डोटीमा तीव्र गतिमा बन्दै १५ शय्याको अस्पताल

Samajik New Add 2082

डोटी: जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारको १८ करोडको लगानीमा उक्त अस्पताल निर्माण भइरहेको हो। यही वैशाख ८ गते टेण्डर आह्वान भई काम अगाडि बढाइएको उक्त अस्पतालको काम अहिले तीव्र रुपमा चलिरहेको छ। जिल्लामा कोरोना जोखिम केही कम भएको र निषेधाज्ञा पूर्ण रुपमा हटेसँगै उक्त अस्पताल निर्माणको कामले तीव्रता पाएको निर्माण कम्पनीले जनाएको छ।

अस्पताल सम्झौता मितिभित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडि बढेको निर्माण कम्पनीका सञ्चालक तेजबहादुर पालले बताउए। उनले भने, “भवन निर्माणका लागि चाहिने सामग्री सबै पाइएको छ, रोकावट केही छैन, हामी सम्झौतमा उल्लेखित मिति भित्र काम सक्छौँ।” वैशाखमा शिलन्याससँगै अस्पताल निर्माणको काम सुरु गरिएको भए पनि कोरोना महामारीले कामदार नपाउँदा कामले गति लिन सकेको थिएन्।

उक्त अस्पतालको अहिलेसम्म कम्तीमा पनि १५ प्रतिशत काम सम्पन्न भइसकेको शिखर नगरपालिका प्राविधिक शाखा प्रमुख लोकेन्द्र खड्काले बताए। उहाँले भन्नुभयो, “काम तीव्र गतिमा अगाडि बढेको छ, महिना दिनमै १५ प्रतिशत काम भएको छ, अब समयमै काम सम्पन्न हुनेछ।” उक्त अस्पतालको भवन दुई तलाको निर्माण गरिन लागेको हो। निर्माण कम्पनीसँग अस्पताल भवन दुई वर्षभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत पर्मानन्द शर्माले जानकारी दिए।

आधारभूत अस्पतालसँगै स्वास्थ्यकर्मी र कर्मचारीका लागि आवास गृह र अन्य संरचनाका लागि स्वास्थ्य मन्त्रालयसँग आह्वान गरिएको नगर स्वास्थ्य शाखा प्रमुख हरिष शाहले जानकारी दिए।

-dineshkhabar

Leave A Reply

Your email address will not be published.