कुन्ति माविमा सामाजिक व्यवहार र मुल्यमान्यता सम्वन्धि अभिभावक शिक्षा कार्यक्रम
वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
मंगलसेन, अछामः

मंगलसेन नगरपालिका–१ सुवाखाँदस्थित कुन्ति माध्यमिक विद्यालयमा शैक्षिक सुधारमा सामाजिक व्यवहार र मूल्यमान्यता सम्बन्धी अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
मालिका सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मंगलसेन नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल थापाको अध्यक्षता तथा वडा नं. १ का अध्यक्ष लोकराज नाथको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर कार्यपालिका सदस्य हंश थापा राना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा मंगलसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपकबहादुर भण्डारी र शिक्षक मदनबहादुर बोगटीले शैक्षिक सुधारमा सामाजिक व्यवहार र मूल्यमान्यता, बालअधिकार तथा बाल संरक्षण लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।
यस अवसरमा विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद ढुंगानाले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य गंगा थापा, मालिका सामुदायिक सिकाइ केन्द्रका उपाध्यक्ष मनिराम थापा, अभिभावक, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा सिकाइ केन्द्रका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सोही अवसरमा मालिका सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सञ्चालन गरिएको “विद्यालय शिक्षामा सामाजिक मूल्यमान्यताको प्रभाव” विषयक वक्तृत्वकला प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
प्रतियोगितामा रेजिना गिरी प्रथम, ललिता राना द्वितीय, हेलिना थापा तृतीय तथा शारदा नाथ र रितिका थापा सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। विजेताहरूलाई शैक्षिक सामग्रीसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा शिक्षक ध्रुव रावलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन मालिका सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष होमबहादुर साउदले गर्नुभएको थियो।
