नेपाली परिवेशमा राष्ट्रिय बाल दिवस

विक्रम सम्वत् २०२१ भाद्र ४ गतेबाट नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । उतिबेला भाद्र ४ गते बाल दिवस मनाउने चलन थियो । तत्कालीन बडारानी रत्न राज्यलक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणमा थिइन् । त्यहाँ उनले महात्मा गान्धीको जन्म दिवसमा बाल दिवस मनाएको देखिन् । उक्त दिन सामाजिक रूपमा थुप्रै कामहरू हुने गरेको चाल पाइन् । उनी नेपाल फर्केपछि भाद्र ४ गतेलाई राष्ट्रिय बाल दिवसको शंखनाद गरेकी हुन् ।

रत्न राज्यलक्ष्मीदेवी शाहको जन्म दिन पारेर भाद्र ४ लाई बाल दिवस बनाइने चलन शुरुआत भयो । यसरी भाद्र ४ गते पारेर नेपालले ४२ वटा बाल दिवस मनायो । अन्ततः २०६३ देखि मुलुक गणतान्त्रिक पथमा लम्कदै गर्दा नेपालले भाद्र २९ लाई बाल दिवसका रूपमा स्थापित गर्यो । यस वर्षको भाद्र २९ को बाल दिवसमा हामी सबैलाई स्वागत छ ।

बालपनको यादहरू हामीहरू सबैसँग ताजा छ । हामीमध्ये धेरैलाई आफू धेरै छिटो बुढो या वयस्क भएजस्तो भान हुन्छ पनि । किनभने बालापन छ नै यति मीठो कि आज खाने चकलेटको स्वाद भन्दा एकपल बालपनको सम्झना गर्दा मनमा आउने मिठास धेरै गुणा गुलियो हुन्छ ।

श्रृष्टिका कोपिलाहरू हुन बालबालिका, अनि यी कोपिलाहरूलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानव पुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ । तसर्थ, बालबालिकाहरूलाई ज्ञान, सीप, धारणाको सकारात्मक र आशावादी विचारहरूको विचारोपण गर्न जरुरी छ ।

छाला चाउरी परेका बुढाबुढीहरूदेखि भर्खरै जुगाको रेखी पलाउँदै गरेका किशोरसम्म, ठूला ठूला दार्शनिकदेखि गणितज्ञसम्म सबै जनाहरूलाई बालापन प्रिय छ । आधारभूत मौलिक ज्ञानहरू, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभूत अक्षराम्भ लगायतका शिक्षाहरूले गर्दा बालापन सदासर्वदा याद रहन्छ नै ।

बालापनामै हामीले हाम्रो सिक्ने क्षमता विकास गरेका हौँ । पाइलाका ठेस र पैतालाका घाउले हामीलाई गुरुत्वाकर्षण बल सिकायो होला । विशाल जगतमा प्रथम शब्द आमा, बुवा या पापा भनेपछि हामीले धेरै कुरा र वस्तुहरूको नाम सिक्दै गयौँ होला । आमाको हातले खुवाएको गाँस चपाउँदै हामीले आफैँ खान सिक्यौं होला । हामीले पहिले ‘क’ सिक्यौँ अनि ‘क’ बाट कछुवा । विद्यालयको गृहकार्यले हामीलाई समयको महत्व र अनुशासन सिकायो होला । छेउकै बेञ्चमा बस्ने साथी जसलाई हामीले सोझै ‘तिमी’, ‘तपाईं’ केही नभनी ‘तँँ’ भनेका हुन्छौँ । उसको र उनको उपस्थितिले हामीलाई मित्रता सिकाएको होला । कापीका पानाहरूले हामीहरूलाई अक्षर लेख्न सिकायो होला ।

Everest Incitute

बालापनाका तिनै सिकाईका अध्यायहरूले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिइरहन्छ । फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले भनेका थिए ‘मानव जन्मिदा स्वतन्त्र जन्मिन्छ, तर विस्तारै ऊ दायित्वको डोरीले बाँधिदै जान्छ ।’ यस अर्थमा संसारमा एउटा बालबालिका भन्दा स्वतन्त्र अरु कोही छैन । निर्दोष र स्वतन्त्र त्यो मलिलो बालमष्तिष्कमा माया, प्रेम र सद्भावका भावनाहरू छर्न जरुरी छ ।

मानिसलाई उसले लगाउने लुगाले होइन, उसको विचारले चिन्न सिकाउनु जरुरी छ । ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरूलाई भन्न जरुरी छ । बाटोमा फोहोर उठाउन आउने मानिस र चिल्लो गाडीमा बसेर अफिस जाने मानिसबीचमा, सम्पत्तिबीचको फरक भन्दा पनि मानवतारूपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनीहरूलाई सिकाउन पर्छ । कारमा बसेर सपिङ्ग मल होइन, खाली खुट्टा हरियो दुबोमा उफ्रेर नाच्दाको रमाइलो उनीहरूलाई सिकाउनु पनि जरुरी छ ।

पछिल्लो पुस्ताको बाल्यकाल र हालको बाल्याकालमा धेरै फरक छ । उतिखेर डन्डिबियो र लुकामारीमा हुर्केका पुस्ताका तुलनामा आजभोलिका बालबालिका कम्प्युटर गेम र अनलाइन भिडियो, अनि मोबाइल खेलेर हुर्किरहेका छन् । समय परिवर्तनशील छ तथापि उनीहरूलाई आफ्नो फेभरेट कार्टुन यूट्यूवमा हेर्नु र बिहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मद्दत गर्न पाउँदाको असीम आनन्द सबै कुराहरूबारेमा जानकारी गराउन र मानवीय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्छ ।

सानामा प्रशस्त माया पाएका बालबालिकाहरूले मात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन् । बालपनको यो संसार मायामा अडेको छ । तसर्थ, आफ्ना बालबालिकालाई माया गर्न, उनीहरूका जिज्ञासाका सरल उत्तर दिन अनि उनीहरूलाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔँ । हामीले पनि बालबालिकालाई पढाइको नम्बर र उनीहरूले लेखेका अक्षर अर्थात् ह्यान्डराइटिङ्गका आधारमा तुलना नगरौँ । हरेक बच्चा आफैँमा विशेष छन् । केवल उनीहरूमा भएको क्षमताको पहिचान गरी त्यसलाई उजागर गर्न प्रोत्साहन गरौँ । बालबालिकाका निम्ति पैसा भन्दा धेरै समय लगानी गर्न जरुरी छ । उनीहरूलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मानिस र सरल मानिस बन्न प्रेरित गरौँ ।

आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तब्यको दायित्व याद गराउँछ । बालबालिका यस जगतका लागि अनुपम उपहार हुन् । उनीहरूले विशेष माया र सम्मान पाउनपर्छ । आजको दिन ती बालबालिकालाई पनि याद गरौँ, जसमाथि विभिन्न स्थान र शैलीमा दुव्र्यवहार गरिन्छ अनि भइरहेको पनि छ । अपहेलना गरिन्छ, जो बिरामी परेका छन् । उपचारको पहुँचमा छैनन् र ती बालबालिकाहरू जो खुशी छैनन्, तिनीहरूको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नु नै आजको दिनको उद्देश्य हो ।

आजको दिन गत वर्ष झैँ एउटा अर्को नयाँ बाल दिवस मनाइँदै गर्दा बुबा–आमाले पनि आफ्ना छोराछोरीसँग आफ्नो सम्बन्धका बारेमा सोच्न जरुरी छ । जीवन एकदमै ब्यस्त हुँदै गएको छ, तथापि के उहाँहरूले आफ्ना छोराछोरीका लागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैन ? के तपाई–हाम्रा बालबालिका सही दिशातर्फ उन्मुख भइरहेका छन् या छैनन्, यदि छैनन् भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पुर्याउनु जरुरी छ । बाल दिवस औपचारिकतामा मात्र सीमित नहोस् । यहाँ न त श्रवणकुमार माटोबाट आएका हुन् न त आतकंवादीहरू आकाशबाट झरेका हुन् । हाम्रा बालबालिका असल हुन्, असल सोचून्, असल बोलून् र असल देखून्, सबैलाई शुभकामना ।

 

-Hamropatro

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.