मङ्गलसेन नगरपालिका वडानम्वर ७ मा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको छ । मङ्गलसेन नगरपालिकाकाे आयाेजना र वडानम्वर ७ काे समन्वयमा शिविर सञ्चालन गरिएको हाे ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण, एकीकृत सम्पत्ति कर संकलन र व्यवसाय दर्ता नविकरण कार्य वडा स्तरमै गर्ने उदेश्यले सञ्चालित शिविरको संविधानसभा सदस्य भैरे कामीले उदघाटन गर्नुभएको थियाे । शिविर उदघाटन कार्यक्रममा वडा अध्यक्ष राज बहादुर शाही, वडा सदस्य गाेकर्ण प्रसाद ढुंगाना, वडा सचिव तारा प्रसाद भण्डारी लगायतको उपस्थिति रहेकाे थियाे ।
शिविरमा नगरपालिकाबाट राजश्व शाखा प्रमुख दिपक खड्का, एमआईएस अपरेटर एकेन्द्र बहादुर बाेगटी, हाेम बहादुर साउद, एमआईएस फिल्ड सहायक दिल बहादुर केसी र सहायक कम्प्युटर अपरेटर जितमान बाेहरा सहितको टाेलि खटिएकाे छ ।
एकीकृत घुम्ती सेवा शिविर यसअघि वडानम्वर ८,९,१०,११ र १२ मा सम्पन्न भैसकेको छ भने अन्य वडामा पनि कार्यक्रम निरन्तर संचालन गरिने नगरपालिकाले जनाएको छ । हालसम्म सामाजिक सुरक्षातर्फ ४ हजार १ सय ९१ जनाको परिचयपत्र नविकरण गरिएको छ भने एकीकृत सम्पत्ति कर र व्यवसाय दर्ता नविकरण बापत १ लाख १७ हजार ९ सय ६२ रुपैयाँ राजश्व शंकलन भएको छ । जसमा ३५० जनाले एकीकृत सम्पत्ति कर सम्वन्धि सेवा लिएको झन भने १४ जनाकाे व्यवसाय दर्ता नविकरण गरिएको छ ।
नागरिकलाई आधारभूत सेवा सम्वन्धित वडाबाट प्रदान गर्नकाे लागि विगत वर्षहरु जस्तै याे वर्ष पनि सवै वडामा शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारीले बताउनुभयो ।
