
मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा यतिखेर काठमाण्डौमा व्यस्त हुनुहुन्छ । नगरपालिकाका विभिन्न विकास निर्माणका योजनाहरुको डेलिगेशन सहित नगर प्रमुख बोहरा सम्बन्धित मन्त्रालयमा धाईरहनु भएको छ । पालिकामा अहिले पनि महत्वपुर्ण योजनाहरु निर्माण नहुदा नागरिकहरुले सास्ती खेपीरहनु परेको भन्दै नगर भित्रका महत्वपुर्ण योजनाहरु निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता गर्नुपर्ने माग राख्दै मन्त्रालयमा धाईरहनु भएको उहाको सचिवालयले जनाएको छ ।

हालै मात्र नगर प्रमुख बोहरा सहितको टोली काठमाण्डौका ५ वटा मन्त्रालयमा पुगी यस नगरमा निर्माण गर्नुपर्ने योजनाहरुको विवरण सम्बन्धित मन्त्रालयमा बुझाएको नगर प्रमुख बोहराले रेडियो गाउँघर संग बताउनुभयो । टोलीले मंगलसेन नगरपालिकामा निर्माण भईरहेको मंगलसेन बृहत खेलमैदानको थप स्तरोन्नती गर्न युवा तथा खेलकुल मन्त्रालयमा मागपत्र बुझाएको छ भने शहरि विकास मन्त्रालयमा अछाम दरबार निर्माण, मंगलसेन बजारको सडक कालोपत्रे गर्न आवश्यक बजेटको माग गरिनुका साथै जनता सुरक्षित आवास निर्माणका लागि पनि बजेटको माग गरिएको नगर प्रमुख बोहराको भनाई छ ।


यस्तै टोलीले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयमा गत बर्ष आएको बाढिले नगरका वडा न १, २ र १३ को बस्तीमा सिचाई कुलाहरु भत्काएर ठुलो क्षति गरेकाले नहर निर्माणका लागि आवश्यक बजेट बिनियोजन गर्नुपर्ने, कैलाशखोला साना जलविधुत आयोजना पुन निर्माण गर्नुपर्ने, वडा न १३ को बाडा लगायत आमडाला, बणीघाटका लागि लिफ्ट सिचाई योजना निर्माणका लागि बजेट सुनिश्चितता गर्नुपर्ने माग गरेको छ । अहिले पनि मंगलसेन नगरपालिकाका केही वडाहरुमा प्रशासनिक भवन निर्माण नहुदा समस्या भईरहेकाले संघिय तथा समान्य प्रशासन मन्त्रालयमा वडा कार्यालय निर्माण, मंगलसेन सभाहल निर्माणका लागि पनि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने माग गरिएको नगर प्रमुख बोहराले बताउनुभयो ।
टोलीले गृह मन्त्रालयका गृह सचिवलाई भेटेर मंगलसेन नगरपालिका वडा न १३ बस्तीमा प्रहरीचौकी स्थापना गर्नुपर्ने माग समेत गरेको छ । मागपत्र बुझाएपछि सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरुले योजना निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएको नगर प्रमुख बोहराले बताउनुभयो । अझै केही दिन काठमाण्डौ मै रहने र बाकी मन्त्रालयमा पनि गएर अन्य विकास निर्माणका योजनाहरुको बारेमा मागपत्र बुझाउने कार्यक्रमको उहाको सचिवालयले जानकारी दिएको छ ।
मागपत्र बुझाउने कार्यक्रममा अछाम क्षेत्र न २ का प्रतिनिधि सभाका सदस्य पुस्प बहादुर शाह, पुर्व सांसद यज्ञ बहादुर बोगटी, नगर प्रमुख पदम बहादुर बोहरा, साफेबगर नगरपालिकाका निवर्तमान नगर प्रमुख कुल बहादुर कुवँर, युवा नेता सिद्ध प्रसाद ढुंगाना, देवीराम जैशी, मुक्तिनाथ बोहरा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
