बैतडीमा हत्या आरोपमा दुईजना पक्राउ

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई नियन्त्रणमा लिएको छ।

Samajik New Add 2082

सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आज घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। गत भदौ १० गते भीरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

विजयका बुवा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक नाथ, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराएका थिए।

किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा पक्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो। उक्त घटनामा संलग्न रहेको भनिएका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

युवा संघ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीहरूसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो।

घाइते युववको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो। लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयीसँग भएकाहरुले पनि अलग-अलग कुरा गर्न थालेपछि छोराको हत्या भएको मृतकका बुवा वीरसिंह भाटको दाबी रहेको छ । प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरि पक्राउ परेकामाथि र घटनाबारे अनुसन्धान गर्ने जनाएको छ।

-thahakhabar

Leave A Reply

Your email address will not be published.