जिल्ला प्रहरी कार्यालय, अछामले प्रतिबन्धित सामानहरु सहित १ जनालाई पक्राउ गरेको छ । मंगलसेन नगरपालिका वडा नं. १२ ठाँटीखाँदका अन्दाजी ३१ वर्षका टंक शाहीलाई भरुवा बन्दुक र जंगली जनावरको छाला सहित पक्राउ गरिएको हाे ।
शाहीको घरमा शंका लागी चेकजाँच गर्ने क्रममा प्रतिबन्धित सामानहरु समेत फेला पारिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले बताउनुभयो । शाहीको घरबाट भरुव बन्दुक १ थान, फलामको सरिया काटेर बनाएको गोली २ थान, सिसको गोलो आकारको गोली १ थान, जंगली जनावरका जस्ता देखिने पुराना सिंगहरु १० थान, रतुवा जस्तो देखिने जंगली जनावरको टाउको सहितको छाला २ थान र रतुवा जस्तो देखिने जंगली जनावरको खुर सहितका खुट्टाहरु ८ थान बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
उक्त रतुवा जस्तो देखिने जंगली जनावरको पुरानो सिंगहरु, टाउको सहितको छाला, खुर सहितको खुट्टाहरुको जम्मा तौल गर्दा ११ केजी रहेको जनाईएकाे छ । यस विषयमा थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

