अछाम:
अछामको मङ्गलसेन नगरपालिका–३ स्थित नर्मदेश्वर शिवालय क्षेत्र (कुटी) मा पहिलोपटक माघी मेला सम्पन्न भएको छ। नर्मदेश्वर धार्मिक वन उपभोक्ता समूहको आयोजनामा माघी पर्वको अवसरमा मेला आयोजना गरिएको हो।

मेलाका अवसरमा मन्दिरमा विशेष पूजापाठका साथै देउडा खेलको आयोजना गरिएको थियो। अछामका चर्चित देउडा कलाकारहरू अमना रोकाया, शारदा बोहरा, भोजराज भाट, टिका साउद, कलानसिंह बोगटी, पूर्ण भण्डारी बीच सम्पन्न देउडा कार्यक्रममा मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहरा, वडा नं ३ का अध्यक्ष बिर्खबहादुर बोगटी, वडा नं ४ का अध्यक्ष नामसिंह धामी लगायत स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नर्मदेश्वर शिवालय क्षेत्रको विकास, संरक्षण र प्रचारप्रसारलाई तीव्रता दिने उद्देश्यले अबदेखि हरेक वर्ष माघे संक्रान्तिको अवसरमा माघी मेला विशेष कार्यक्रमसहित नियमित पूजापाठ गरिने नर्मदेश्वर धार्मिक वन उपभोक्ता समूहका अध्यक्ष शिव बोगटीले जानकारी दिनुभयो।
उहाँका अनुसार यस प्रकारका कार्यक्रमले नर्मदेश्वर शिवालय क्षेत्रको ऐतिहासिक महत्व र पर्यटन सम्भावनाबारे व्यापक प्रचारप्रसार हुनुका साथै स्थानीय विकासमा समेत थप टेवा पुग्ने विश्वास लिइएको छ। आज सम्पन्न माघीमेला विशेष पूजाआराधना तथा देउडा कार्यक्रममा स्थानीय, समाजसेवी, बुद्धिजीवी, धार्मिक व्यक्तित्व र कलाप्रेमी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।