बालबालिकाका सवाल सम्बोधन गर्न मेल्लेखले बनायो रणनीतिक योजना
वडा नम्बर ३ ठाँटीलाई बाल मैत्री स्थानीय शासन वडा घोषणा गरिदै
लाल बहादुर चदाराः
अछामको मेल्लेख गाउँपालिकामा बालबालिकाका सवालहरुको सम्बोधन गर्नाका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरिएको छ । गाउँपालिकाले दुई दिने कार्यशाला गोष्ठी मार्फत पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरेको हो ।

कार्यशालामा बाल संरक्षण सम्बन्धि स्थानीय स्तरमा अवस्था विश्लेषण गर्दा देखा परेका बालबालिका सवालहरू सम्बोधन गर्नका लागि कार्य योजना सहित पञ्चवर्षीय बजेट सहित रणनीतिक योजना बनाइएको छ ।
कार्यशालामा सहभागी सरोकारवालाले अब आगामी दिन हरुमा बालबालिका सम्बन्धित काम गर्ने जुन सुकै निकाय तथा संघ संस्था हरुले यसलाई आधार मानेर काम गर्नु पर्ने बताएका छन् ।
यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटि लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने विषयमा पनि छलफल गरेको छ । पुस मसान्तसम्म घोषणा गर्नको लागि आवश्यक सबै सूचक हरू पूरा भए नभएको बारे अनुगमन गरिने गाउँपालिकाकाले जनाएको छ ।
बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि पूरा गर्नु पर्ने सम्पूर्ण सूचकहरू पूरा नभएका कुरा गाउँ पालिकाले अनुगमन गरिसके पछि जिल्ला समन्वय समिति लाई अनुगमन गर्नको लागि पत्र पठाउने र सम्पूर्ण सरोकारवाल, निकाय र पालिका स्तरका साझेदारी सङ्घसंस्था हरू समेतलाई कामको जिम्मेवारी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा बालविवाह छाउ प्रथा, सकारात्मक अभिभावकत्व लगायत मुख्य समस्या समाधानको लागि कार्यक्रम थप सञ्चालन गरिने भएको छ ।
बालबालिका हरू सङ्ग सम्बन्धित विभिन्न किसिमका नीति तथा कार्यविधि हरू निर्माण गर्ने समेत निर्णय गरेको छ । कार्यशाला मेल्लेख गाउँ पालिकाको बाल अधिकार समितिले आयोजना वर्ल्ड भिजन, इ नेपाल र आस्था नेपालको प्राविधिक सहयोगमा भएको हो ।
मेल्लेख गाउँ पालिका उपाध्यक्ष धन बहादुर साहीको अध्यक्षतामा सम्पन्न भएको कार्यशाला गोष्ठीको सहजीकरण आस्था नेपालका कार्यक्रम अधिकृत भीम बहादुर खत्री र फिल्ड अधिकृत भ्वान सिंह सार्कीले गर्नु भएको थियो ।
कार्यक्रममा मेल्लेख गाउँ पालिकाका सम्पूर्ण वडा अध्यक्षहरू, मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खडका, मेल्लेख गाउँ पालिकाकाका सम्पूर्ण विषयगत शाखा प्रमुखहरू, आस्था नेपालका सामाजिक परिचालक तित बहादुर विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन आस्था नेपालका सामाजिक परिचालक तपेन्द्र विकले गर्नु भएको थियो ।