
नर्मदेश्वर शिवालय क्षेत्र मंगलसेन ३ कुटीमा सञ्चालित शिव महापुराण महायज्ञको तेस्रो दिन आईतबार विभिन्न गतिविधिहरु भएका छन । महायज्ञको तेस्रो दिन दैनिक पुजापाठ लगायत दिवासत्रको कथावाचन संगै विभिन्न व्यक्तिहरुले दान सहयोग समेत गरेका छन ।

जसमा मङ्गलसेन नगरपालिका ३ निवासी समाजसेवी तथा पूर्व वडा अध्यक्ष पदम सिंह भाट र उनका भाई कालु सिंह भाटले शिवालय परिसरमा हवन कुण्ड निर्माण तथा नगद गरि कुल १ लाख दान सहयोग गरि सभानायक बन्नुभएको थियो । साथै तेस्रो दिन ५ हजार भन्दा बढी नगद दान गर्ने व्यक्तिहरु रंग भण्डारी, डम्मर बिष्ट, राजेशबाबु बोगटी र शिव बोगटीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । दानबिर दाताहरुलाई प्रमुख कथाबाचक पण्डीत मदनराज उपाध्याय र सभानायक पदम सिंह भाटले सम्मान गर्नुभएको थियो । यस्तै एकेन्द्र बहादुर बोगटीले आफ्नो जन्मदिनको अवसरमा ब्राह्मण भोजनका लागि २ हजार ५ सय सहयोग गर्नुभएको थियो ।

तेस्रो दिन कुल जम्मा १ लाख ६५ हजार ४ सय ८९ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको मुल आयोजक समितिका सचिव कर्ण बहादुर धामीले जानकारी दिनुभयो । ।
नरमदेश्वर शिवालय क्षेत्रमा नन्दी भैरव मन्दिर स्थापना, संरचना निर्माण र धार्मीक तथा पर्यटकीय विकास संगै नर्मदेश्वर शिवालय क्षेत्रलाई धामको रुपमा विकास गर्ने उदेश्यले सञ्चालित शिवपुराण महायज्ञमा उपस्थित भई अमृत रुपी कथा श्रवण गरिदिन र सक्दो दान सहयोग गरि पुण्य प्राप्ती गर्नहुन सम्पूर्ण श्रदालु भक्तजनहरुमा मुल आयोजक समितिले अनुरोध गरेको छ ।
महायज्ञमा हरेक दिन बिहान ५ देखि ६ बजे सम्म योग ध्यान, ६ देखि ९ बजेसम्म दैनिक पुजा, ९ देखि ११ बजेसम्म मुलपाठ, १२ देखि ४ बजेसम्म कथा प्रवचन, ४ देखि साढे ४ बजेसम्म आरती समापन र सन्धयाकालिन कथा प्रवचन साँझ ७ देखि १० बजेसम्म हुने कार्यतालिका रहेको छ ।
बैशाख १९ गते शुक्रबारबाट सुरु भई बैशाख २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथाबाचक पण्डित मदनराज उपाध्यायले पुराण वाचन गरिरहनुभएको छ ।

