
कोरोना महामारीका बेला दाङको बेलझुण्डीस्थित कोभिड– १९ अस्थायी अस्पतालमा ल्याइएका ९ वटा भेन्टिलेटर र १५ वटा आईसीयू शय्या राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थन्किएका छन् ।
प्रदेश र संघीय सरकारले उपलब्ध गराएका एक करोड ५० लाख मूल्यका उपकरण प्रयोगविहीन बनेका हुन् । कोरोना महामारी टरेपछि २०७९ मंसिरबाट बन्द गरिएको बेलझुण्डी कोभिड अस्पतालका उपकरण प्रादेशिक अस्पताल लगिएको छ ।
राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन (मेसु) डा. ओमप्रकाश अर्यालले जनशक्ति अभावले कोभिडकालमा ल्याएका स्वास्थ्य सामग्री प्रयोगमा आउन नसकेको बताए । ‘हाम्रो अस्पतालमा आईसीयू सञ्चालनमा छैन,’ मेसु अर्यालले लोकान्तरसँग भने, ‘प्राविधिकको अभाव र रिसोर्स नहुँदा महामारीका बेला भित्रिएका उपकरण थन्किएका छन् । कसरी प्रयोगमा ल्याउने भनेर हामी खोजीमा लागेका छौं ।’
१५ वटा आईसीयू, ९ वटा भेन्टिलेटर र १७ वटा नर्मल बेड गरी १०० शय्याका कोभिड अस्पतालका उपकरण अहिले अस्पतालको कुनामा थन्किएका छन् । तत्कालीन कोभिड अस्पतालका व्यवस्थापक द्रोण वलीले जनशक्ति थपेर भए पनि स्वास्थ्यका महत्त्वपूर्ण उपकरणहरू प्रयोगमा ल्याउनुपर्ने बताए ।
प्रदेश सरकारले शुक्रबार ल्याएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ चिकित्सकसहित २०० शय्यामा स्तरोन्नति गर्ने कार्यक्रम समावेश गरेको छ ।
गुल्मीमा पनि कोभिडको लहरको समयमा खरिद गरिएका झण्डै दुई करोड रूपैयाँबराबरका स्वास्थ्य उपकरण उपयोग नभएर अलपत्र परेका छन् ।
तत्कालीन परराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पीसीआर मशिनको जोहो गरिदिएर १ असोज २०७७ मा प्रयोगशाला उद्घाटन गरे । जिल्लामा असोजबाटै नियमित परीक्षण शुरू भयो ।
वि.स.२०७८ सालमा कोभिडको दोस्रो लहरसँगै परीक्षणका लागि एन्टिजेन आएपछि प्रयोगशालाको औचित्य सकियो । झन्डै ५० लाखको पीसीआर मशिनसहित प्रयोगशालाका सामग्रीहरू गरेर करीब एक करोड रूपैयाँ खर्च भएको थियो ।
त्यस्तै गुल्मी अस्पतालमा जनशक्ति नहुँदा एक वर्षदेखि दुईवटा भेन्टिलेटरसहितको पाँच बेडको आईसीयू अलपत्र परेको छ । कोभिड– १९ का बेला दुई करोड रूपैयाँ विनियोजित बजेटमध्ये डेढ करोडमा गत वर्ष नै पूर्वाधार र उपकरण जडानको काम भयो । तर, पाइपलाइन विस्तार र जनशक्ति नहुँदा आईसीयू अलपत्र भएको छ । एक वर्षदेखि महत्त्वपूर्ण स्वास्थ्य उपकरण अलपत्र छ ।
वर्षौंदेखि विशेषज्ञ जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आईसीयू उपयोग नभएर धुलाम्मे बनेका छन् । स्थायी मेडिकल अधिकृत पनि जिल्लामा नबस्ने अवस्थामा भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति प्रदेशस्तरबाट व्यवस्थापन नहुने गुल्मी अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसी बताउँछन् ।

अहिले पीसीआर मशिनसहितका स्वास्थ्य सामग्री उपयोगविहीन भएर कोठामा थन्किएका छन् । दुईपटक गरेर प्रयोगशाला सञ्चालनमै ७० लाखभन्दा बढी खर्च गरियो । प्रयोगशाला भएको घरमा अहिले रेसुंगा नगरपालिका– ९ को कार्यालय सञ्चालन गरिएको छ ।
‘प्रयोगशाला बन्द भएपछि भाडामा बसेको वडा सारेका छौं । अस्पतालले प्रयोगशालाको साँचो नगरलाई बुझायो,’ वडाध्यक्ष कृष्णप्रसाद पाण्डेयले भने, ‘सस्तो र छिटो हुने एन्टिजेन आएपछि महंगो पीसीआर परीक्षण बन्द भयो ।’
जनशक्तिको अभाव देखाउँदै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा महंगा उपकरण प्रयोगविहीन बनेका छन् । कोरोनाको बेला उपलब्ध भएका उपकरणदेखि अन्य करोडौं पर्ने स्वास्थ्य उपकरण थन्किँदा चर्को शुल्क तिरेर बिरामीहरू निजी अस्पतालमा सेवा लिन बाध्य छन् ।
अस्पतालमा १० करोड रूपैयाँको क्याथल्याब आएको वर्षदिन पुग्दा समेत सञ्चालनमा आएको छैन । अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले जनशक्ति अभावले गर्दा उपलब्ध साधनस्रोतलाई प्रयोग गर्न नसकिएको बताए ।
‘क्याथल्याब मशिन चलाउन कन्सलटेन्ट चिकित्सक आवश्यक पर्छ,’ श्रेष्ठले भने, ‘अस्पतालको आन्तरिक स्रोत खुम्चिँदा निजी स्रोतबाट कन्सलटेन्ट राख्न सकेका छैनौं । विशिष्टीकृत चिकित्सक चाहियो भनेर प्रदेश सरकारसँग बारम्बार अनुरोध गरेका छौं ।’
श्रेष्ठले थपे, ‘आँखाका चिकित्सक छन्, तर उपकरण छैन । उपकरण भएको क्षेत्रका चिकित्सक छैनन् । तालमेल मिलाउने प्रक्रियामा जुटेका छौं । अस्पतालमा सबै सेवा सहज रूपमा दिने गरी चलाउने हो ।’
प्रादेशिक अस्पतालमा दैनिक १ हजार ४०० जना बिरामी उपचारको लागि आउने गर्छन् । प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष सूर्यबहादुर भट्टराई कोभिडका बेलमा किनेका आईसीयू र भेन्टिलेटर प्रादेशिक अस्पतलामा नयाँ भवनमा प्रयोग गरिएको बताए । बुटवलको कोभिड अस्पताल धागो कारखानामा सञ्चालन गरिएको थियो । ‘धेरैजसो उपकरण प्रयोगमा छन् । केही बाँकी होलान्, अब नयाँ अध्यक्ष र नयाँ मेडिकल सुपरिटेन्डन सबैलाई प्रयोगमा ल्याउनुपर्छ,’ भट्टराईले भने ।
रूकुमपूर्वमा पनि कोभिडकालका उपकरणहरू अहिले प्रयोगमा आउन सकेका छैनन् । कोरोनाको दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेको भेरी अस्पतालमा पनि कोभिडकाका सबैजसो सामग्री प्रयोग भएका छैनन् ।
स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका प्रवक्ता डा. पुष्पराज पौडेलले कोभिडकालमा किनेका स्वास्थ्य उपकरण पूर्णरूपमा सदुपयोग गर्न अस्पतालमा दरबन्दी थप गरिने बताए ।
‘ठूला अस्पतालमा धेरैजसो उपकरणहरू प्रयोग भएका छन्,’ प्रवक्ता पौडेलले लोकान्तरतसँग भने, ‘पहाडी जिल्लामा साना अस्पतालहरूमा सबैजसो प्रयोग भएका छैनन् । तिनीहरूको पनि उपयोग गर्ने गरी योजना प्रदेश सरकारले अगाडि बढाएको छ ।’
कोरोनाका बेला लुम्बिनी प्रदेश सरकारले राहतमा ३० करोड, उपकरणमा ३० करोड र अन्यमा १० करोड गरी ७० करोड रूपैयाँ खर्च गरेको डा. पौडेलले बताए ।
C. -lokantar
