डाटा एनालाईसिस : अछामका निर्वाचन क्षेत्रमा कसको अवस्था के ?

स्थानीय तह निर्वाचन २०७९ मा वडा अध्यक्षका उम्मेद्धारले प्राप्त गरेको मतको जोडघटाउमा आधारित................

होम साउदः

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा अछामका २ संघिय निर्वाचन क्षेत्र तथा ४ प्रदेश निर्वाचन क्षेत्र गरि ६ सिटमा तत्कालिन बाम गठबन्धन (नेकपा एमाले र नेकपा माओवादी केन्द्र) का उम्मेद्धारहरु विजयी भए । त्यो बेला पार्टी एकता गर्ने र स्थिर सरकार दिने मुख्य एजेण्डा सहित एमाले र माओवादीको बाम गठबन्धनले निर्वाचनमा सफलता हाँसिल गरेको थियो ।परिणाम स्वरुप सो गठबन्धनले संघिय सरकार र ६ वटा प्रदेश सरकार बनाउनुका साथै एमाले र माओवादी एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भयो ।तर ५ वर्ष पछिको अवस्था फरक भएको छ ।

२०७४ मा अछाम १ मा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं रक्षामन्त्री डा. भीम बहादुर रावल, अछाम २ मा एमालेकै यज्ञ बहादुर बोगटी निर्वाचित भएका थिए । यस्तै प्रदेशसभा तर्फ अछाम १ (१) मा एमालेका हर्क बहादुर कुवर र १ (२) मा माओवादी केन्द्रका झपट बहादुर बोहरा तथा अछाम २ (१) मा माओवादी केन्द्रका अक्कल बहादुर रावल र २ (२) मा एमालेका बल बहादुर सोडारी बिजयी भएका थिए । बिजयी सबैजनाको प्रतिष्प्रधा नेपाली काँग्रेसका उम्मेद्धारहरुसंग भएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने देशव्यापी रुपमा २०७४ को भन्दा फरक गठबन्धन भएको छ । अछाममा पनि सोहि अनुसार प्रतिष्प्रधा हुदै छ । निर्वाचनमा एकातिर सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादी छन भने अर्को तिर नेकपा एमाले छ । गठबन्धनबाट अछाम १ को प्रतिनिधिसभामा बहालवाला श्रम मन्त्री तथा नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य शेर बहादुर कुवर साझा उम्मेद्धारका रुपमा छन भने नेकपा एमालेले जिल्ला ईञ्चार्ज झपट बोहरालाई उम्मेद्धार बनाएको छ । जिल्लाबाट एकल सिफारिस भएर पनि एमालेबाट डा. भीम रावलले टिकट नपाएपछी माओवादी केन्द्रबाट सुदूरपश्चिम सरकारमा पूर्व अर्थिक मामिला मन्त्रि रहेका (हाल एमालेका केन्द्रिय सदस्य तथा अछाम ईञ्चार्ज) बोहरा निर्वाचनको प्रतिष्प्रधामा आएका हुन । यस क्षेत्रमा नेपाली काँग्रेसका नेता राजन कुवर प्रतिनिधि सभामा स्वतन्त्र उम्मेद्धार छन भने महेन्द्र बहादुर बोगटी र हिक्मत कुवर पनि प्रतिनिधि सभामै स्वतन्त्र उम्मेद्धार छन । यहाँ हाम्रो नेपाली पार्टिबाट तेज प्रसाद शर्मा पनि चुनावी प्रतिष्प्रधामा रहेका छन ।

प्रदेश सभा तर्फ अछाम १ (१) मा गठबन्धनले नेपाली काँग्रेसका प्रदेश कमिटी महाँमन्त्री मेघराज खड्का र एमालेबाट प्रदेश कमिटी सदस्य देब बहादुर कुवर उम्मेद्धार छन । यस्तै अछाम १ (२) को प्रदेश सभा सदस्यका लागि गठबन्धनले नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज झपट बहादुर साउद तथा एमालेले प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद जैशीलाई उम्मेद्धार बनाएको छ । साउद २०६४ को संविधानसभा सदस्य निर्वाचन लडेर पराजित भएका थिए भने जैशी पूर्व जिविस सभापति हुन ।

अछाम २ को प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनको दलहरुले नेपाली काँग्रेसका जिल्ला सभापति पुष्प बहादुर शाहलाई साझा उम्मेद्धार बनाएका छन भने नेकपा एमालेले निवर्तमान साँसद तथा पार्टीका केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटीलाई दोहोर्याएको छ । प्रतिनिधि सभामा ५ वर्ष अघि पनि यी २ जना विच प्रतिष्प्रधा भएको थियो । यस क्षेत्रमा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका पूर्व जिल्ला उप सभापति चन्द्र प्रसाद ढुंगाना स्वतन्त्र उम्मेद्धार छन । यस क्षेत्रमा राप्रपाका मिन बहादुर शाही र नेमकिपाका झंकर बहादुर शाही पनि उम्मेद्धार बनेका छन ।

यस्तै प्रदेश सभा तर्फ अछाम २ (१) मा नेकपा माओवादीका प्रदेश कमीटी उपाध्यक्ष तथा निवर्तमान प्रदेशसभा सदस्य अक्कल बहादुर रावल सत्ता गठबन्धनको साझा उम्मेद्धारका रुपमा छन भने एमालेले नेता भीम बिष्टलाई उम्मेद्धार बनाएको छ । यस्तै अछाम २ (२) मा गठबन्धनबाट नेपाली काँग्रेसका नेता मान बहादुर रावल तथा एमालेबाट प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्याय चुनावी मैदानमा छन । रावल पहिलो पटक संसदीय निर्वाचन लड्दैछन भने उपाध्यायले २०६४ मा संविधानसभा निर्वाचन लडेर पराजित भएका थिए । सत्ता गठबन्धन र एमालेका अलावा यस प्रदेशमा राप्रपाका दिपक बहादुर बिष्ट र स्वतन्त्र उम्मेद्धार नृप बहादुर बिष्ट पनि प्रतिष्प्रधामा छन ।

स्थानीय तह निर्वाचन २०७९ को तथ्यंक हेर्दाः

गत वैशाखा ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि सत्ता गठबन्धन दलले कतिपय स्थानीय तहमा तालमेल गरेका थिए भने एमालेले एक्लै प्रतिष्प्रधा गरेको थियो । निर्वाचन परिणाम अनुसार अछाममा नेपाली काँग्रेसले ७ स्थानीय तह, एमालेले २ स्थानीय तह र माओवादी केन्द्रले १ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा जित हासिल गरेका थिए । सबै ९१ वडा मध्ये स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेद्धारहरुले प्राप्त गरेको दलगत मत परिणामको अवस्थालाई यहाँ केलाउन खोजिएको छ ।

Everest Incitute

प्रतिनिधि सभा अछाम ,

एक नगरपालिका र ४ गाउँपालिका रहेको यस निर्वाचन क्षेत्रमा स्थानीय तहमा वडा अध्यक्षका उम्मेद्धारहरुले प्राप्त गरेको मत परिणालाई आधार मान्दा सत्ता गठबन्धनका उम्मेद्धार अगाडी देखिन्छन । यहाँ नेपाली काँग्रेसको १७ हजार एक सय २०, नेकपा एमालेको १६ हजार नौ सय ९५, माओवादी केन्द्रको ६ हजार ७९०, एकिकृत समाजबादीको  २ हजार ३६० र अन्य दलले प्राप्त गरेको मत ३९ छ । यस आधारमा प्रतिनिधि सभामा काँग्रेस, माओवादी र समाजबादीको मत जोड्दा २६ हजार २७० हुन आउँछ । यो मत एमालेको भन्दा ९ हजार २७५ ले बढी हुन आउँछ ।

प्रदेश सभा तर्फ, अछाम १ (१) मा सत्ता गठबन्धनको १२ हजार २१८ र एमालेको ७ हजार ९७२ मत छ । यस प्रदेशसभामा ४ हजार २४६ मत गठबन्धनको बढी देखिन्छ । अछाम १ (२) मा पनि गठबन्धन दलका वडा अध्यक्षहरुले पाएको कुल मत १४ हजार ५२ र एमालेका वडा अध्यक्षहरुले पाएको मत ९ हजार २४ छ । यहाँ  पनि एमाले भन्दा ५ हजार २८ मत गठबन्धनसंग बढी देखिन्छ ।

प्रतिनिधि सभा अछाम ,

यस निर्वाचन क्षेत्रमा ३ नगरपालिका र २ गाउँपालिका पर्छन । यहाँ स्थानीय तह निर्वाचन २०७९ मा वडा अध्यक्षहरुले प्राप्त गरेको मत परिणाम अनुसार दलगत रुपमा नेपाली काँग्रेस संग सबैभन्दा बढी  २१ हजार ६ सय ५२, नेकपा एमाले संग १७ हजार ४७२, नेकपा माओवादी संग ६ हजार ४४१, एकिकृत समाजबादी संग २ हजार १७५ र अन्य दलको ७० मत छ । सत्ता गठबन्धन दलहरुको मत जोडदा ३० हजार २६८ मत पुग्छ भने एमाले संग १७ हजार ४७२ मत देखिन्छ । यस क्षेत्रमा एमाले भन्दा गठबन्धन १२ हजार ७९६ मतले अगाडी देखिन्छ ।

प्रदेश सभा तर्फ, अछाम २ (१) मा नेपाली काँग्रेस संग ९ हजार ९ सय ६८, नेकपा एमाले संग ६ हजार ९ सय १७, माओवादी केन्द्र संग ५ हजार ९ सय ७१, एकिकृत समाजबादी संग ५२२ र अन्य दल संग ७० मत छ । समग्रमा यहाँ गठबन्धन दलहरु संग १६ हजार ४६१ मत देखिन्छ । यो मत एमालेका वडा अध्यक्षहरुले प्राप्त गरेको मतको तुलनामा ९ हजार ५४४ ले बढी हो । यस्तै, अछाम २ (२) मा पनि गठबन्धन दलहरु संग १३ हजार ८०८ र नेकपा एमाले संग १० हजार ५५५ मत छ । यहाँ पनि ३ हजार २५३ मत गठबन्धनसंग बढी देखिएको छ । यस क्षेत्रमा काँग्रेस संग ११ हजार ६८४, एमाले संग १० हजार ५५५, एकिकृत समाजबादीको १ हजार ६५४ र माओवादी केन्द्रको ४७० मत छ ।

उल्लेखित सबै तथ्यंकको विश्लेषण स्थानीय तहमा सम्वन्धित दलका वडा अध्यक्षका उम्मेद्धारले प्राप्त गरेको मत परिणामको आधारमा गरिएको हो । तथ्यंकलाई आधार मानेर गरिएको विश्लेषण संसंगै निर्वाचनमा दलले प्राप्त गरेको मतका अलावा उम्मेद्धारहरुको लोकप्रियता, उम्मेद्धार तथा कार्यकर्ताको खटनपटन, थपिएका मतदाता र स्वतन्त्र उम्मेद्धारहरुले प्राप्त गर्ने मतलाई पनि थप विश्लेषण गर्न सकिन्छ ।

 (तथ्यंक श्रोत निर्वाचन आयोग स्थानीय तह निर्वाचन २०७९ र जिल्ला निर्वाचन कार्यालय अछामको फेसबुक पेज)

 

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.