आप्रवासी कामदारको ‘चिहान’ माथि कतार विश्वकप

१९ कात्तिक, काठमाडौं । अरब देशमा पहिलोपटक विश्वकप फुटबल आयोजना गरेर इतिहास रच्दै गरेको कतारले प्रशंसाभन्दा बढ्ता आलोचना खेपिरहेको छ । हजारौं आप्रवासी कामदारको जीवन मूल्य चुकाएर कतार आफ्नो इतिहास बनाउँदैछ । विश्वकपका लागि चाहिने पूर्वाधार बनाउने क्रममा मृत्युवरण गरेका हजारौं आप्रवासी कामदारका पक्षमा जर्सी, ब्याण्ड लगाउँदै मैदानमा उत्रिने बताइरहेका छन् अधिकांश टिम ।

अष्ट्रेलियन फुटबल टिमले हालसालै मात्र ट्वीटरमा एक भिडियो सार्वजनिक गरेर विश्वकपमा लागि आवश्यक पूर्वाधार बनाउँदा मारिएका र घाइते भएका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिलाउन माग गरेको छ ।

कतारले २ सय २९ बिलियन अमेरिकी डलर खर्च गरेर आयोजना गर्न लागेको यो फुटबल महाउत्सवमा नेपालीहरुले पनि ज्यान गुमाएका छन् । २३ फेब्रुअरी २०२१ ‘द गार्जियन’ पत्रिकामा छापिएको समाचार अनुसार नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका गरेर कतारमा ६ हजार ५ सयभन्दा बढी कामदार मारिए ।

उक्त समाचार अनुसार १६ सयभन्दा धेरै नेपालीले कतारको विश्वकप खेलाउने योजना पूरा गर्न आफ्नो ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने मध्ये एक हुन् मोहम्मद नदाफ । ‘हुम्यन राइट वाच’ले सार्वजनिक गरेको एउटा भिडियोमा नदाफकी पत्नी मैरुल खातुन भन्छिन्, ‘कति दिनसम्म लाश भेटिएन । भेटिएको लाश पनि क्षतविक्षत थियो । नेपाल ल्याउन सकेन, लाश उतै अन्तिम संस्कार गरे ।’

मारिने मात्र होइन कतिपय कामदार अत्याधिक गर्मी, कामको चर्को बोझ र अव्यवस्थित बसोबास तथा खानपानका कारण अशक्त, घाइते भएर फर्किए । नेपालका लक्ष्मण कामती कम्मरको समस्या देखिएपछि काम छाडेर फर्किएका मध्ये एक हुन् ।

नेपाल आएर पनि उनी काम गर्न सक्ने अवस्थामा छैनन् । चर्को घाममा ६०/७० किलोको भारी बोकेर अग्लो भवनमा चढ्दा आफ्नो कम्मरमा समस्या आएको कुरा उनले ‘हुम्यन राइट वाच’लाई सुनाएका छन् ।

कतारले सन् २०१० मा जापान, अमेरिका, दक्षिण कोरिया र अष्ट्रेलियालाई पछि पार्दै विश्वकप आयोजना गर्ने रेस जितेको थियो । कतारको यो जितको नेपाल जस्ता दक्षिण एसियाली मुलुकले चर्को मूल्य चुकाउनु पर्यो ।

‘पसिना सक्किसक्यो,’ १९ जनवरी २०२२ मा बीबीसीले सार्वजनिक गरेको एक भिडियोमा नेपालका हेमबहादुर रानाले कतारले आप्रवासी कामदारमाथि गरेको कहर सुनाए । ५० डिग्री सेल्सीयसभन्दा चर्को घाममा दुई वर्ष काम गरेर मिर्गौला फेल भए पनि नेपाल फर्केका राना सुनाउँछन्, ‘पानी खान नदिने, पिसाबबाट फिज बग्थ्यो ।’

गार्जियन पत्रिकाले कतारले विश्वकपका लागि चाहिने पूर्वाधार निर्माणमा खटिएका आप्रवासी कामदारमाथि गरेको शोषण र मानव अधिकारको श्रृखंलाबद्ध समाचार प्रकाशन गर्यो ।

विश्वकप आयोजक टोलीको कार्यालय भएको ‘अल्र्बेटा टावर’को दृश्य देखाउँदै गार्जिएनका पत्रकार रोबर्ट बुथ भन्छन्, ‘एसीले सजिएको यो भवनको ३८ औं र ३९ औं तलामा विश्वकप आयोजकको अफिस छ । तर, जसले यो भवन बनाए ती कामदारमाथि गम्भीर श्रमशोषण गरियो । उनीहरुलाई वर्षौंसम्म तलब दिइएन र अन्तमा उनीहरुलाई अलपत्र पारियो ।’

विश्वकप आयोजक कमिटी आलिशान कार्यालयमा रमाइरहँदा त्यो भवन निर्माण गर्ने कामदार भने तलब पर्खिरहेका छन् भन्दै गार्जियनको भिडियोमा नेपाली स्वर सुनिन्छ, ‘आफूले गरेको परिश्रमक नपाउँदाखेरी दुःख त लाग्ने नै भयो ।’

गार्जियनको भिडियोमा ती नेपाली आफ्नो पीडा पोख्छन्, ‘घर जान त अब पैसा छैन । पैसा भए त को बस्थ्यो र यहाँ । एक सालको स्यालरी मिलेको छैन, कसरी घर जाने ? टिकट काट्ने पैसा पनि छैन । टिकट मात्र लिएर जानु पनि भएन, रित्तै हात टिकट मात्र लिएर जानु ? चार साल भइसक्यो घरबाट आएको ।’
२० नोभेम्बरमा नेपालले पाँच वर्षका लागि सांसद छानिरहँदा कतारले आप्रवासी कामदारको ‘चिहान’माथि तयार पारेका संरचनामा आफ्नो वैभव प्रदर्शन गर्नेछ ।

थोरै पारिश्रमिक पाउनेमा नेपालीहरुको संख्या धेरै

अधिकांश मृत्युलाई कतारले अज्ञात र हृदयघातका कारण भएको भन्दै पन्छिदै आएको छ । तर, मानव अधिकार र श्रमिकका पक्षमा काम गर्ने संस्थाहरुले भने कतारको चर्को घाममा लामो समय कडा परिश्रम गर्न लगाउँदा कामदारको मृत्यु हुने गरेको देखाएका छन् ।

Everest Incitute

साँघुरा कोठामा सयौं कामदार राख्ने गरिएको, पानी र खानाको अभावबिच बाँचिरहेका कामदारको दारुणीक दृश्य देखाउँदै जर्निम्यमान पिक्चरका जोनी मिलर भन्छन्, ‘कतारले आप्रवासी कामदारमाथि गरेको अत्याचार म वर्णन गर्न सक्दिनँ ।’ कतार विश्वकपको यो रौनकका पछाडि सबैभन्दा धेरै काम गर्ने र थोरै पारिश्रमिक पाउनेमा नेपालीहरुको संख्या सबैभन्दा धेरै छ ।

कामदारमाथि शोषण गर्ने कतारको ‘कफाला’ नियमका कारण हजारौं आप्रवासी कामदारको मृत्यु भयो । यो नियम अनुसार जागिर दिने कम्पनीले कामदारको पासपोर्ट आफूसँग राख्छ । कामदारलाई समय अगावै घर फर्किन छुट हुँदैन । अर्को जागिर गर्न पाउने सुविधा हुँदैन । आप्रवासी कामदारलाई मृत्युको मुखमा पुर्याउने ‘कफाला’ नियमलाई ‘ह्युमन राइट वाच’ले दास प्रथाको आधुनिक स्वरुपका रुपमा चित्रण गरेको छ ।

गार्जिएनको एक भिडियोमा काम दिने कम्पनीको ज्यादती सहन नसकेपछि भागेका नेपाली भन्छन्, ‘पैसा ऋण काढेर आएको थिएँ तिर्न सकिनँ, अनि भागें । कहिले पानी पाइन्न, कहिले लुगा पाइन्न ।’ कागज गरिएको भन्दा थोरै तलब दिएपछि आफू ऋण तिर्ने पैसा जोहो गर्न भागेको उनले भिडियोमा सुनाउँछन् ।
दाङका १६ वर्षीय गणेश विश्वकर्मा कतार गएको करिब तीन महिनामै मरे । गणेशकी आमा गार्जियनसँग छोरालाई विदेश पठाउनुको बाध्यता सुनाउँछिन्, ‘मस्तै कमाउला, जमाउला, खामला, सञ्चो होला, सुविस्ता होला भनेर पठाको ।’ गणेश र उनी जस्ता हजारौं नेपालीको सपना कतारी विश्वकपको ठूलो सपनाले निल्यो ।

कतारले विश्वकपका पूर्वाधार निर्माणका क्रममा मरेका कामदारको निष्पक्ष पोष्टमार्टम समेत गरेन । कतारमा आफ्ना प्रियजन गुमाएका आफन्तलाई मृत्युको कारण अहिलेसम्म थाहा छैन । सुन्दर जीवनको सपना बोकी गएको मान्छे फर्किंदा परिवारजनका लागि सपना बनेर आउँछ ।

कतारले नेपाली कामदारमाथि कतिसम्म अत्याचार गरेको छ भनेर बताउन ‘टाइम म्यागजिन’को नोभेम्बर २०२२ अंकको कभर स्टोरी नै काफी छ । ‘खतरनाक खेल’ शीर्षकको समाचारको सुरुवात नै सुरेन्द्र तामाङको सपना र कतार पुगेपछि उनले भोग्नुपरेको व्यथाबाट सुरु हुन्छ ।

नेपाली कामदारले कतारमा भोगेको कहरको वर्णन गर्दै गार्जियन पत्रिका लेख्छ, ‘यो गर्मीमा, कतारमा नेपाली कामदारहरूको दैनिक झण्डै एक जनाको दरले मृत्यु भएको थियो । त्यसरी मर्नेहरुमध्ये धेरै युवा थिए र तिनलाई अचानक हृदयाघात भएको थियो ।’

‘२४ घण्टा खालि पेटमा भएको मैले १२ घण्टा काम गरें,’ २७ वर्षे रामकुमार महराले भोगेको कष्ट लेख्छ गार्जियन पत्रिका, ‘खान नपाएको भनेर गुनासो गरेपछि मेरो प्रबन्धकले मलाई कुटपिट गरे, म बसेको श्रम शिविरबाट निकालिदिए । पैसा दिन मानेन । त्यसपछि मैले अरु नेपाली कामदारसँग पैसा मागेर खाना खाएँ ।’

कतारी शैलीको विरोध

कतारले विश्वकप आयोजना गर्ने निर्णय हुँदा कतारसँग २ वटा मात्र रंगशाला थिए । अहिले कतारसँग ८ वटा रंगशाला छन् । यस बाहेक हजारौं किलोमिटर नयाँ सडक, रेलवे लाइन, विमानस्थल र सयौं होटल बनाइएका छन् । दश वर्षमा कतारले बनाएका यी संरचनाको जगमा हजारौं कामदारको ‘चिहान’ छ भन्दै विश्वकप खेल्ने टिमले कतारी शैलीको विरोध गर्ने निर्णय गरिरहेका छन् ।

इगंल्याण्डको फुटबल टिमले विश्वकपका पूर्वाधार बनाउन मरेका र घाइते भएका कामदारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर एक भिडियो निकालेको छ ।

कतारले गरेको मानव अधिकार हनन र श्रम शोषणको विरोधमा विश्वकप छनौट खेलकै क्रममा नेदरल्याण्डका खेलाडीले ‘फुटबल सर्पोट चेन्ज’ लेखिएको जर्सी लगाएका थिए । नर्वेका खेलाडीले ‘मानव अधिकार : मैदान भित्र र बाहिर’ लेखिएको जर्सी लगाएका थिए ।

जर्मनीका खेलाडीले कतारको विरोधमा कालो जर्सी लगाउँदै त्यसमाथि ‘मानव अधिकार’ लेखेका थिए । डेनमार्कका खेलाडीले ‘मानव अधिकारको पक्षमा उभिने हिम्मत राखौं’ लेखिएको जर्सी लगाएका थिए ।

छनौट खेलमा मात्र होइन, कतारले आप्रवासी कामदारमाथि गरेको शोषण र कतारको खराब मानव अधिकार अवस्थाको विरोधमा डेनमार्क, जर्मन, इगंल्याण्ड लगायतका टोलीले विश्वकपका दौरान पनि विरोध गर्ने बताएका छन् ।

डेनमार्कले कतारको विरोधमा विश्वकपका खेलमा लगाउने जर्सीमा आफ्नो देशको नाम र लोगो धमिलो बनाउनेछ । जर्मनले ‘ह्युमन राइट’ लेखिएको कालो जर्सी लगाउनेछ ।

साविक विजेता भए पनि फ्रान्सले पेरिस र अन्य फ्रान्सेली शहरका सार्वजनिक स्थानमा फुटबलको प्रत्यक्ष प्रशारण नदेखाउने बताएका छन् ।

संसारभरका फुटबल प्रेमीको मन कुँड्याएको कतारलाई दक्षिण एसिया, अफ्रिका, फिलिपन्स लगायतका देशका हजारौं मान्छेले सायदै माफ गर्लान् । २० नोभेम्बरमा नेपालले पाँच वर्षका लागि सांसद छानिरहँदा कतारले आप्रवासी कामदारको ‘चिहान’माथि तयार पारेका संरचनामा आफ्नो वैभव प्रदर्शन गर्नेछ । संसारले कतारलाई विश्वकप ‘होस्ट’ गने पहिलो खाडीमुलुकका रुपमा मात्र नभइ हजारौं आप्रवासी कामदारको चिहानमाथि पैसाको वैभव देखाउने देशका रुपमा पनि इतिहासमा याद गर्नेछन् ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.