मंगलसेनमा डेंगी नियन्त्रण अभियान: अभिमुखिकरणसँगै लामखुट्टेको लार्भा खोजी तथा नष्ट

अछामः मंगलसेन नगरपालिका र स्वास्थ्य कार्यालय अछामको संयुक्त आयोजनामा डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि डेंगीसम्बन्धी अभिमुखिकरण कार्यक्रम तथा डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी एवं नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ।

Samajik New Add 2082

मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सङ्गीता कुमारी रावल, अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, विभिन्न वडाका अध्यक्ष, कार्यालय प्रमुख, व्यापारी–व्यवसायी, कर्मचारी, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। अभिमुखिकरणका क्रममा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले डेंगी, यसको जोखिम, जिल्लाको वर्तमान अवस्था तथा रोकथामका उपायबारे जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा मंगलसेन बजार क्षेत्रको सरसफाइ तथा फोहोरमैला व्यवस्थापनका विषयमा अन्तरक्रिया समेत गरिएको थियो। अन्तरक्रियाका क्रममा नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले सरसफाइ र फोहोर व्यवस्थापनसम्बन्धी उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभएको थियो।

सिअहेव अधिकृत चन्द्रप्रसाद ढुंगानाले सञ्चालन गर्नुभएको कार्यक्रमपछि सहभागी सरोकारवालाहरूको टोलीले मंगलसेन बजार क्षेत्रमा डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्दै जनचेतना अभिवृद्धिमा समेत जोड दिएको थियो।

कार्यक्रममा डेंगी नियन्त्रणका लागि समुदाय, स्थानीय तह र सरोकारवाला निकायबीचको समन्वय, नियमित सरसफाइ तथा लामखुट्टे हुर्किने स्थानहरूको खोजी र नष्ट गर्ने कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Leave A Reply

Your email address will not be published.