कोरोना पोजेटिभलाई मंगलसेन नगरपालिकाले नगद अनुदान प्रदान गर्ने
जिल्लाको मंगलसेन नगरपालिकाले कोभिड १९ को प्रभाववाट रोजगारी र आयआर्जनको अवसर गुमाएका नगर भित्रका ब्यक्तिलाई नगद अनुदान प्रदान गर्ने भएको छ । अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अति बिपन्न गरिव परिवारलाई राहत स्वरूप एक पटकको लागि नगद १० हजार दश हजारका दरले नगर अनुदान प्रदान गरिने मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनु भयो ।

नगरपालिकाले सूचना प्रकाशित तथा प्रशारण गर्दै १५ दिन अर्थात माघ ५ गतेभित्र नगरपालिका कार्यालयमा विवरण सहित निबेदन पेश गर्न सुचना मार्फत भनिएको छ । निवेदन पेश गर्न नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वडा कार्यालयको विपन्न गरिव भएको व्यहोराको पत्र र कोभिड १९ संक्रमित भएको रिपोर्ट पेश गर्नुपर्ने भएको छ ।
त्यसैगरि नगद राहत प्राप्त गर्न योग्य लाभग्राहीले विगतमा गर्दै आएको रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत नपाएको, बेरोजगार भएको असङ्गठित क्षेत्रको मजदुर वा कामदार, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाइलो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, ऊठाता, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातको मजदुर, पर्यटक भरिया र कोमिड- १९ सङ्क्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारलाई विवरण सहित आवेदन पेश गर्न स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले बताउनु भयो ।
