मंगलसेन–१३ मा विशेषज्ञ स्वास्थ्य सेवा सहित दुईदिने एकीकृत स्वास्थ्य शिविर सम्पन्न

गणेश थापा, अछामः मंगलसेन नगरपालिका–१३ मा विशेषज्ञ सेवा सहित  दुईदिने एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ। मंगलसेन नगरपालिका र स्वास्थ्य कार्यालय अछामको आयोजनामा सञ्चालित शिविरबाट तीन सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्। शिविर अन्तर्गत जेठ २७ गते बस्ती स्वास्थ्य चौकी र २८ गते बाँडा सहरी स्वास्थ्य क्लिनिकमा विशेषज्ञसहितका स्वास्थ्यकर्मीहरूले विभिन्न स्वास्थ्य सेवा प्रदान गरेका हुन्।

Samajik New Add 2082

शिविरको पहिलो दिन बस्ती स्वास्थ्य चौकीमा १७५ जनाले बहिरङ्ग उपचार तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका थिए। त्यस्तै ११५ जनाको आँखा परीक्षण गरी आवश्यक चस्मा वितरण गरिएको थियो। २० जनाले प्रयोगशाला सेवा प्राप्त गरेका थिए भने १० जना गर्भवती महिलाको भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) तथा ७ जनाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि VIA परीक्षण गरिएको थियो।

त्यसैगरी दोस्रो दिन बाँडा सहरी स्वास्थ्य क्लिनिकमा सञ्चालन गरिएको शिविरमा १४५ जनाले बहिरङ्ग उपचार तथा औषधि सेवा प्राप्त गरेका थिए। ११० जनाको आँखा परीक्षण गरी चस्मा वितरण गरिएको थियो भने २० जनाले प्रयोगशाला सेवा लिएका थिए। साथै १० जना गर्भवती महिलाको भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) तथा २ जनाको VIA परीक्षण गरिएको थियो। उक्त कार्यक्रमको सञ्चालन अनमी ममता धामीले गर्नुभएको थियो।

शिविरको उद्घाटन स्वास्थ्य बस्ती स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १३ का वडा अध्यक्ष हिक्मत बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि तथा नगर उपप्रमुख संगीता कुमारी रावल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै बयलपाटा अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. जयनाथ चौधरी, सामाजिक विकास समिति संयोजक बिर्ख बहादुर बोगटी, स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगाना, स्वास्थ्य कार्यालय अछामका नर्सिङ अधिकृत टिका शर्मा लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बोहराले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम बस्तीका नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले रोग लागेपछि मात्र उपचार खोज्ने प्रवृत्तिको अन्त्य गर्दै नियमित स्वास्थ्य परीक्षण, स्वस्थ खानपान र व्यायामलाई जीवनशैलीको अभिन्न हिस्सा बनाउन आग्रह गर्नुभयो। कार्यक्रमको सञ्चालन बस्ती स्वास्थ्य चौकीका इन्चार्ज भुवन रेग्मीले गर्नुभएको थियो।

शिविरमा बयलपाटा अस्पताल, जिल्ला अस्पताल अछाम, स्वास्थ्य कार्यालय अछाम, मंगलसेन नगरपालिका तथा मंगलसेन आँखा उपचार केन्द्रका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। शिविरमा मंगलसेन आँखा उपचार केन्द्रका नेत्र सहायक नवीन चलाउनेले आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो।

स्वास्थ्य सेवा लिन टाढाका अस्पताल धाउनुपर्ने बाध्यता रहेका स्थानीयवासीले गाउँमै विशेषज्ञ सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। शिविरले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै रोगको समयमै पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.