ननिदाएका ति रातहरु (कविता)
- जे. बी. रावल

आँखाको जिन्दगीसँग लडियो,
मस्तिष्कसँग बाँझियो,
कल्पनासँग खेलियो,
बिहान झुलुक्कै भो,
फेरी आँउदा रातहरुमा निदाउने आशामा,
कैँयन दिन मासिए रातहरुको प्रतिक्षामा ।
ति रातहरुमा,
फेरी,
बतास आउँथ्यो, हुरी आउँथ्यो,
आँधी आउँथ्यो मनमा,
रातहरु यसरी नै विते,
दिनमा कर्म,
रातमा आराम कहलाँउथे शास्त्रमा,
तर आँखाले कहिल्यै परेली छोपेन र नानी ढाकेन ।
अविराम विचरण लोचनका ति निकठस्थी रातहरु,
केवल सुगन्धित फूलरुपी जीवनप्राप्तिका लागि दौडाएका,
तर,
फूल र विषवृक्ष कलमे भइदिएपछी,
नमीठो जीवनको ओराली उकाली,
निद र रातको यो अनन्त यात्रा,
कहाँ गएर टुङ्गिन्छ थाहा भएन
निद नआउने निरन्तरताले
स्मृतिलाई ब्यूझाँएको
ननिदाएका ति रातहरु ।