निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनका लागि बिहीवारबाट उम्मेदवार र दलहरूले गर्ने प्रचारप्रसारको “दोस्रो चरण” सुरु भएको जनाएको छ । दोस्रो चरणको प्रचारप्रसार सुरु भएसँगै अब दलहरूले यसअघि आचारसंहिताले बन्देज लगाएका कतिपय प्रचारप्रसारका “शैली” अपनाउन सक्ने आयोगका प्रवक्ताले बताएका छन् ।
चुनावमा सहभागी दलका नेताहरूले पनि प्रचारप्रसारको दोस्रो चरण सुरु भएसँगै आफूहरूले “व्यापक र जनस्तरसम्म पुग्ने खालका” थप कार्यक्रमहरू गर्न सुरु गरेको जानकारी दिएका छन् । आयोगले चाहिँ दोस्रो चरणको प्रचारप्रसारका बेलामा पनि निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनसक्ने भन्दै त्यसको “कडा निगरानी” गरिने जनाएको छ ।
दोस्रो चरणमा के गर्न पाइन्छ?
यसपटकको निर्वाचनमा आयोगले समय तोकेर निश्चित दिनमा मात्र कतिपय प्रचारप्रसारका काम गर्न पाउने जनाएको थियो । सोही अनुसार आचारसंहिता बनेकाले दलहरूले बुधवारसम्म आमसभा र कोणसभा समेत गर्न पाएका थिएनन् ।
बुधवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अब दल तथा उम्मेदवारहरूले “आमसभा र कोणसभा गर्न पाउने” बताए । तर उनले आचारसंहिताले तोकेभन्दा बाहिर गएर कुनै पनि कार्यक्रम गर्न नपाइने र त्यस्तो गरेको पाइएमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुनसक्ने बताए । दलहरू तथा उम्मेदवारले अब मङ्सिर १ गतेसम्म त्यस्ता प्रचारप्रसार गर्न पाउँछन् । त्यसपछि भने निर्वाचनको मौन अवधि सुरु हुन्छ । थपलियाका अनुसार अब पत्रपत्रिका, अनलाइन वा सामाजिक सञ्जालमा विज्ञापन गर्न समेत पाइन्छ ।
त्यस्तै प्रधानमन्त्री, मन्त्रीजस्ता पदाधिकारीले पनि चुनावी सभाहरूमा अनुमति लिएर जान पाउने तर त्यस क्रममा सरकारी स्रोत र सम्पत्तिको प्रयोग गर्न नपाउने थपलियाले जानकारी दिए । आयोगले चुनावमा दल र उम्मेदवारले गरेको खर्चको विवरणको परीक्षण पनि गर्ने जनाएको छ । “त्यसक्रममा सभाहरू गर्दा बनाइएको मञ्चको खर्चको विवरण समेत आयोगमा बुझाउनुपर्छ,” प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन् । खर्चको विवरण निर्वाचन सम्पन्न भएको मितिले १५ दिनभित्र आयोगमा बुझाउनु पर्नेछ ।
दलहरूको तयारी के छ?
प्रचारप्रसारको दोस्रो चरण सुरु भएसँगै आफ्ना चुनावी गतिविधिलाई अझ व्यापक पार्न लागेको निर्वाचनमा सहभागी दलका नेताहरूले बताएका छन् । त्यसक्रममा पार्टीका मुख्य नेताहरूको उपस्थितिमा सकेसम्म सबै प्रदेशहरूमा आमसभा गर्ने तयारीमा प्रमुख दलहरू रहेको नेताहरूले जानकारी दिएका छन् । सत्ताधारी गठबन्धनले चाहिँ गठबन्धनमा सहभागी दलका मुख्य नेताहरूलाई उपस्थित गराएर त्यस्ता कार्यक्रम गर्ने तयारी गरेको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरूले बताए ।
नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशबाट सुरु गरेर देशका विभिन्न स्थानमा पार्टी अध्यक्षकै उपस्थितिमा सभाहरू गर्ने तयारी गरेको उक्त दलका नेताहरूले बताएका छन् । आफ्नो दलका उम्मेदवारलाई कसरी मत हाल्ने भन्ने सिकाउँदै दलका कार्यकर्ताहरू चुनाव प्रचारमा सक्रिय भइरहेका छन् ।
आफ्नो दलका उम्मेदवारलाई कसरी मत हाल्ने भन्ने सिकाउँदै दलका कार्यकर्ताहरू चुनाव प्रचारमा सक्रिय भइरहेका छन् । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले “बाहिरी प्रचार अभियान गर्न आयोगले तोकेको समय सुरु भएपछि” अब व्यापक रूपमा चुनावी अभियान अगाडी बढाइने बताउँछन् ।
“अब पार्टी र गठबन्धनको नेतृत्वसँगको सरसल्लाहमा आवश्यकता अनुसार कार्यक्रम हुन्छन्। सबैतिर केन्द्रीय नेतृत्व पुग्न सम्भव हुँदैन, तर आवश्यक स्थानमा केन्द्रीय नेतृत्वको उपस्थिति हुन्छ । “उनका अनुसार सत्ता गठबन्धनले कतिपय स्थानमा “संयुक्त सभा” पनि गर्नेछन् ।
नेकपा माओवादी केन्द्रका एकजना नेता गणेश साहका अनुसार पनि गठबन्धन दलहरूले जिल्ला स्तरसम्म चुनावका लागि संयुक्त समन्वयात्मक संयन्त्रहरू बनाएका छन् । “हामी संयुक्त रूपमा छलफल गरेर नै कार्यक्रमहरू तय गरिरहेका छौँ। केन्द्रका कुन नेतालाई ल्याउने भन्ने छलफल गरेर सभाहरू हुनेछन्,” चुनावका लागि मधेश प्रदेशमा खटिएका उनले भने ।
प्रतिपक्षी एमालेले भने अधिकांश स्थानमा एकल सभाहरू गर्ने उक्त दलका नेता प्रदीप ज्ञवालीले बताए । “हामी दार्चुलाको खलङ्गामा चुनावी सभा गरेर प्रचारप्रसार सुरु गर्छौँ ।” एमालेका अनुसार उक्त दलका अध्यक्षले सम्बोधन गर्ने देशैभरि कुल २५ वटा ठूला सभा हुनेछन् । कतिपय स्थानमा एमालेले समेत केही उम्मेदवार र दलहरूसँग चुनावी तालमेल गरेको छ । त्यस्ता स्थानमा संयुक्त सभाहरू पनि हुनसक्ने ज्ञवालीले बताए । त्यस्तै अन्य साना दलहरूले पनि आमसभा तथा अन्य खाले प्रचारप्रसारका गतिविधिलाई विस्तार गर्ने बताएका छन् ।
-BBC