धनगढीमा सिप तथा रोजगार मेला : पुरोहितदेखि कुकिङसम्मको तालिम निःशुल्क

एक हजार ४० युवा २९ विधाका सिप सिक्दै

Kirci Gyan Kendra

धनगढी: धनगढी उपमहानगरपालिका–१ को पुरानो एयरपोर्ट तथा खुला मञ्चमा हाल सिप तथा रोजगार मेला सञ्चालन भइरहेको छ । करिब दुई बिघा क्षेत्रफलमा फैलिएको यस मेलाले सुदूरपश्चिमका १ हजार ४० जना युवालाई २९ विभिन्न विधामा सिप सिकाउने अवसर प्रदान गरिरहेको छ ।

Samajik New Add 2082

फागुन ८ गतेदेखि सञ्चालित यो मेला चैत ८ गतेसम्म जारी रहनेछ । मेलास्थल विशेष रूपमा सजाइएको छ । आकर्षक शृङ्गारसहित गेट बनाइएको छ, जहाँ सुरक्षा गार्डहरू खटाइएका छन् । गेट पार गरेपछि दायाँपट्टि विभिन्न प्रयोजनका लागि आठ वटा स्टल राखिएका छन् । ती स्टलमा सोधपुछ, तालिम आवेदन दर्ता, सिप परीक्षणका लागि दर्ता, रोजगारीको खोजीमा रहेका व्यक्तिहरूको दर्ता, रोजगारदाताको माग दर्ता, आगन्तुकहरूको दर्ता, शैक्षिक संस्थाहरूबाट आउने विद्यार्थी तथा प्रतिनिधिहरूको दर्ता र सहभागी तथा प्रशिक्षकहरूको प्रवेश अनुमति सम्बन्धी काम गरिन्छ । प्रवेश गर्ने जुनसुकै व्यक्तिले यी स्टलबाट अनुमति कार्ड प्राप्त गरेरमात्र मेलाभित्र प्रवेश गर्न पाउँछन् ।

स्टलको बायाँपट्टि सिप तथा रोजगार मेलाको सचिवालय छ । सचिवालयमा एउटा बैठक कक्ष, कन्ट्रोल कक्ष, स्टोर कक्ष, मिडिया कक्ष लगायतका संरचना छन् । यिनै कक्षमा मेलासम्बन्धी सम्पूर्ण प्रशासनिक कार्यहरू, महत्त्वपूर्ण बैठक तथा छलफल सञ्चालन भइरहेको छ ।

मेलाको समग्र व्यवस्थापन र निगरानी सचिवालय टिमले गरिरहेको छ । धनगढी उपमहानगरपालिकाका तर्फबाट मेलाका फोकल पर्सन चन्द्रबहादुर महराले मेलाको सफल व्यवस्थापनका लागि विभिन्न कमिटी गठन गरिएको जानकारी दिए ।

मेलास्थलको बिच भागमा ‘सिप विकास कार्यशाला’ लेखिएको प्रवेशद्वार छ । त्यहाँबाट भित्र दायाँपट्टि आयोजक, सह–आयोजक तथा साझेदार संस्थाहरूका स्टल छन् । धनगढी उपमहानगरपालिका, वैदेशिक रोजगार बोर्ड, तालिम तथा रोजगार व्यवसायी महासंघ, नेपाल युथ फाउण्डेसन नेपाल, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम, आर्थिक मामिला मन्त्रालय, स्वरोजगार विकास कोष, मुक्त कमैया महिला विकास मञ्च, भायनेट तथा नेशनल कम्युटरको स्टल मेलामा राखिएका छन् ।

तालिम सञ्चालनका लागि मेलास्थलमा दुई वटा ठुला कार्यशाला हल बनाइएको छ । पहिलो हलमा १८ वटा विभिन्न तालिम सञ्चालन भइरहेका छन्, जसमा मोबाइल तथा सीसीटीभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, पुरोहित तालिम, इसीडी वालविकास शिक्षक, फेसन डिजाइन, एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, नाई (बार्बर), एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिक भेहिकल (ईभी) मर्मत तथा लेखा व्यवस्थापन तालिम समावेश छन् ।

दोस्रो हलमा ११ वटा तालिम सञ्चालनमा छन्, जसमा सांस्कृतिक पोसाक निर्माण, बेतबाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, कफी बारिस्टा, हाउस पेन्टिङ, फर्निचर तथा फास्टफुड कुकिङ तालिम निःशुल्क प्रदान गरिएको छ ।

यस्तै, मेलामा १२ वटा वर्कसप सञ्चालन भइरहेका छन्, जसमा प्रशिक्षार्थीहरूले प्रत्यक्ष रुपमा कार्य गरेर सिक्ने अवसर पाउँछन् ।

दैनिक दुई चरणमा १८ वटा तालिम सञ्चालन भइरहेका छन् । बिहान ८ बजेदेखि १२ बजेसम्म पहिलो चरण र दिउँसो १ बजेदेखि ५ बजेसम्म दोस्रो चरणको तालिम सञ्चालन भइरहेको छ । बाँकी ११ वटा तालिम बिहान १० देखि ४ बजेसम्म एकैचरणमा सञ्चालन हुन्छन् ।

Saud Agro Kailash

तालिम सञ्चालन तथा व्यवस्थापनका लागि निर्देशन समिति, समन्वय समिति तथा सञ्चालन समिति गठन गरिएको छ । २९ वटा तालिम व्यवस्थापन गर्न संयोजक, विषयगत क्षेत्रका ८ जना व्यवस्थापक, ८ जना सह–व्यवस्थापक, ९२ जना प्रशिक्षक, १० जनाको सचिवालय टिम, १४ जना इभेन्ट व्यवस्थापन टिम, १० जना सुरक्षा टिम, ३५ जना स्वयंसेवक टिमले मेलाको समन्वय तथा सञ्चालन गरिरहेका छन् ।

प्रशिक्षकहरू काठमाडौँ, बाँके, बर्दिया, कञ्चनपुर, बैतडी, डोटी, सुर्खेत, नुवाकोट, धादिङ, भक्तपुर, सिन्धुपाल्चोक तथा कैलालीबाट आएका छन् ।

सुदूरपश्चिमका नौ जिल्लाका ८८ स्थानीय तहबाट आवेदन दिएका ४ हजार आठ तीस जनामध्ये अन्तिम छनोटमा परेका १ हजार ४० जना युवा अहिले विभिन्न सिप सिकिरहेका छन् । तालिममा सहभागी हुनेमा ५७० जना पुरुष र ४७० जना महिला छन् । उनीहरू सुदूरपश्चिमका ३९ स्थानीय तहका हुन् ।

अछामको साँफेबगर नगरपालिका–४ का रोहित थापा ग्राफिक्स डिजाइन तालिममा सहभागी छन् । ‘निःशुल्क तालिम सिक्ने अवसर पाउँदा म निकै उत्साहित छु । बेरोजगार भएर घरमा बस्नुको साटो सिप सिकेर आत्मनिर्भर बन्ने आत्मबल प्राप्त भएको छ,’ उनले भने, ‘तालिमपछि प्राप्त हुने प्रमाणपत्रले जागिर खोज्न सजिलो बनाउनेछ ।’

डोटीकी सपना मलासी बारिस्टा तालिममा छन् । ‘बेरोजगारीको समस्यालाई सम्बोधन गर्न यस्ता सिपमूलक तालिम अत्यन्त प्रभावकारी हुन्छन्,’ उनले भनिन्, ‘तालिमपछि रोजगारीको अवसर पाइने आशाले झनै उत्साहित छु ।’

मेलाको अर्को मुख्य उद्देश्य भनेकै रोजगारी सिर्जना गर्नु हो । मेलापछि पाँच दिनको उद्यमशीलता तालिम तथा दुई दिने रोजगारदाता सम्मेलन गर्ने योजना छ । अहिलेसम्म विभिन्न रोजगारदाताले मेलामा ४६ जना सिपयुक्त कामदार आवश्यक परेको भन्दै आवेदन दिएका छन् ।

रोजगार विज्ञ मनोज कुमार सुनुवारका अनुसार मेलामा स्वरोजगार तथा रोजगारका लागि दुई खण्डमा कार्यक्रम सञ्चालन भइरहेको छ । प्रशिक्षार्थीहरूलाई रोजगारदाताहरूसँग प्रत्यक्ष संवाद गराएर अन्तर्वार्ताको अवसर प्रदान गरिने उनको भनाइ छ ।

सिप तथा रोजगार मेलाका लागि करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलाका विभिन्न पक्षहरू– तालिम व्यवस्थापन, प्रशिक्षकहरूको पारिश्रमिक, सामग्री खरिद, सचिवालय सञ्चालन, स्टल व्यवस्थापन, सुरक्षाका उपायहरू तथा प्रचारप्रसारको खर्चलाई ध्यानमा राख्दै यो बजेट अनुमान गरिएको हो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका अनुसार युवा बेरोजगारी र सिप अभावलाई सम्बोधन गर्दै नयाँ रोजगारी सिर्जना गर्ने यो पहल धनगढीका लागिमात्र होइन, सुदूरपश्चिमकै लागि महत्त्वपूर्ण छ ।’

धनगढीमा पहिलोपटक आयोजित यो व्यापक सिप तथा रोजगार मेला बेरोजगार तथा स्वरोजगार खोजिरहेका युवाहरूका लागि ठुलो अवसर बनेको स्थानीय बिनिता चौधरीको भनाइ छ ।

‘यस्ता कार्यक्रमहरूले युवाहरूलाई सक्षम र आत्मनिर्भर बनाउन टेवा पु¥याउने निश्चित छ । अबको चुनौती भनेकै तालिमपछि उनीहरूलाई दीर्घकालीन रूपमा रोजगार तथा व्यवसायिक अवसर प्रदान गर्नु हो,’ उनले भनिन् ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.