
होम साउद, अछामः

मंगलसेन ३ कुटीमा शुक्रबार देखि शिव महापुराण महायज्ञ सुरु भएको छ । नरमदेश्वर शिवालय क्षेत्र विकास समितिको आयोजनामा बैशाख १९ देखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञको कलशयात्रा सहित बजार परिकर्मा गरि एक औपचारीक समारोहका विच समुदघाटन गरिएको हो ।
प्रमुख कथाबाचक पण्डित मदनराज उपाध्यायले पुराण कथाबाचन गर्ने महायज्ञको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले दिप प्रज्वलन सहित उदघाटन गर्नुभयो । उदघाटन समारोलाई सम्वोधन गर्दै बोहराले नरमदेश्वर शिवालय कुटीको खण्डहर क्षेत्रलाई धार्मीक एवं पर्यटकीय हिसावले विकास र संरक्षण गर्ने उदेश्य राखेर महायज्ञ आयोजना गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो । कुटी शिवालय क्षेत्रलाई धार्मीक आस्थाको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा उहाँको जोड थियो । साथै महायज्ञमा उपस्थित भई कथा श्रवण गरेर दैनीक व्यवहारिक जीवनमा लागु गर्न सके जीवन सफल हुने उहाँको भनाई छ ।
मुल आयोजक समिति संयोजक तेज बहादुर बिष्टको अध्यक्षतामा भएको उदघाटन समारोहमा नगर उपप्रमुख संगिता कुमारी रावल, नरमदेश्वर शिवालयका महन्त १०८ महाराज श्री धर्मानन्द गिरी, नेपाली काँग्रेसका महासमिति सदस्य पदमराज अधिकारी, नेकपा एमालेका जिल्ला सचिव हिरण्ड भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नगर सभापति दिपक साउद, सवै वडा अध्यक्षहरुको तर्फबाट वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालयका सञ्चालिका कविता दिदी लगयातले मन्तव्य राख्दै महायज्ञ सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

महायज्ञमा उपवाचकमा छायानाथ उपाध्याय रहनुभएको छ भने भजन गायक दिपेश अधिकारी सहितको साँस्कृतिक टोलि रहेको छ ।
मुल आयोजक समितिका आर्थिक उपसमिति संयोजक बृकेश सिंह बोगटीले स्वागत सहित उदेश्यमाथि प्रकाश पार्नुभएको उदघाटन समारोहको सञ्चालन मुल आयोजक समिति सचिव कर्ण बहादुर धामीले गर्नुभएको थियो ।
महायज्ञमा हरेक दिन बिहान ५ देखि ६ बजे सम्म योग ध्यान, ६ देखि ९ बजेसम्म पुजा, ९ देखि ११ बजेसम्म मुलपाठ, १२ देखि ४ बजेसम्म कथा प्रवचन, ४ देखि साढे ४ बजेसम्म आरती समापन र सन्धयाकालिन कथा प्रवचन साँझ ७ देखि १० बजेसम्म हुने कार्यतालिका रहेको छ । बैशाख २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा उपस्थित भई अमृतमय कथा श्रवण तथा सक्दो दान सहयोग गरि पुण्य प्राप्ती गर्नहुन सम्पूर्ण श्रदालु भक्तजनहरुमा मुल आयोजक समितिले अनुरोध गरेको छ ।




