एमालेमाथि थप १० बुँदा
- घनश्याम भुषाल – उपमहाँसचिव, नेकपा एमाले
१. नेकपा (एमाले)को नवौं महाधिवेशनमा विधान अधिवेशनको वैधानिक व्यवस्था पारित भयो । जसको उद्देश्य थियो– पार्टीको वैचारिक–सैद्धान्तिक सबै प्रश्नहरुको जवाफ खोज्नु, नीतिगत तहमा बहस गर्नु र टुंगो लगाउनु ।
तर जगजाहेर छ, विधान अधिवेशनमा त्यसो भएन । त्यो भन्दा त महाधिवेशनमै नेतृत्व र नीतिको अलिक धेरै बहस हुन्थ्यो । पाँचौं महाधिवेशनमा हामीले खुल्ला छलफल गर्यौं, सडकमै छलफल गर्यौं । छैठौंमा पनि त्यसै गरियो ।
सातौंमा छलफल कम भयो, आठौं र नवौंमा पनि अहिलेभन्दा त धेरै बहस गरिएको हो । सबैभन्दा बढी छलफल हुनु आवश्यक ठानेर राखिएको विधान अधिवेशनमा चाहिँ कम छलफल भयो । न समय तय भयो, न एजेण्डा नै । विधानमाथि छलफल नै गर्न नपाएपछि विधान महाधिवेशन गर्नुको के औचित्य भयो भनेर प्रश्न उठाउने ठाउँ छ ।

२. विधान महाधिवेशन भइसकेपछि यो महाधिवेशन अलि पछि गर्दा पनि हुन्थ्यो भन्ने विचार पनि आएका छन् । तर अहिले नै गर्नुपर्छ भनेर अध्यक्ष केपी शर्मा ओलीले बढी जोड दिनुभयो । अन्ततः स्थायी कमिटीले निर्णय गर्यो । त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्यो । त्यसमाथि प्रश्न उठाउनुको कुनै अर्थ भएन ।
अब आगामी महाधिवेशनमा कमिकमजोरीहरू महशुस गर्ने, छलफल गर्ने र सैद्धान्तिक र सांगठनिक काम खुट्टाउने काममा लाग्नुपर्छ । त्यसमा हामी सक्षम छौं । तर समय बहुत कम छ । समय कम भएकै कारण महाधिवेशनले यी विषयमा निष्कर्ष निकाल्ने सम्भावना भने कम छ ।
३. पहिला पार्टीको कामको प्रणाली अलिक संस्थागत थियो, अहिले संस्थागत पनि छैन । कमसेकम पार्टीका छलफलका सबै एजेण्डा सचिवालयले तय गथ्र्यो । अहिले त सचिवालयको बैठक नै बसेको छैन । पार्टीको अध्यक्ष, महासचिव र संगठन विभाग प्रमुखका नाममा काम भएका छन् । स्थानीय पार्टी अधिवेशन गर्ने क्रममा फरक मत राख्नेहरू भएको ठाउँमा अधिवेशन नै हुन दिइएको छैन । कतिपय ठाउँको अझै परिणाम आएको छैन । अधिवेशन जसरी पनि गर्नुपर्छ भन्ने ठाउँमा मात्रै चुनाव भएको छ । यसरी हेर्दा बहुत कम ठाउँमा मात्र अधिवेशन भएको छ ।
महाधिवेशनको के–के तयारी भइरहेको छ हामीलाई थाहा छैन । महाधिवेशनको मूल व्यवस्थापकीय समिति बनाइएको छ, त्यसले महाधिवेशनस्थल तय गर्ने, खानेबस्ने लगायतको प्राविधिक व्यवस्थापन त गर्दै होला । तर पार्टीको राजनीतिक सिद्धान्त–विचार जस्ता मूल कुरामा छलफल गरेको छैन ।
४. मेरो चासो विचार, सिद्धान्तमा हो । पार्टीभित्रका मुद्दा व्यक्तिको हुँदैन, पार्टीको हुन्छ । विचारमा छलफल भयो भने न पार्टीको विचार बनेर जान्छ । विचार भएन, छलफल नै भएन भने पार्टीले आफैंभित्रका सही विचार पनि स्थापित गर्न सक्दैन । त्यसमा आधारित प्रणाली पनि बन्दैन ।
एमाले एक्लै छँदा बहस हुने गथ्र्यो । पछि, नेकपा एमाओवादीसँग पार्टी एकता गर्यौं, जुन इतिहासको आवश्यकता थियो । तर त्यो एकताको प्रक्रिया भने संस्थागत भएन । सबै अधिकार सचिवालयमा, सचिवालयको अधिकार दुई अध्यक्षमा जस्तो हुन गयो । उहाँहरूको खिचातानीले गर्दा समस्या आए । उहाँहरू मिलुन्जेल सबै ठिकजस्तो देखियो, नमिलेपछि त्यसलाई स्थायी कमिटीले पनि समाधान वा नियन्त्रण गर्न सकेन । संसद विघटनदेखि त हामीले एकपछि अर्को ठक्कर खाँदै गयौं ।
५. त्यसो त, नवौं महाधिवेशनसम्म पनि नेपाली समाज र नेपाली राजनीतिको विकासलाई बुझ्ने सन्दर्भमा आधारभूत सैद्धान्तिक विवाद थिए । कमरेड पुष्पलालले भनेको पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसक्यो, अब अगाडि हेर्नुपर्छ, त्यो भनेको समाजवादतिर हो भन्ने विचार हामीले आठौं महाधिवेशनदेखि नै लिएका थियौं ।
खासमा, एमालेभित्रै पनि जनताको बहुदलीय जनवाद (जबज)को व्याख्याबारे नै विवाद छ । जबजको क्रान्तिकारी र दक्षिणपन्थी दुवै व्याख्या भएको छ । म क्रान्तिकारी जबजको पक्षमा छु । जबज भनेकाले चुनावमा भाग लिनु, जित्नु र फेरि पनि जित्नु भनेर बुझियो भने यो चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्छ । चुनावले समाजको रूपान्तरण गर्नुपर्छ । त्यो श्रमजीवी वर्गको पक्षमा हुनुपर्छ । यसको मापदण्ड त्यस्तो बनाउनुपर्छ । हामीले त्यसो गर्ने भइसकेपछि जनताको बहुदलीय जनवाद (जबज)को कार्यक्रम पूरा भैसक्यो भन्यौं । अहिले आएर सबैले यो कुरा मानेका छन् ।
नवौं महाधिवेशनमा धेरै बहस भए, अन्ततः हाम्रो विचार पारित भयो । त्यो कार्यदिशामा हामी अहिले एक ठाउँ उभिएका छौं । त्यो हो– दलाल पुँजीवादको वर्चश्वलाई नियन्त्रण गरी राष्ट्रिय पुँजीको विकास गर्ने, समाजवादको तयारी गर्ने । यसमा हिजो असहमत भएका साथी पनि अहिले सहमत भए । तर, हामीले कार्यदिशा मात्रै तय गर्यौं । कार्यदिशाले कार्यक्रमको माग गर्छ । जुन अहिलेसम्म बनेको छैन ।
हामीबीच १० बुँदेमाथि छलफल हुँदै गर्दा ओलीजीको बार्दलीको भाषण र अन्य अभिव्यक्तिले उचालपछारको प्रयत्न भइरह्यो । धकेल्न र निक्लन चाहनेबाहेक विभाजित भइहाल्नुपर्ने अरु कारण थिएन ।
कार्यक्रम नै नभएपछि कमिटीले के गर्छ ? पार्टीका अध्यक्ष, महासचिवले के गर्छन् ? तलका कमिटी वा अन्य पदाधिकारी वा सरकारको मन्त्री वा मेयरहरूले के गर्छन् ? पहिले जे गर्दै आएका छन्, त्यही मात्र गर्छन् । समाजवादतर्फ जाने ठोस कार्यक्रम भएको भए त्यही लागू गर्थे । सरकारमा जाँदा वा नहुँदा पनि त्यही तरिकाले गर्थे ।
त्यसो नहुँदा जथाभावी गतिविधि भए । त्यसको मूल्यांकन ठूलाहरुले गर्ने भए । जसको गुट ठूलो हुन्छ, ती नै ठूला भए । खासमा यो एमालेमा मात्रै हैन, सबै कम्युनिष्ट पार्टीको समस्या हो ।
६. अहिले पार्टी विभाजनबारे माधवकुमार नेपालसँग सोध्दा भन्नुहुन्छ– ओलीजी गुटबाजीमा लाग्नु भो । आफ्नै पार्टीभित्र पनि ओलीले पक्षपात गर्नु भयो, हेलाहोचो गर्नु भयो भन्नेबाहेक अरू फरक मुद्दा उहाँहरूसँग छैन । यसरी व्यक्तिसँगका अन्तरविरोधकै कारण पार्टी फुटाउनु गलत हो । एउटै सिद्धान्त लिएका तर मुद्दामा मात्रै विभाजित भएका पार्टी चल्दैनन् वा अर्को क्रान्तिकारी पार्टी बनाउन सकिदैन भनेर मैले माधव कमरेडलाई पटक–पटक भनेको हुँ । मैले सैद्धान्तिक विषय उठाएको थिएँ । ती विषयमा भने उहाँले पनि छलफल गर्न चाहनु भएन । छलफलमा हामी दश जना साथीहरू एकातिर रह्यौैं, माधवजी एकातिर रहनु भयो । जसले गर्दा हामी विभाजित भयौं ।
हामीबीच १० बुँदेमाथि छलफल हुँदै गर्दा ओलीजीको बार्दलीको भाषण र अन्य अभिव्यक्तिले उचालपछारको प्रयत्न भइरह्यो । धकेल्न र निक्लन चाहनेबाहेक विभाजित भइहाल्नुपर्ने अरु कारण थिएन ।
७. महाधिवेशनमा मेरो चासो व्यक्तिगत रूपमा कुन पदमा उठ्ने या नउठ्ने होइन, म केमा उठूँला भन्ने कुराले समग्र आन्दोलनको दिशालाई निर्धारण गर्दैन । नेकपा एमालेले कस्तो संगठनात्मक सिद्धान्त–कार्यक्रम बोक्छ, विधान कस्तो हुन्छ, पार्टीका हरेक सदस्यको चरित्र कस्तो हुन्छ भन्ने कुराले समग्र नीति तथा कार्यक्रम निर्माण हुन्छ । त्यसमै समस्या छ भन्ने कुरा मैले पटक–पटक उठाइरहेको छु । यसलाई हल गर्न सकिएन भने पार्टी सुध्रिन्न ।
८. आठौं महाधिवेशनमा हामी केन्द्रीय कमिटीमा समेत नरहेकाले पार्टीका आधारभूत सैद्धान्तिक सवालमा विमति राखेका थियौं । हामीलाई त्यहाँ बोल्न मात्रै दिइएको थियो । त्योभन्दा बाहेक हामीलाई अन्य भूमिका दिइएको थिएन । तर त्यसरी राखिएको विचार पाँच वर्षपछि पार्टीका विचार भएर आयो । यसरी हेर्दा नेकपा (एमाले) बाँच्ने हो भने अबको पाँच वर्षपछि भएपनि समाजवादको कार्यदिशा के भन्नेबारे ठोस रूपमा बताएर त्यसैअनुसारको संगठनात्मक सिद्धान्त र विधान बनाएर अगाडि बढ्नुपर्छ । त्यसबेलासम्ममा कि त मैले एमालेलाई कन्भिन्स गर्न सक्छु । या, एमालेले आगामी दिनमा खतराहरूको सामना गर्दै जानेछ र बुद्धि फर्किने छ । अनि हामी एक ठाउँमा भएर जान्छौं । त्यसैले मलाई कुनै दिन यो पार्टीलाई फेरि पनि विचार, सिद्धान्त र राजनीतिका हिसाबले ठिक ठाउँमा ल्याउन सकिन्छ भन्नेमा विश्वास छ ।
९. यति बहस गरिसकेपछि मैले नेतृत्वको आँट गर्ने कि नगर्ने भन्ने प्रश्न स्वभाविक रूपमा आउँछ । तर प्रश्न म नेता हुन पर्छ कि पर्दैन भन्ने होइन । प्रश्न यो पार्टीको नेता कस्तो हुनुपर्छ भन्ने हो । त्यो भनेको पार्टीको नीति कस्तो हुन्छ भन्ने कुराले तय गर्छ । रेस्लिङ खेल्ने हो भने त्यस्तै पात्र चाहिन्छ, शास्त्रार्थ गर्ने हो भने त्यस्तै पात्र चाहिन्छ ।
जब व्यक्ति हाबी हुन्छ, त्यहाँ प्रणाली भत्किन्छ । प्रणाली बिग्रिएपछि त्यसले व्यक्ति बिगार्छ । त्यसपछि व्यक्तिवाद हावी हुन्छ । जति व्यक्तिवाद हावी हुन्छ, त्यति प्रणाली बिग्रनछ । यसैले यो अन्तरसम्बन्धित र द्वन्द्वात्मक कुरा हो । यसरी हेर्दा आजकै अवस्थामा कोही पनि नेता भएर काम लाग्दैन । नीतिलाई ठीक गर्नुपर्छ अनि नेतृत्वको गर्नुपर्छ । मेरो प्रयत्न यही हो ।
यसका लागि असल मानिस चाहिरहन्छ । असलले छोड्दै जाने हो भने गलतहरू प्रवेश गरिरहन्छन् । इमान्दार बाहिरिँदै जाने परिस्थिति बन्छ ।
जोसँग पद छ, तिनीहरूसँग पैसा छ । जोसँग पैसा छ, उही पदमा पुगेको छ । यो अहिलेको समाजको वास्तविक चरित्र हो । यस्तो चरित्र चिन्नु र त्यसअनुकूल हिँड्नु अर्थात जता पानी बगेको छ, त्यतैतिर पौडी खेल्दै जानु सजिलो कुरा हो । तर यो दलाल पुँजीवादी समाजलाई समाजवादतर्फ डोर्याउनु भनेको ‘एन्टिकरेन्ट’ कुरा हो । यो सजिलो कुरा होइन ।
म पार्टीका नेता रहुँला–नरहुँला, यसले केही फरक पर्र्दैन । तर, समग्रमा आन्दोलन अप्ठ्यारोमा छ । यो कुरा बुझाउन प्रयत्न गरिरहनु मेरो दायित्व हो । यसर्थ म कुनै पदको दाबी गरे पनि नगरे पनि एजेण्डाहरू निरन्तर उठाउँछु । कुनै पदमा उठेर हुन्छ कि नउठेर हुन्छ, यस विषयमा अरू साथीहरूसँग पनि कुरा गर्छु ।
मैले स्थायी कमिटी बैठकमा राखेको कार्यक्रम दुनियाँलाई थाहा छ, त्यो आगामी महाधिवेशनमा बुझाउन सकियो भने स्वाभाविक रूपमा त्यसले अनुकुलको नेतृत्व अवश्य खोज्छ । बुझाउन सकेनौं भने त्यसको जिम्मा मैले नै लिनुपर्छ । यसको सार पनि त्यही हो कि नेतृत्वको प्रश्न नीतिले नै तय गर्छ ।
१०. पार्टीले कस्तो नीति तय गर्ने र कस्तो नेतृत्व निर्माण गर्ने भन्ने विषयमा संस्थागत तरिकाले छलफल अगाडि बढाउनुपर्ने हो । त्यस्तो छलफल ओलीजीले नै चलाउनुपर्ने हो । त्यसबारे केन्द्रीय कमिटी–स्थायी कमिटीमा छलफल हुनुपर्ने हो । अहिलेसम्म हाम्रोबीचमा यस्तो छलफल भएको छैन । त्यतिबेलासम्म छलफल भयो भने एउटा बाटो लेला ।
यसो भन्दै गर्दा एउटा कुरा के छ भने सत्य उठ्न पाएको हुँदैन, झुटले चाहिँ सात चक्कर लगाइसक्छ । यो समयमा विचार–सिद्धान्तमा आउने प्रक्रिया अलिक गाह्रै छ । यो समाज जहाँ व्यक्तिवाद छ, ‘म’ छ । सम्पत्ति कमाउने होड छ । तानातान छ । र, आफ्नो पैसा–पदका लागि मानिसहरुले गर्नु–नगर्नु गरिरहेका छन् । जोसँग पद छ, तिनीहरूसँग पैसा छ । जोसँग पैसा छ, उही पदमा पुगेको छ । यो अहिलेको समाजको वास्तविक चरित्र हो । यस्तो चरित्र चिन्नु र त्यसअनुकूल हिँड्नु अर्थात जता पानी बगेको छ, त्यतैतिर पौडी खेल्दै जानु सजिलो कुरा हो । तर यो दलाल पुँजीवादी समाजलाई समाजवादतर्फ डोर्याउनु भनेको ‘एन्टिकरेन्ट’ कुरा हो । यो सजिलो कुरा होइन । त्यसैले अनेक उतार–चढावबाट गुज्रिदै जान्छ । समाजमा जति यस्ता समस्या आउँदै जान्छन्, स्वयम् संकट सिर्जना हुँदै जान्छ । त्यसपछि स्वाभाविक रूपमा नयाँ आन्दोलन बन्छ । त्यसले मात्र समाजवादको यात्रामा लैजान्छ । त्यसैले आत्तिएर मात्र हुँदैन । घटना प्रवाहमा समाजलाई गुज्रनु दिनुपर्छ । तर, चुपचाप लागेर बस्नु हुँदैन । अहिले समाज जता जाँदै छ, त्यो खतरातिर जाँदैछ । यसले बर्बादीतर्फ लैजाँदै छ भन्ने कुरा मानिसले जब बुझ्छन्, त्यसपछि समाजवादी क्रान्ति शुरु हुने हो । त्यसका लागि पर्खिनुपर्छ हामीले ।
– नेपालवाचबाट
