वैधनाथ धामको प्रचार मात्र होइन विकासमा पनि ध्यान दिउँ !

डिबी साउद:
वैधनाथ धाम अछाममा १४४ बर्ष पछि पहिलो पटक फाल्गुन १० देखि २५ गतेसम कोटीहोम महायज्ञ आयोजना हुँदैछ । नेपालका ४ धाम मध्यको एक धाम भनी स्थान दिइदै आएको वैधनाथ क्षेत्र आस्तिक र पर्यटकका लागि प्रमुख रोजाईमा पर्दे आएको छ। यसको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व अपेक्षा अनुरूप बस्तुगत हिसाबले विकास हुन नसक्दा अझै ओझेलमा छ ।

Samajik New Add 2082

स्कन्द पुराण मानसखण्डमा बैजनाथको महिमा, लंका सम्राट राणले ९ औं शिर छेदन पश्चात वैधको रूपमा शिवको दर्शन पाएको स्थान, विसं १४४० मा राजा अभय मल्लले वैध शिवको आराधनाले दुःखकष्ठ रोगव्याधि हरण हुने जिकिर, १७ औं शताब्दी मा राजाहरुले संग्रहित गरेका दस्तावेज र वि.सं १८४८ को गोर्खाली विजय पश्चात हतियार विर्सजन गरेका तमाम कारणले यसको धार्मिक एवं एतिहासिक महत्व व्यापक छ ।

नेपालमा रहेको बैधनाथ धाम प्रति भक्तजन, पर्यटक र अध्ययनकर्ता माझ मोह बढ्दै जांदा यस क्षेत्रको सम्पूर्ण व्यवस्थापन किन प्रभावकारी हुन सक्दैन ? हामीले दाबी गरे अनुरुप यसको वास्तविकतालाई बल पुग्ने गरि काम थालेका छौ त ? सबै प्रकारका आगन्तुकका लागि दर्शनीय, अध्ययन अनुसंधान गर्नेका लागि संभावनायुक्त र वहाँहरु प्रतिको सत्कारमा चुकेका त छैनौं ? यी र तमाम यस्तै प्रश्नहरुको खोजी गर्दै जांदा ठिक ठाउँमा पुग्न पनि सक्छौं । त्यसैले बैधनाथ आफैमा जवजल्य त छँदैछन हाम्रो प्रयासले सम्पूर्ण गराउनलाई बल पुग्न सक्छ । त्यसैले ;

१. बैधनाथ धामको गुरुयोजनालाई थप पूर्णता दिन अन्तर पालिका समन्वय गरि मुख्य शक्तिपिठहरुलाई ( जिम्राडीधाम, बान्नीगढी, सह्रसलिङ खप्तड, शान्निकोट बज्रयोगिनी, देवीधुम ) जोडने र एवं तरिकाले विकास गर्नुपर्छ ।

२. अन्धाधुन्ध तिव्रत्तर गतिमा भईरहेको विकास, जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपले बुढीगंगा किनार र लुंग्रलीगाडको समीपमै रहेको बैधनाथ मन्दिर जोखिममा छ । संरक्षणका लागि हाम्रो प्रयासले मात्र पुग्दैन त्यसैले मन्दिरको स्थानान्तरण एउटा विकल्प हुन सक्छ । नदि खोला नियन्त्रणमा खर्च हुने बजेटले अलौकिक वृहत धाम निर्माण हुन सक्छ । धार्मिक पर्यटन मार्फत पनि समृद्धि आउन सक्छ ।

३. वैधनाथ धामको गुठीको जग्गा लगत खडा गरी हाल अप्रयाप्त जस्तै देखिएको ठाउँलाई विस्तार गर्नुपर्ने हुन्छ । वेद विधाश्रमलाई आयुर्वेद माविमा विकास गर्न मन्दिरकै जमिन पूर्ण प्रयोगमा ल्याउन सक्नु पर्छ र व्यवहारिक शिक्षाले मात्र प्रतिफल प्रदान गर्छ ।

४. बैधनाथ धाममा “अछाम संग्राहलय” नामाकरण गरी उपलब्ध ताम्रपत्रहरु अनुवाद समेत गरी राख्ने, लोककथा, लोकगाथा, लोक नाटक, गाउ खाने कथा , सबै चाडपर्व , लोकगीत (देउडा ) मुख्य पुराना खेल ( game ) आदि किताबको रुपमा र संग्राहलयभित्र टिभीमा अभिनय सहितको प्रसारणको व्यवस्था गर्ने । थप श्रोत सामाग्री संकलनका लागि कार्यक्रम संचालन गर्नुपर्ने हुन्छ। साथै ऐतिहांसिक एवं पुरातात्विक क्षेत्रको संरक्षण गरौं ।

५. अछाम खण्डमा उपलब्ध जडीबुटी, रैथाने उत्पादन, खेती प्रणाली, कृषि औजार र सामाग्री विभिन्न परिकारको प्रदर्शनी स्थल तयार गर्ने र मौलिक सबै चीजको संरक्षण र प्रबर्द्धनका लागि स्थानीय निकायलाई अनिवार्य जस्तै गर्न सके रैथाने खेती प्रणाली जोगिन सक्छ ।

६. वैधनाथ आउने जो कोहिलाई लोभ्याई राख्न मन्दिर परिसर हरियाली र प्राय निर्जन वातावरणको अनुभूति दिलाउने तरिकाले सुसज्जित गर्न आवश्यक छ । जहाँ जो कोहि रमाउन सकोस, ध्यान भंग नहुने गरी सुरक्षित बस्न सकोस !

७. मन्दिर परिसरको प्रवेश मार्ग फराकिला र चारैतिर हरियाली उद्यानको व्यवस्था गर्न सके सुन्दर देखिनुका साथै मेला चाडपर्वमा भिडभाड कम हुनजाने हुन्छ । सरसफाई र सफा वातावरण प्रथम शर्त हो, त्यसैले मन्दिर परिसर पूर्ण सफा हुनै पर्छ ।

८. भक्तजन तथा पर्यटकको बसाई लम्ब्याउन कम्तीमा जिमराडी क्षेत्रको पनि संगसँगै विकास गर्नु पर्ने हुन्छ ।
९. सबै भन्दा महत्वपूर्ण कुरा आगन्तुक प्रतिको हाम्रो सत्कारले अर्थ राख्दछ, त्यसैले सुलभ बासस्थान देखि भोजनालय, शौचालय देखि स्नान घरको व्यवस्था हुन सकोस ! एक पटक आउने पुनः फर्क्रिओस र तमामलाई ल्याउन सकोस ।

१०. बैधनाथ धाम पर्यटन विकास तथा विकास समितिले सबै सरोकारवालासंगको समन्वयमा निर्माण गर्ने बार्षिक कार्यक्रमको सफलताका लागि सहयोग गर्नुपर्ने देखिन्छ ।

११. जिल्लाको विकासका लागि समेत सेती लोकमार्गको यथाशीघ्र निर्माणका लागि सम्बन्धित सबैले नियमित दबाब दिनु पर्ने देखिन्छ ।

कम्तिमा यी केहि विषय सम्बोधन भए वैधनाथ धाम प्रतिको हाम्रो प्रचारले हाम्रो आस्थाले सार्थकता पाउन सक्छ । धार्मिक पर्यटन मार्फत आर्थिक समृद्धि भइरहेको छिमेकी देशबाट पनि सिकेकै छौ । अन्तमा १४४ बर्षमा हुने कोटी होमलाई सभ्य, भव्य र फलदायी बनाउ । आम रूपमा शान्ति प्राप्तिका विकल्पमा मनन गरौं । यस पुनित अवसरमा हरेक तह र तप्काका देश विदेशमा रहनु भएका अछामी आउने नै छन यो अवसर पारेर वैधनाथको विशिष्टताका लागि समेत वैधनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिले भुमिका निर्वाह गरोस ।

(लेखक साउद लामो समयदेखि सामाजिक विकासका कार्यमा सक्रिय सामाजिक अगुवा हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.