आजदेखि यमपञ्चक अर्थात् तिहार सुरु

काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ। मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

Samajik New Add 2082

यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ। बुधबार बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ।

बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो। “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ। तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ। यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ।

यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ। कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ। बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ। यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको उनले सुनाए। यसै दिनदेखि नेपाल संवत् ११४२ सुरु हुन्छ।

Leave A Reply

Your email address will not be published.