
बुधबार रातिदेखिको अविरल वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमकार् पहाडी भेगमा पहिरोका कारण धेरैतिर सडक अवरुद्ध बनेको छ । अविरल वर्षाले तराईका जिल्ला कैलाली र कञ्चनपुरमा कतिपय बस्ती डुबानको जोखिममा छन् ।

सुदूरपश्चिमका ७ पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध बनेको प्रहरीले जनाएको छ। गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा पहिराले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । भीमदत्त राजमार्ग अन्तगर्त अमरगढी नगरपालिका–५ र सोही पालिकाको वडा नम्बर ६ मा पर्ने भालुमारेमा पनि पहिरो खसेको छ। डडेल्धुरा डोटी जोड्ने केआई सिंह राजमार्ग अन्तगर्त गन्यापधुरा गाउँपालिका–१ रडुवामा पनि पहिरो सडक अवरुद्ध छ ।

आलिताल गाउँपालिका–८ सुनखोलामा पहिरोले बुडर जोगबूढा सडकखण्ड पूर्ण रुपमा बन्द छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिकामा पर्ने भीमदत्त राजमार्ग सडकको ६ ठाउँमा पहिरो खसेको छ। जसले यातायातका साधन चल्न सकेका छैनन् । अझै पनि वर्षा नरोकिएको कारण पहिरो खस्ने तथा तराईमा जल सतहले सतर्कता तह पार गरिरहेकोले सजगता अपनाउन आग्रह गरिएको छ ।
श्रीमान–श्रीमती घाइते
डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा घाइते भएका छन् । अविरल वर्षापछि गएराति सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेको थियो । घाइतेमध्ये भागरथीको अवस्था गम्भीर रहेको छ । दुवै जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, डोटीको केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द स्थानीय गन्ने खोलामा बगेर बेपत्ता भएकी छिन् । शुक्रबार बिहान स्थानीय वाइल बजारमा दुध पु¥याउन जाने क्रममा बालिकालाई खोलाले बगाएको थियो । अहिले स्थानीयको सहयोगमा प्रहरीले बालिकाको खोजी गरिरहेको छ । -नेपालखबर

