कथा : रिङ्टोन

  • पुण्य कार्कीः

अघिदेखि टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! रिङ्टोन बजिरहेको छ आइफोनमा । ऊ भने एकैचोटि चारोटी केटी साथीहरूसित म्यासेन्जरमा च्याटिङमा व्यस्त छ । फोन बजिरहेको छ, मानौँ उसले त्यो आवाज सुनिरहेकै छैन ।

Janahitkari notice EYE

चौथो केटीलाई ‘डाइलग’ लेखिसकेपछि लामो सास फेर्छ र यसो बजिरहेको फोन–स्क्रीन हेर्छ । डिएडी ड्याड देख्छ । अर्थात् उसको बावुले अरबको तातो मरुभूमिबाट फोन गरेको हुन्छ ।

हतार हतार फोन उठाउँछ ।

“हेलो ऽऽ”

“अँ के छ बाबु खबर ? सनम बोलेको होइन ?”

“हो बुवा ।”

“के छ हालखबर ?”

“ठिक छ बुवा, ठिक छ । अलिक पैसाको अभाव भैरा’को छ ।”

“के को लागि पैसाको खाँचो परो फेरि ।”

“कलेजमा फी तिर्ने बेला हुन लागेको छ । खाजा खानै पर्यो । डेराभाडा पनि तिर्ने समय

आयो ।”

“अघिल्लो महिना पठाइदिएको त्यत्रो पैसा के गरेर सकिस् त ?”

“किताब किनेँ । एकजोर कपडा अनि ल्यापटप किने । कलेजको किस्ता तिरेँ ।”

“धेरै फुर्मास नगर है नानी नगर ! यहाँ कति गाह्रो छ !”

“के त नि लाग्ने खर्च गर्नै पर्यो ! त्यसै पढाइ हुन्छ !”

“अब कति पठाइदिदाँ हुन्छ त ?”

“पठाइदिनु न तीस हजार जति ।”

“हुन्छ हुन्छ, भोलिसम्ममा आइएमईबाट हालिदिन्छु । पैसाको सदुपयोग गरेर राम्रो पढ्नू !” बावुले फोन राख्यो ।

म्यासेन्जरको इन्बक्समा पाँचोटै तरुनी केटीका संवाद थुप्रिबसेका थिए । सबैलाई फटाफट जवाफ लेख्न थाल्यो ।

अड्चालीस डिग्री सेल्सियको तापक्रममा हप्हपी पाकेर भेडा चराउनु पर्छ । ऊँटको लिदी सोहर्नुपर्छ । छोराछोरी राम्रो पढून् भनेर दुःख गरिरहेको छ । उसको सपना छ– जेठो छोरालाई राम्रो शिक्षा दिन सकें भने निश्चय नै अबका चार पाँच वर्षमा छोरा गरिखाने हुन्छ । त्यसपछि त आफू यो तातो भुङ्ग्रोबाट निस्ँिकदा पनि हुन्छ ।

सनम सारुले बाउलाई डेढ वर्षदेखि दोहन गरिरहेको छ । उसको बाउ अरबको तातो मरुभूमिमा ऊँट र भेडा चराउने काम गर्छ । पत्नी र साना भन्ट्याङ्भुन्टुङ गाउँमा छन् । हुर्केको छोरो सनम हो । एसइइ पास गरेपछि ऊ कलेज पढ्न सहर छिरेको छ ।

बाउले दुईतिरै खर्च खेप्नु परेको छ । कलेज पढ्ने छोरालाई पनि पन्ध्र्र दिन, महिना दिनमा मोटो रकम खर्च स्वरुप हालिदिनुपर्छ । घरमा पनि घरखर्चको लागि दुई तीन महिनामा पैसा पठाइराख्नुपर्छ ।

अड्चालीस डिग्री सेल्सियको तापक्रममा हप्हपी पाकेर भेडा चराउनु पर्छ । ऊँटको लिदी सोहर्नुपर्छ । छोराछोरी राम्रो पढून् भनेर दुःख गरिरहेको छ । उसको सपना छ– जेठो छोरालाई राम्रो शिक्षा दिन सकें भने निश्चय नै अबका चार पाँच वर्षमा छोरा गरिखाने हुन्छ । त्यसपछि त आफू यो तातो भुङ्ग्रोबाट निस्ँिकदा पनि हुन्छ ।

त्यही छोरालाई गतिलो शिक्षा दिने हेतुले घरदेखि टाढा दूरदेशमा दिनै मानाका माना पसिना बगाइरहेको छ । छोरो भने सहरमा पढ्न झरेको पाँच छ महिनामै आमूल परिवर्तन भइसक्यो ।

पहाडमा छउन्जेल छोटो कपाल राखेर ढाका टोपी लाउने मान्छे हेर्दाहेर्दै जुल्फीको झुत्तो लम्ब्याएर नाकको टुप्पोसम्म झार्ने भयो । त्यतिमात्र हो र; जुल्फीको झुत्तोमा यो हप्ता सेतो रङ दल्छ, अर्काे हप्ता खैरो बनाउँछ, अर्काे हप्ता निठ्ठा कालो पार्छ । कहिले आधा खैरो आधी कालो पार्छ । किसिम किसिमको केश–परिधान झिक्न खप्पिस भएको छ । हप्ताका दुईचार घण्टा महङ्गो सैलुनमा समय बित्छ उसको ।

कलेज जानु त पढ्नुको एक बहाना मात्र हो । अधिकाँश समय कक्षाकोठामा भन्दा कलेजको क्यान्टिनमा केटी साथीसित गफ र ठट्टा–मस्करीमा व्यतित हुन्छ । उसको अघिपछि लाग्ने केटी साथीको खाजा खर्च उसकै गोजीबाट भुक्तान हुन्छ । खाजामात्र के ? केटी साथीका मोवाइलमा रिचार्ज हाल्ने जिम्मा उसकै छ ।

सप्तान्तको शनिवार सिनेमाघरमा टिकट काट्न पनि उही तम्सिन्छ । उसलाई प्रेमको नाटक गरेर पाँचोटि तरुनी केटीले धुतिरहेका छन् । आफू धुतिएको कुराको कुनै मेलोमेसो छैन । उल्टै ऊ यति मखलेल छ; उसलाई साँच्चै विश्वास छ– केटीहरूले मलाई हृदयको चोखो माया दिइरहेका छन्, हृदयको राजा ठानेर पुजिरहेका छन् ।

पहाडी लेकको जाडो ठाउँमा जन्मी–हुर्की गरेको मान्छे अरबको चर्काे गर्मीमा पसिना बगाइरहेको छ । घामले तालु फाट्लाजस्तो हुन्छ । त्यो घडी छोराछोरीको पढाइलेखाइ सम्झिन्छ । मानसिक विचलन आएको घडीमा, नानीहरूको शिक्षा–दीक्षाको लागि मैले केही समय दुःख गर्नैपर्छ; भित्रभित्रै मनोवल दर्विलो बनाउँछ ।

सहरकै नामुद “रिमझिम रेष्टुराँ” मा लोकल कुखुराको सेकुवासित वियरको चुस्की लिइरहेको छ । उसलाई साथ दिने आज तीनओटी केटी छन् । उनीहरू करिव करिव मातिसकेका छन् । तिनका आँखा र ओठबाट कामुक उन्माद छल्किन थालेको छ । सनम भने उनीहरूका हातमा रहेका काँचका गिलासमा सेतो फिँज छल्किने गरी वियर सारिरहेको छ ।

उसलाई तीनओटा वियर नघुुट्क्याई नशाको झन्झनाहट पैदा हुन्न । केटीहरू भने एक–एकओटा पिउने वित्तिकै आँखामा मादक रङ्ग पोत्न थाल्छन्् ।

“आज पनि मस्त पिउने हो, फूल इन्जोय गर्ने हो !” पहिली केटी बोली ।

“मरी लानु के छ र ? दुई दिनको जिन्दगीमा मस्ती गर्ने हो !” दोस्रीले सहमति जनाई ।

“हो नि हाम्रो सनम छँदैछ ! यो हाम्रो दिलको सनम हो ! दिलको सनम !!” तेस्रीले सनमको काँध थप्थप्याई ।

“मोज गर फुच्ची हो !! मोज गर !! म छउन्जेल तिमीहरूलाई आङका जुम्राले सिवाय केहीले टोक्ने छैन !” सनमका आवाज उनीहरूको कान कानमा पोखियो ।

बाउले अरबबाट पठाएको तीस हजार आइएमईबाट निकाल्नासाथ सिधै रिमझिम रेष्टुराँमा ठोक्किन आइपुगेको हो । आज जमेर मोज गर्ने विषयमा हिजो बेलुकै केटीहरूसित टुंगो भएको हो ।

हरेकचोटि बावुले पठाएको पढाइ–खर्च हाता पारेपछि दुईचार दिन मस्तराम बनेर उडाउँछ । आफू त कति खान्छ र ? तरुनीहरूलाई खुवाएर सिध्याउँछ । कुखुराका फिला लुछिरहेका छन् नवयौवनाहरू । लगातार वियरको चुस्की घुट्क्याइरहेका छन् । केटीहरूलाई त के छ र ? लुटको धन फूपूको सरादजस्तो भएको छ ।

रेष्टुराँको भित्तामा जडित साउन्ड सिस्टमबाट मादक संगीत पोखिएको छ । हृदयको कामुक भावलाई उद्दीप्त पार्ने किसिमको मेलोडी उनीहरू बसेको क्याबिनभरि अनुगुञ्जित छ । उनीहरू चारैजना झुम्म नशामा उत्रिसकेका छन् ।

त्यही बेलामा उसको जिन्सपेन्टको गोजीमा आइफोन बज्यो– “टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !!” कल गर्नेको नाम हेर्यो– उही डिएडी डयाड् लेखिएको छ । फोन उठाऊँ नउठाऊँ दोधारमा पर्यो उ ।

“ह्याऽऽ ! यहीबेला बूढोले फोन गर्नुपर्ने ?” मनमनै गाली गरेर फोन काट्छ । र, केटीहरूतर्फ आँखा सन्काउँछ ।

“कसको फोन हो ?” पहिली केटीले जिज्ञासा राख्छे ।

“होला नि, कुनै अर्की चम्पुतलीको !” अर्कीले जवाफ दिन्छे ।

उसको जवाफ आउने वित्तिकै सबैजना खित्का छोडेर हाँस्छन् । ऊ भने खुलेर हाँस्न सक्तैन । के भन्नु न कसो भन्नु अलमलमा पर्छ । त्यहीबेला फेरि आइफोन बज्छ ।

“टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !!” एकनास बजिरहेको छ मोवाइल । फेरि ऊ उठाऊँ कि नउठाऊँ दोधारमा पर्छ ।

केटीहरूसित आँखा जुधाउँदै– “बाउ बूढोले फोन गरेको छ क्या विदेशबाट !”

“उठाऊ न त बाउको फोन । कुरा मिलाउन आउँदैन, लेऊ म बोलिदिन्छु ।” एउटीले भनी ।

“हो हो ! तिमीलाई आउँदैन भने हामी कहानी बुन्छौँ ।” अरु दुइटीले थपे । यति आँट पाएपछि उसले फोन रिसिभ गर्यो ।

“हेल्लो !”

“के छ खबर नानी ? सन्चै छस् ?”

“सन्चै छ बुवा ! सन्चै छ ।”

“कहाँ छस् अहिले ?”

“ए बुवा म अहिले कोचिङ कक्षामा छु ।”

“के कोचिङ पढ्न थालिस् ?”

“हो बुवा कोचिङ क्लास लिएन भने पास गर्न गाह्रो हुन्छ ।”

“ए त्यसो भा पढ् पढ् ! राम्रोसित पढ्नू, पठाएको पैसा पाइस् ?”

“झिकेँ बुवा झिकेँ ! बिहानै झिकिसकेँ ।”

“राम्रो सदुपयोग गर्नू नि ।”

“भै’हाल्छ नि बुवा ! अहिले कक्षाभित्र पढाइ चलिरहेको छ । म बिजी छु । फेरि कुरा गरौँला है बुवा !”

उता बाबुले फोन राख्यो । यता उसले लामो निश्वास लियो । मधुरो आवाजमा फुस्फुसायो– “धैत !! यस्तै बेलामा फोन आउँछ बूढोको ।”

उसको आवाजमा थोरै दिग्दारी र वेचैनीको भाव घोलिएको छ ।

“कुरा बनाउन माहिर रै’छौ, मान्यौँ तिम्रो एक्टिङ कला !” केटीहरूले उसको तारिफ गरे ।

उनीहरू फेरि खानपिनमा एकोहोरिए । खाँदाखाँदै रातको नौ बजेछ । रेष्टुराँ साहुले समयको विषयमा सचेत गरायो । आजभोलि प्रहरीको निगरानी बढेको कुरापनि जानकारी गरायो ।

अघाउँजी भएपछि विल तिर्यो सनमले । साढे चौध हजार खाएछन्् चारजनाले । ट्याक्सी मगाएर गन्तव्यमा लागे । उल्फाको धन फूपूको सराद भएको छ उसलाई बावुको कमाइ । उता बाबु भने छोरो राम्रो पढिरहेको छ भन्ने विश्वासमा सकी नसकी, भै न भै माग अनुसारको मरिकुच्चे पैसा पठाइरहेको छ ।

उसले भने बमोजिमको खर्च पठाइनँ भने छोराको पढाइमा हान्ती हुने डरले आपूmसित नभए पनि, साथीभाइहरूसित सरसापट गरेर अप्ठ्यारो वेलामा पनि मुन्टोले टेकेरै भएपनि पैसा पठाएको छ ।

श्रीमतीले बेलाबेलामा गाउँबाट फोनमै करकर गर्छे, “कति सनमेलाई मात्र रुप्पे पठाइ बस्छौ ? यसो कमाएको बेला जोगाड सञ्चिता गर्नुपर्दैन ? गाउँका अरुले गाईघाटमा घडेरी किनिसके । कसैले पक्की घर बनाइसके । कसैले खेत किने । तिमी त सबै पैसो जति त्यसैलाई पठाइबस्छौ । अनि नेपाल फर्केर चैँ के खाने हो नि ?” पत्नीको कुरामा मार्मिक सत्य लुकेको छ ।

“हेर अबको जुगमा शिक्षा नै सम्पत्ति हो । छोरालाई राम्रोसित पढाउन सकेँ भने त्यसको उपदान उसैले गर्छ । छोरो पढ्दैछ । राम्रो कलेजमा हालेको छु । घर, घडेरी जग्गा जमिन भन्दा शिक्षा ठूलो हो । पछि थाहा पाउछेस् नि !” पत्नीलाई सम्झाउँछ ।

एक महिना अघिपनि लेखपढको लागि ल्यापटप र ट्याब नभै भएन भनेर फोनमै जिरह गर्यो । तीन महिनाको तलब जोरजम्मा गरेर एक लाख पठाइदियो । पैसा हातमा परेपछि किन ल्यापटप किन्थ्यो । केटी लिएर पोखरा, चितवन घुम्न हिँड्यो । दस दिन जति लजमा मस्ती आनन्द लुटेर फक्र्याे । भन्न चाहिँ त्यो पैसाले ल्यापटप किनेँ, कलेजको किस्ता तिरेँ, कपडा किनँे, किताब किनेँ भनेर बावुलाई ढुक्क बनायो ।

पहाडी लेकको जाडो ठाउँमा जन्मी–हुर्की गरेको मान्छे अरबको चर्काे गर्मीमा पसिना बगाइरहेको छ । घामले तालु फाट्लाजस्तो हुन्छ । त्यो घडी छोराछोरीको पढाइलेखाइ सम्झिन्छ । मानसिक विचलन आएको घडीमा, नानीहरूको शिक्षा–दीक्षाको लागि मैले केही समय दुःख गर्नैपर्छ; भित्रभित्रै मनोवल दर्विलो बनाउँछ ।

आफूले सात कक्षादेखि माथि पढ्न नपाएको पीडा छ उसको छातीमा । हुन त त्यो जमानामा गाउँमा सात कक्षाभन्दा माथिको स्कुल थिएन । सामान्य साक्षर भएर चिठीपत्र लेख्नु पढ्न जान्ने भएपछि अब पुग्यो, त्यसभन्दा बढी पढ्नु जरुरी छैन भनेर बावुआमाले नै पढाइबाट छुटाउँथे ।

उसलाई त्यसमाथि पनि अझै पढ्ने रहर थियो । एसएलसीसम्म पढ्ने औधि ठूलो रहर थियो । तर घरबाट दुई दिनको बाटो टाढा थियो हाइस्कुल । ऊसँगैका केही साथी त पढ्न गए ता नि; उसलाई बावुले ठाडै भनिदिए, “म खर्चपानी र सामलतुमल खेप्न सक्तिन । अब खेतवारी कसले जोत्छ र ? पढ्न जान्छस् !”

उसको हाइस्कूल पढ्ने सपना यसरी तुहिएको थियो । आफ्नो त्यो पीडादायी जीवन सम्झेर पनि छोराछोरी पढाउनकै लागि विदेश हानिएको हो । आफू नारकीय दुःखमा डुबेर भएपनि बालबच्चालाई शिक्षित बनाउने, पढाइबाटै गरिखाने बनाउने सपनाको हाट लागेको छ उसको आँखामा ।

आज सनम केटी साथीसितै होटल पारस आएको छ । सहरको नामुद होटल हो यो । यसमा टेनिस कोर्टदेखि स्वीमिङ पुलसम्मका सुविधा छन् । सहरमा मनग्यै गर्मी बढ्दै गएको छ । मनचिन्त्य पिज्जा खाएर स्वीमिङ गर्ने योजनामा छन् उनीहरू ।

पिज्जा खाएर स्वीमिङको तयारी गर्दागर्दै आइफोन बज्न थाल्यो ।

“टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !!”

“हत्तेरिका ! कस्तो बेला फोन गर्नुपरेको हो !” मनमनै भुत्भुतायो ।

डायल नम्बर हेर्यो, पहाडबाट आमाले फोन गरेकी रहिछिन् ।

“हेल्लो !”

“हेलो आमा !”

“नानी सन्चै छस् ?”

“सन्चै छु आमा ! सन्चै छु ।”

“कहाँ छस् त अहिले ?”

“म कलेजमै छु आमा !”

“पढाइ सकिएको छैन ?”

“छैन आमा छैन ! पढाइ भैरहेको छ ।”

“नानी याँ बारीमा मकै छर्ने बेला भैसक्यो । गोरु जोत्ने मान्छे छैनन् । एक साताको विदा लिएर आउँछस् कि ?”

“कस्तो कुरा गर्नु भ’को आमा ? यहाँ पढाइ धमाधम छ । परीक्षा आउन लागेको छ । पढाइ छाडेर त्यहाँ जोत्न आउँछु त ।”

“त्यसो भा बारी बाँझै हुने भो नानी ! कसरी खेती कमाइ लाउनु मैले ?” आमाको निरीह आवाज गुन्जियो ।

“यसो खेतालापात लाएर छर्नु नि । मेरो पढाइ छुट्छ कसरी आउन सक्छु र ?”

“भैगो त पढाइ बिग्रिन्छ भने नआइज । पढाइ बिगारी बिगारी आउनु परेको पनि छैन । यसो पढाइ सकिएर फुर्सद भएको भए आउँथिस् कि भनेर पो !”

“लु लु ज्याला बनीमा मकै छराउनू । बुवाले पैसा पठाइ दि हाल्नु हुन्छ । मेरो क्लास भै राखेको छ । राखेँ है आमा मैले !” आमालाई पनि ढाँट्यो ।

केटीहरू गलल खित्का छोडेर हाँसे । सनमको ढाँट्ने कलादेखि उनीहरू चकित छन् । बाउको फोन आउँदा पनि दुरुस्त पार्छ । आमाको फोन आउँदा पनि दुरुस्तै पार्छ ।

जोडतोडले पढिरहेको छु त भन्छ, तर कहिल्यै क्लास गर्दैन । न कोठामा, न कलेजमा पढ्छ । कलेज गएर पनि ऊ सधैँ कलेज छेउको साइवर क्याफेमा हुन्छ । गोजीमा टन्न पैसा छउन्जेल होटल, बार, रेष्टुराँ, सिनेमा हलमा अड्डा जमाउँछ । बाउसित मगाएको पैसाले न त कलेजको फी नै तिरिरहेको छ । न गतिला पाठ्यपुस्तकै किनेको छ । न त पढाइलेखाइको लागि ल्यापटप किनेको छ । बरु कोठामा महँगो गितार किनेर झुण्ड्याएको छ । थरिथरिका ग्रन्ज गरिएका जिन्सपेन्टको खात छ । महँगो चश्मा र महँगो मोवाइल छ साथमा ।

पराइ देशको भावर गर्मीमा बाउले हप्हपी पाकेर कमाएको पैसा बुङ्बुङ्ती धुवाँजस्तो उडाइरहेको छ । बाउले पटकै पिच्छे मितव्यायी बन्नू, पैसालाई चाहिँदो कुरामा सदुपयोग गर्नू आदि आदि निर्देश गर्छ । मुखले त बाउलाई ठिक्क पार्छ त नि ! तर, उल्टो उल्टो काममा पैसा सक्छ ।

फेरि चाहिनेभन्दा कता को कता बढी पैसा माग्छ । पैसाकै विषयमा बाउसित अनेकचोटि गलफत्ती गरेको छ । बाउले पनि पढाइ लेखाइमा पैसाको कारणले बाधा नपरोस् भनेर सकी नसकी पठाइरहेको छ ।

कोठामा थाकेर आएको छ । स्वीमिङ (पौडी) ले गर्दा फतक्क गलेको छ । कोठामा आउनासाथ ढोका थुनेर डङ्रङ्ग ओछ्यानमा पल्टन्छ ।

म्यासेन्जर खोलेर केटीलाई च्याट गर्छ ।

“ हाई ऽऽ ऽऽ कोठा पुग्यौ ?”

“पुगेँ, तिमी नि ?” उताबाट जवाफ आयो ।

त्यहीबेला फोन बज्यो ।

“टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !!” स्क्रीन हेर्यो । ड्याडकै फोन थियो ।

“आ ऽऽ ! बूढो अत्तो न पत्तोले जति बेलापनि किच्किच् गर्नलाई फोन गर्छ । आज बोल्दिन ।” भुत्भुताउँदै फोन काट्यो ।

तर, आज बाउले बोल्नलाई फोन गरेको थिएन । बाउको फोनबाट बाउको साथीले फोन गरेको थियो । उसको बाउ आजै दिउँसो उनन्चास डिग्री तापक्रमको गर्मीमा भेडी गोठमा काम गर्दागर्दै मूच्र्छा पर्यो । उठाएर हत्त न पत्त अस्पताल पुर्याए, उसका साथीहरूले ।

उसलाई डाक्टरले चेकजाँच गर्यो । हृदयघातको कारणले प्राणपखेरु उडिसकेको कुरा घोषणा गरिदियो । तिनै साथीहरूले काठको बाकसमा लाशलाई ‘प्याक’ गरे । लास नेपाल पठाउन कागजी बन्दबस्त मिलाउन राजदूतावासतिर उनीहरूको कुदाकुद चलिरहेको छ ।

एकछिनमा फेरि रिङ्टोन बज्यो ।

“टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !!” स्क्रीन हेर्यो । उही डिएडी ड्याड देख्छ । बाउको फोनले भित्रैबाट नफरत पैदा हुन्छ । अर्थात् स्वीमिङ गएर आएको हुँदा थाकेर लखतरान छ । आज उसलाई अलिकति पनि संवादमा रुचि छैन ।

“आज त बूढोसँग मरेपनि बोल्दिन !” फोनलाई फ्लाइट मोडमा राखेर एक जग पानी घुट्क्यायो । चिकेन तन्दुरीका फिला चपाएर आएको हुँदा छिन्छिन्मा प्यास लागिरहेको छ ।

“अघिसम्म त घण्टी जान्थ्यो ! अहिले त त्यो पनि जान छोड्यो ।” दिग्दारीको भाषा बोल्यो अरबको तातो मरुभूमिबाट बाउको साथीले ।

“पहिले पहिले उसको बाउले गर्दा त उठाइहाल्थ्यो; आज केटाले किन उठाएन ?”

अर्कोले विष्मय–भाव पोख्यो ।

छोरो सनमलाई बाउको अवस्था जानकारी दिन तारन्तर कोसिस गरिरहेका छन् । सुरुमा रिङटोन गयो । तर, मरेकाटे उठेन, पछि त स्वीचअफै भन्यो । तरपनि उनीहरूको कोसिस जारी छ ।

एक निद्रा सुतेपछि झँल्याँस्स ब्यूँझ्यो । कोठामा बत्ती झलमल्ल बलिरहेको थियो । घडी हेर्यो । रातको साढे बाह्र बजिसकेको थियो । स्वीचअफ गरेको मोवाइल फोन अन गर्यो ।

मध्यरातको नीरव सन्नाटा चिर्दै फेरि उसैगरी रिङ्टोन बज्यो–

“टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !!” हतार हतार स्क्रीन हेर्यो । उही डिएडी ड्याड देख्छ । बाउको फोनले फेरि भित्रैबाट घृणा पैदा हुन्छ ।

“बूढोले आज चैनले सुत्न पनि दिएन, मरिगए पनि उठाउँदिन । आधा रातमा काहीँ फोन गर्छन् । खुस्केको सुड्डो !” बाउलाई मनमनै गाली गर्छ ।

तारन्तार फोनको घण्टी टुनुन ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! बजिरहेको छ । तर, उठ्तैन फोन । वीचमै काटिन्छ ।

उताका गर्नेहरू पनि दिग्दार छन् । यताको उठाउने पनि दिग्दार छ । गर्ने दिग्दार छन्, मृत्युको खबर यथा समयमा छोरालाई दिन ढिलाइ भएकोमा । उठाउने दिग्दार छ, बूढोले किच्किच् गर्छ भनेर ।

के थाहा उसलाई; किच्किच् गर्ने मान्छे सधैँको लागि यो अथाह दुःखसागरबाट मुक्त भैसकेको छ !

फेरि कालो रातको शान्ति चिर्दै मोवाइल बज्यो ।

“टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !!”

मन नलागी नलागी स्क्रीनमा आँखा जोत्यो । यसपटक डिएडी ड्याड देखिएन । पहाडबाट आमाको फोन बजिरहेको थियो ।

“यत्ति राति आमाको फोन…?” उसको मनमा नमीठो झस्का पस्यो ।

-रातोपाटीबाट साभार

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.