
मङ्गलसेन नगरपालिकाका विभिन्न वडामा वाक नेपाल द्धारा संचालित पावर परियोजनाबाट भएका गतिविधिहरुको स्थलगत अनुगमन गरिएको छ । अनुगमन समिति संयोजक तथा नगर उपप्रमुख संगिता कुमारी रावलको नेतृत्व तथा नगर प्रमुख पदम बहादुर बोहराको विशेष उपस्थिति रहेको अनुगमन टोलिले वडानम्वर ३, ४,५ र ६ मा परियोजना मार्फत युवा सशक्तिकरण र विपन्न लक्षित सहयोगका क्षेत्रमा भएका क्रियाकलापको अनुगन गरेको हो ।

अनुगमनका क्रममा वडा नम्वर ७ का कीशोरीद्धारा संचालित कपाल कटिङ पसल, वडा नम्वर ६ मा बाख्रा पालन व्यवसाय र शौचालय, यस्तै वडानम्वर ३ सिलाईकटाई र तराकी व्यवसाय, वडानम्वर ५ मा पानी पुरी चना द्वटपट पसल र वडा नम्वर ४ मा शौचालय र बाख्रा पालक उद्यमीले संचालन गरेका गतिविधिहरुको स्थलगत अनुगमन गरिएको छ ।

अनुगमनमा वडा नम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, वडानम्वर ४ का अध्यक्ष नाम सिंह धामी, वडा नम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाट, वडा नम्वर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु महत, संघसंस्था समन्वय शाखा प्रमुख होम बहादुर साउद, वाक नेपाल पावर परियोजना संयोजक महाँदेव ओझा, फिल्ड अधिकृत रमिता ढुंगाना र सुजाता लामाको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा स्थानीयहरुले परियोजना मार्फत संचालित गतिविधिले समाजमा युवा किशोरीहरुलाई आयआर्जनका कार्यमा सहयोग पुगेको भन्दै यसको निरन्तरताको लागि माग गरेका थिए । अनुगमन टोलिले परियोजनाले संचालन गरेका गतिविधिहरु सन्तोषजनक रहेको जनाएको छ ।


