मंगलसेन बसपार्कका संस्थापक मंगलसेन नगरपालिका वडा नम्वर ३ लाछीमना निवासी समाजसेवी तथा शिक्षा प्रेमी अमर बहादुर बोगटी (मायालुको) सम्झनामा श्रदाञ्जली कार्यक्रम सहित सोकसभा सम्पन्न भएको छ । बसपार्क व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका समाजसेवी बोगटीको साउन ४ गते उपचारको क्रममा कोहलपुरमा ५७ बर्षको उमेरमा निधन भएको थियो । बसपार्क व्यवस्थापन केन्द्रकोे आयोजनामा सोकसभाको आयोजना गरिएको हो ।

अहिले निर्माण भएको बसपार्कका जग्गादाता समेत रहनु भएका बोगटीको निधनले अपुरणिय क्षति भएको भन्दै सोकसभा कार्यक्रममा सहभागि सरोकारवालाले मृतक बोगटीले देखाउनु भएको असल कार्यलाइ पुर्णता दिनु अबको आवश्यक्ता रहेको बताएका छन । स्वर्गिय बोगटीले बसपार्क क्षेत्रको विकासका लागि गर्नुभएको योगदानको जति चर्चा गरेपनी कम हुने भन्दै सहभागिहरुले उहाका अधुरा सपना पुरा गर्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
बसपार्क व्यवस्थापन केन्द्रका उपाध्यक्ष रंग भण्डारीको अध्यक्षतामा भएको सोकसभा कार्यक्रममा मंगलसेन नगरपालिका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न ५ का अध्यक्ष झकंर प्रसाद भाट, अस्पताल विकास समितिका अध्यक्ष शिव बहादुर बोगटी, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, अछाम जेसीजका अध्यक्ष फलेन्द्र प्रसाद उपाध्याय लगायतले सोक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा मृतक बोगटीको फोटोमा माल्यापर्ण समेत गरिएको थियो । कार्यक्रमको संचालन कर्ण बहादुर धामीले गर्नुभएको हो । सोही अवसरमा मृतक बोगटीको सम्झनामा बसपार्क क्षेत्रमा वृक्षारोपण समेत गरिएको छ ।
