नगरपालिकाले गैसस संग सहकार्य गरि अघि बढ्न चाहेकोः नगरप्रमुख बोहरा
नगर स्तरिय बहुसरोकारवाला मंचको बैठक तथा प्रगति समिक्षा कार्यक्रम मंगलसेनमा सम्पन्न

बिक्रम परियार, अछाम ५ पौषः
मंगलसेन नगरपालिका स्तरिय बहुसरोकारवाला मंचको बैठक तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । मंचका संयोजक तथा नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका तथा नगरलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका संघसंस्थाहरुको कामकार्यको समिक्षा गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले नगरमा संचालित नगरपालिकाले ऐन कानूनको परिधिभित्र रहेर गैससहरु संग सहकार्य गर्दै अघि बढ्न चाहेको बताउनुभयो । गैरसरकारी संस्था मार्फत भएका कार्यहरुले समुदायमा जागरण फैलाउने र उपलब्धीमुलक रहेको उहाँको भनाई छ । गैरसरकारी संस्थाले साथ नदिए सरकारले संचालन गरेका जुनसुकै कार्यक्रम अधुरा रहने भएकाले गैसस र नगरपालिकाले हातमा हात मिलाएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नगरबाट भए गरेका काम कार्यको संक्षीप्त प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले पनि आ-आफ्नो कार्यक्षेत्रमा गरेका गतिविधिको जानकारी गराउनुभएको थियो । जसमा मालिका विकास संघका परियोजना संयोजक रतन बहादुर रावल, वाक नेपालका परियोजना संयोजक महाँदेव ओझा, यु एन एफ पी ए का कार्यक्रम संयजक आस्था रिजाल, दलित महिला संघका कार्यक्रम संयोजक लक्ष्मी सोप, मंगलसेन महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मनकला न्यौपाने र पीसविनका बृख रावलले आ-आफ्नो संस्थाबाट हालसम्म भए गरेका काम कार्यको जानकारी गराउनुभएको थियो ।

नगरपालिका र गैससहरुले प्रस्तुत गरेको प्रगती विवरणमा सहभागी सरोकारवालाहरुले समिक्षात्मक टिप्पणी तथा सुझाव समेत राखेका थिए । बैठक मार्फत नगर स्तरिय बहुसरोकारवाला मंचलाई नगरपालिका भित्र कार्यक्षेत्र रहेका सबै गैससहरुका कार्यक्रमको छलफल, विष्लेषण तथा अनुगमन गर्न सक्ने गरि साझा थलोका रुपमा विकास गर्न नगरपालिकाले कार्यविधि वनाई सोहि कार्यविधि वमोजिम अगाडि बढ्ने निर्णय गरिएको छ । यस्तै नगर क्षेत्रमा क्रियाशिल गैससहरुले नगरपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रममा आफ्नो बजेट तथा कार्यक्रम अनिवार्य समावेश गर्नुपर्ने र त्यसका लागि नगरपालिकासंग समन्वय गर्नुपर्ने निर्णय गरिएको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले बताउनुभयो ।
बैठकमा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र सोडारी, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नागरिक समाज संस्थाका पदाधिकारी, नगरका बिषयगत शाखाका प्रमुखहरु, पत्रकार समेतको सहभागीता रहेको थियो । मंगलसेन नगरपालिकाको आयोजना तथा मालिका विकास संघ, युरोपियन यूनियनको सहयोगमा भएको बैठक तथा समिक्षा कार्यक्रमको संचालन नगरपालिकाका एम. आई. एस. अपरेटर होम बहादुर साउदले गर्नुभएको थियो ।
