
अछामः

नेकपा एमाले अछामको ९ औँ जिल्ला अधिवेशन वैशाख १३ देखि १५ गतेसम्म सदरमुकाम मंगलसैनमा हुँदैछ । जसका लागि पार्टीले सबै वडाबाट प्रतिनिधिहरू छनोट गरिसकिएको छ । झण्डै ४०० बढि प्रतिनिधि सहभागी हुने अधिवेशनबाट पार्टीलाई नयाँ उर्जा सहितको नेतृत्व दिने अपेक्षा गरिएको छ ।
नेतृत्वका लागि जिल्लादेखि प्रदेश तहसम्मका नेताहरू सक्रिय भइसकेका छन् । हालसम्म ७ जना नेताले अध्यक्ष पदका लागि लबिङ गरिरहेका छन् । जसमा विद्यार्थी राजनीतिबाट आएका, स्थानीय स्तरमा खारिएका र पार्टीमा विभिन्न तहमा काम गरिसकेका नेताहरू समावेश छन् ।

हालका जिल्ला अध्यक्ष चन्द्र बोहरा पुनः नेतृत्व सम्हाल्ने रेसमा छन् । संकटको घडीमा पार्टीको बागडोर सम्हालेका बोहराले फेरि अध्यक्ष बन्ने इच्छा व्यक्त गरिरहेका छन् ।
पार्टी जिल्ला सचिव भीम रावल (कालोटोपी) पनि अध्यक्ष पदका लागि दाबेदार छन् । युवामाझ लोकप्रिय र सबैलाई समेटेर लैजान सक्ने क्षमता भएका रावलको नाम पनि चर्चामा छ । लामो समय अनेरास्ववियुको केन्द्रिय राजनीति गरेका रावल पछिल्ला वर्षहरुमा जिल्ला केन्द्रित राजनीतिमा सक्रिय नेता हुन ।
यसैगरि विद्यार्थी राजनीतिबाट आएका डिबी साउँद पनि अध्यक्ष पदका आकांक्षी हुन् । संगठनमा लोकप्रिय मानिने साउँदले केन्द्र र प्रदेशका नेताहरूबाट समेत अध्यक्ष बन्ने सल्लाह पाएको स्रोतको दाबी छ । उनले आफू सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरेका छन् । साउँद अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भइसकेका नेता हुन भने छोटो समय भएपनि पार्टीको जिल्ला सचिवको समेत जिम्मेवारी सम्हालिसकेका छन् । जनता र कार्यकर्ताको समस्यामा निरन्तर सक्रिय रहँदै आएका उनले चुनाव भए पनि जित्नेमा विश्वास व्यक्त गरेका छन् ।
यसैबीच, एमाले अछामको अध्यक्षका लागि पार्टीका पूर्व प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्याय, वम बहादुर विसी, हिरण्ड भट्टराई र पूर्व शिक्षक नेता तथा हाल पार्टीका जिल्ला कमिटी सदस्य तिलक कुँवरले पनि आकांक्षा देखाएका छन् ।


