मंगलसेन–१ को प्रशासनिक भवनको औपचारिक उद्घाटन
गुणस्तरिय सेवा प्रवाहका लागि यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख बोहराको भनाई

अछाम, १ असारः मंगलसेन नगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। गत आर्थिक वर्षमा मंगलसेन नगरपालिकाको झण्डै ९० लाख लागतमा निर्माण सम्पन्न भएको भवनको नगर प्रमुख पदम बहादुर बोहराले सोमबार एक कार्यक्रमका बीच औपचारीक उदघाटन गर्नुभएको हो।

कार्यक्रम वडा अध्यक्ष लोक राज नाथको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बोहराले प्रशासनिक भवन केवल भौतिक संरचना मात्र नभई नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने केन्द्रका रूपमा रहने बताउनुभयो। उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। नगर प्रमुख बोहराले वडा नं. १ ले आफ्नै प्रशासनिक भवनबाट सेवा सञ्चालन गर्न थालेपछि सेवाग्राहीलाई थप सुविधा पुग्ने विश्वास व्यक्त गर्दै भवनको संरक्षण र सदुपयोगमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, वडा नं. ४ का अध्यक्ष नाम सिंह धामी, वडा नं. ५ का अध्यक्ष झंकर प्रसाद भाट, वडा नं. ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी, वडा नं. ७ का अध्यक्ष राज बहादुर शाही, वडा नं. ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा तथा वडा नं. १० का अध्यक्ष जनक बहादुर कुँवरले मन्तव्य राख्दै भवन उद्घाटनले स्थानीय सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव मीन राज नाथ, नेपाली कांग्रेसका चन्द्र जैगडी, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष प्रशान्त राना, नेपाली कम्युनिस्ट पार्टीका लाल बहादुर साउद, कुन्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल थापा, मालिका सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष होम बहादुर साउद, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय मंगलसेनका सञ्चालक कविता कठायत, कुन्ति माविका प्रधानाध्यापक श्याम ढुंगाना, सामुदायिक वन समूहका अध्यक्ष गोपाल जैगडी तथा युवा क्लबका तर्फबाट बिर्ख बहादुर रानाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा मालिका पञ्चेबाजा समूह र कुन्ति माध्यमिक विद्यालयबाट विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको कार्यक्रममा जग्गादातालाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य हंश थापा रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन वडा सचिव हिरण्ड नाथ योगीले गर्नुभएको थियो।


