

अछाम:- अछामको मंगलसेन नगरपालिका–१२ बान्नातोली निवासी युवा नेता तथा समाजसेवी बमबहादुर रावतले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
सोही वडास्थित पार्वती माध्यमिक विद्यालय, छापडाँडाका विद्यार्थीहरूलाई खेलकुद सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले रावतले विद्यालयलाई नगद ८ हजार रुपैयाँ सहयोग गर्नुभएको हो।
जन्मदिनका अवसरमा हुने अनावश्यक खर्चलाई सामाजिक कार्यमा उपयोग गर्ने सोचका साथ विद्यालयलाई सहयोग गरेको रावतले बताउनुभयो। रोजगारीका सिलसिलामा भारतमा रहे पनि आफ्नो गाउँका बालबालिकालाई खेलकुद गतिविधिमा सहभागी हुन सहज वातावरण बनाउन सहयोग गरेको उहाँको भनाइ छ।
नेकपा (एमाले) का नेता समेत रहनुभएका रावतले आगामी दिनमा वडाभित्र रहेका अन्य विद्यालयहरूलाई समेत आवश्यकताअनुसार आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
विद्यालयलाई खेलकुद सामग्री खरिदका लागि आर्थिक सहयोग गरेकोमा पार्वती माध्यमिक विद्यालय, छापडाँडाले समाजसेवी रावतप्रति आभार व्यक्त गर्दै उहाँको जन्मदिनको अवसरमा शुभकामना समेत दिएको छ।

