अन्तिम अर्थात् पाँचौं चरणमा बिरामी पुगेको छ भने डायलाइसिस र मिर्गौला प्रत्यारोपण मात्र विकल्प हुन्छ ।
मिर्गौलाबारे १० रोचक तथ्य
– वयस्कको मिर्गौलाको तौल १४२ ग्राम हुन्छ । यो मानव मुट्ठी बराबर हुन्छ ।
– अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो मिर्गौलाको पत्थरी ढुंगा १.१ किलोग्रामको छ ।
– दाहिने मिर्गौला कलेजोको ठीक तल हुन्छ र यो मानव भित्री अङ्गहरुमध्ये सबैभन्दा ठूलो अंग हो । बायाँतिरको मिर्गौला दायाँतिरको भन्दा सानो हुन्छ ।
– मिर्गौलामा साढे ११ लाख कोषिका हुन्छन् । यिनीहरूलाई नेफ्रोन भनिन्छ । यिनीहरूलाई जोडेर डोरी जस्तै बनाइयो भने त्यो आठ किलोमिटर लामो हुन्छ ।
– मिर्गौलाले दिनमा ४०० पटक रगत सफा गर्छ ।
– मानव शरीरमा रक्तचाप कम भएमा मिर्गौलाले रक्तनलीलाई संकुचन गर्ने सन्देश दिन्छ ।
– मिर्गौलाले हरेक मिनेट १.३ लिटर रगत सफा गर्छ ।
– पत्थरी हुनुको सबैभन्दा ठूलो कारण पर्याप्त पानी नपिउनु हो ।
– शरीरको कुल रगतको २५ प्रतिशत मुटुबाट मिर्गौलामा जान्छ ।
– मिर्गौला प्रत्यारोपण गर्दा, नयाँ मिर्गौला पुट्ठाको हड्डीभित्र राखिन्छ । पुरानो मिर्गौला हटाउन आवश्यक हुँदैन ।
साभारः onlinekhabar