अछाममा ५१ प्रतिशतलाई पूर्ण खोप लगाईयो, बुस्टर डोज पनि सुरु गरिने
अछाममा हालसम्म ५१ प्रतिशत नागरिकलाई पूर्ण खोप दिईएको छ । स्वास्थ्य कार्यालय अछामका अनुसार १८ बर्ष माथिका ५१ प्रतिशत नागरिकलाई कोरोना बिरुद्दको खोप दिइएको हो ।

गत माघ १४ गतेबाट कोरोना बिरुद्दको खोप अभियान सुरु भएको अछाम जिल्लामा हालसम्म करिब ९८ हजार नागरिकलाई खोप दिइएको स्वास्थ्य कार्यालय अछामका प्रमुख जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार कोरोना बिरुद्दको खोप अभियानमा १८ वर्ष भन्दा माथिका १ लाख ९१ हजार २ सय ७० जनालाई खोप लगाउने लक्ष्य दिइएकोमा हाल सम्म करिब ९८ हजारलाई खोप लगाइएको छ । यस्तै करिब ११ हजार नागरिकलाई पूर्ण खोप लगाउन बाँकी रहेको छ ।
कोरोना बिरुद्दको पहिलो खोप लगाएका तर दोस्रो खोप लगाउन नपाउँदै जिल्ला तथा देश बाहिर गएका करिब ११ हजार नागरिकलाई पूर्ण खोप दिन बाँकी रहेको ढुङ्गानाले उल्लेख गर्नुभयो । यस्तै १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई भने लक्ष भन्दा बढी खोप दिइएको बताइएको छ । ३२ हजार ८ सय ८७ जना विद्यार्थीलाई खोप दिने लक्ष्य लिएकोमा ३३ हजार ३ सय ३२ जनालाई खोप दिइएको हो ।
खोपको दुबै मात्रा पुरा गरि ६ महिना अवधि पार गरेको स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र सामाजिक सेवा प्रदान गर्ने व्यक्तिहरुलाइ बुस्टर डोज लगाउने समेत तयारी गरिएको छ । केहि दिन भित्र जिल्लामा खोप आइपुग्ने बताउँदै अधिकृत ढुङ्गानाले खोप आए पश्चात बुस्टर डोज लगाउन सुरु गर्ने जानकारी दिनुभयो ।
कोरोना नियन्त्रण तथा रोकथामका लागी खोप प्रभावकारी रहेकाले खोप कार्यक्रममा सहभागी हुन अधिकृत ढुङ्गानाले सवैमा अपिल समेत गर्नु भएको छ ।
-bannigadhitodya