
शीर्षकः “माया”

-
-
-
-
-
-
-
-
- डिल बहादुर महरा
-
-
-
-
-
-
-
माया मन्दिर मार्ग माग मनको माङ्गल्यको मागल ।
मायामा मन मिल्छ मौन मसिनो मान्दै महामङ्गल ।।
मायाको महिमा महान् महकिँदा मिल्छन् महत्ता मत ।
माया मौलिक मूल्य मद्दत मिहीँ मौज्दातमा मापक ।१।
माया मानिस माझ माथवरको मुस्कानको मानक ।
माया मोहन मोहजाल मनको मानौँ मियो मादक ।।
माया मान्दछ मर्म मानमनितो माहोल माहेश्वर ।
माया मूल मिठास मन्त्र मनको माधुर्यको माहुर ।२।
मायामा मकरन्द मिन्छ महँगो मान्दैन मायाविनी ।
मायाका मनमा मिसाउन मसी मच्चिन्छ मन्दाकिनी ।।
मायामा ममता मिलेर मसला मल्छन् मिलेका मन ।
मायामा मति मुख्य मानसिकता मिल्छन् महामन्थन ।३।

माया माध्यम मान्दछन् मतलबी मार्दैछ मान्छे मिली ।
मायाको महिमा मजाक महिनौँ मर्छन् मुला मामुली ।।
माया माझ मजाल मिल्छ मुहुडा मेलो मुना माधुरी ।
माया मण्डित माझमा मखमली मख्खै मिली माहुरी ।४।
मायामा मतभेदका मतमुखी मान्ने मदानी मद ।
माया मख्खन माथमा मगजको मौलाउँछन् मद्दत ।।
माया मादल मान्दछन् मनमनै मुर्दारका माकल ।
माया मन्तर माननीय मनको माणिक्य मुक्ताफल ।५।
शीर्षकः “ठग”
यो संसार भरी ठगै ठग भए हुर्की बढेका ठग ।
जन्मे गाउँ समाज देश भरमा ठग्दै पढेका ठग ।।
ठग्नेको इतिहास देख्छु बलियो चौतर्फ सारा ठग ।
बाआमा अझ अंशियार घरमा छन् भाइमारा ठग ।१।
जिब्रोमात्र बटार्न तत्पर सदा खाँदै झुकेका ठग ।
निन्दामा अविलम्ब लम्किरहने भुक्दै लुकेका ठग ।।
बिर्सी नैतिकता बिचार गुणिला आघात भर्छन् ठग ।
ठग्दैछन् दुनियाँ दिनानुदिन जो उत्पात गर्छन् ठग ।२।
गोला बारुदमा अभ्यस्त जहिल्यै देखिन्छ धर्ती ठग ।
जानी वंश विनाशमा वहकिने भेटिन्छ अर्ती ठग ।।
लुट्ने साँध सिमा विलीन धनमा माटो भुलेका ठग ।
के होलान् परजन्म मुक्त कसरी बाटो भुलेका ठग ? ३
सारा सृष्टि रचाउने सुख दिने हाँसो सपार्ने ठग ।
नास्दै कीर्ति असत्यमाथि रहने आफैँ बिगार्ने ठग ।।
पापै पाप जगाउने नयनमा स्वार्थी र जाली ठग ।
छोडी धर्म अकर्म उन्मुख हुने देखिन्छ माली ठग ।४।
उल्का मौसम वज्रपात छिनमै हावा र पानी ठग ।
बेला अन्तर राक्षसी प्रकृतिको बन्दैछ बानी ठग ।।
को हो मालिक सृष्टिको नबुझिने सम्बन्ध घाती ठग ?
माया मोह बिगार्न तम्सिरहने को पक्षपाती ठग ? ५
भाषा संस्कृति साधना सकलका नासेर नाच्ने ठग ।
पार्दैछन् रणभूमि जन्मजननी हाँसेर बाँच्ने ठग ।।
शिक्षा स्वास्थ्य विकास बेचिरहने को को कहाँ छन् ठग ?
खोजौँ तत्क्षण घातकी मुलुकका जो जो जहाँ छन् ठग ।६।
(कवि डिल बहादुर महरा शिखर नगरपालिका ४ मारकट्टे डोटी निवासी हुन)

