संघियता राम्राे हाे भन्ने बनाउन तिनै तहकाे सरकारले मिलेर काम गर्नुपर्ने: उपप्रधानमन्त्री सिंह
पञ्चदेवल बिनायक नगरपालिकाकाे प्रशासकीय भवनको उदघाटन

अछाम:

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले एकात्मक केन्द्रिकृत शासन व्यवस्था भन्दा संघियता राम्राे हाे भन्ने बनाउन तिनै तहकाे सरकारले मिलेर काम गर्नुपर्ने बताउनुभएकाे छ । साेमबार अछामकाे पञ्चदेवल गाउँपालिकाकाे प्रशासकीय भवनकाे उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले यस्ताे बताउनुभएकाे हाे ।

प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउन संविधानमा व्यवस्था भएअनुसार आवश्यक संघीय कानून चाँडाे भन्दा चाँडाे बनाउनेतर्फ सरकारकाे ध्यान रहेकाे पनि बताउनुभयाे ।
`आवश्यक संघीय कानून बनाएर संविधानकाे अनुसूचीमा व्यवस्था भएकाे अधिकार तिनै तहकाे सरकारलाई दिएर जनतालाई सहज सेवा प्रवाह दिएर केन्द्रीकृत एकात्मक शासन व्यवस्था भन्दा संघीयता राम्राे हाे भन्ने बनाउन सरकारकाे ध्यान केन्द्रीत छ,´ उहाँले भन्नुभयाे ।
उपप्रधानमन्त्री सिंहले देशमा राजनीतिक स्थायित्व विना आर्थिक, सामाजिक विकास नहुने भन्दै राजनीतिक स्थिरताकाे जगमा आर्थीक विकास र समृद्धिका लागि नेपाली कांग्रेस र एमालेसहितका दलहरू मिलाएर गठबन्धनको सरकार बनेकाे बताउनुभयाे । उहाँले प्रशासकीय भवन बनेसँगै अछाम पञ्चदेवलका नागरिकका लागि सेवा प्रवाहमा सहजता थपिने विश्वास व्यक्त गर्नुभयाे ।


