रक्सीले मानिसलाई खाइरहेको हुन्छ, कसरी ?

नेपालका पत्र-पत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा ‘लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन्’ भन्ने भान पर्ने अन्तर्वार्ता छापिन्छ । रक्सीलाई मनमस्तिष्क तीव्र पार्ने वस्तु जस्तै देखाइन्छ । यसबाट पाठकलाई के भान पर्न जान्छ भने रक्सी खानु खासै नराम्रो होइन रहेछ ।

तर समयभन्दा अघि नै मृत्युको मुखमा गएका गायक नारायणगोपाल, कवि हरिभक्त कटुवाल आदिको रक्सी पिउने बानी र त्यसले जीवनमा परेको नराम्रो असर बारे प्रायः कोही बोल्न चाहँदैन । ‘पोलिटिकल्ली इन करेक्ट’ भइएला कि भनेर, त्यसमाथि पनि केही चिकित्सकहरूले दिनमा एक पेग रक्सी खानु त स्वास्थ्यको लागि फाइदै छ भनेपछि धेरै मानिसलाई अरू के चाहियो र ? यस्ता निहुँहरू पाएपछि युवा पिंढीमा हामीले रक्सी खाएर के नै पो नराम्रो हुन्छ र भन्ने मानसिकता निर्माण हुन्छ । तर वास्तवमा यसले कतिको जीवन, स्वास्थ्य, पैसा खराब गरिरहेको छ भनेर बुझ्न धेरै टाढा जानु पर्दैन ।

पाँच वर्षअघि भारतको एक सम्मेलनमा भाग लिन जाँदा एक, साँझको भोजमा एक डाक्टर बेहोश भए, उनलाई अस्पतालमा भर्ना गरियो । ४० वर्ष मात्र काटेका उनलाई कसरी मुटुको रोग लागेको होला भनेर छलफल गर्दागर्दै थाहा भयो उनी त अत्यधिक रक्सी पिएर बेहोश भएका रहेछन् । उनी नेपाल फर्केर अति रक्सी खाने बानी छुटाउन रक्सी छुटाउने केन्द्रमा बसे । १५ दिनपछि उनले त्यहीं आत्महत्या गरे ।

एक डाक्टरले यसरी आत्महत्या गरेपछि मैले विचार गरेकी थिएँ कि सायद डाक्टर साथीहरूले यस विषयमा सामूहिक छलफल गर्नुहुनेछ । तर कतै पनि केही छलफल भएन । उनका चिने-जानेका साथीहरूबाट पनि ‘उनी डिप्रेसनबाट पीडित थिए कि ?’ अथवा ‘रक्सी खाने बानी छुटाउने केन्द्रमा बस्दा रक्सी खान नपाएर आत्महत्या गरेका हुन् कि ?’ यसको बारेमा चर्चा-परिचर्चा भएन ।

मानसिक रोग विशेषज्ञ भन्छन्, ‘मानिसहरू डिप्रेसन भएपछि पनि बढी रक्सी खान्छन् र समस्या झन् जेलिंदै जान्छ ।’ यदि डिप्रेसन भएर मानिसहरूले त्यसरी धेरै रक्सी खाए भने त्यसको उपचार हुनुपर्छ । रक्सी छुटाउने केन्द्रमा सायद ती डाक्टरको उपचार चाहिं भएन केवल रक्सी मात्र टाढा राखियो र त्यो सहन नसकेर उनले आत्महत्या गरेको हुन सक्छ कि ? एक डाक्टर आफै‌ं डिप्रेसनबाट पीडित भएका हुन् भने किन उपचार नगरेका होलान् भन्ने प्रश्न पनि उठ्छ । तर सायद रक्सी खाने बानीले उनको रोगलाई छोपिदिएको थियो कि ?

केही समय मानिसले रक्सी खान्छ तर पछि रक्सीले मानिसलाई खान्छ । जीवन रक्सीलाई अर्पण गर्ने कि जिउने यो प्रत्येक व्यक्तिको हातमा छ ।

विराटनगरको घटना मलाई एक जना व्यक्तिले सुनाएका थिए । विवरण यस्तो छ- नेपालका एक प्रसिद्ध कवि आफ्नो रक्सी खाने बानीले गर्दा श्रोतालाई कविता सुनाउन मञ्चमा बसेका बेला निदाएका थिए । प्रसिद्ध कविको कविता सुन्न श्रोताहरू लालायित थिए । तर कवि अघिल्लो राति बेस्सरी रक्सी खाएर मातेर बान्ता गरी ढिलो सुतेका रहेछन् । बिहानपख जबर्जस्ती उठाएर उनलाई कवि गोष्ठीमा त ल्याइयो तर गोष्ठीमा बसेपछि अरू कविले कविता सुनाउँदा सुनाउँदै उनी सोफामा नै लमतन्न सुतेर घुर्न थाले । उनले कसरी कविता भन्नु ? उनलाई उठाएर पुनः होटलमा नै लैजानु पर्‍यो । उनी सुती नै रहे । ती कवि नेपालमा प्रसिद्ध छन् । मानिस पनि भलाद्मी नै छन् । रक्सी खाएपछि उनको कविपन नै हराउँदो रहेछ ।

Everest Incitute

भारतका प्रसिद्ध सिने कलाकार गुरुदत्त पनि असाध्य रक्सी पिउँथे । वहिदा रहमानसँग उनको प्रेम प्रसंग गाँसिन नसकेपछि उनले रक्सी पिउन थालेको कुरा हामी सानो छँदा सुन्थ्यौं । सिने पत्रिकामा पढ्थ्यौं पछि उनले पनि आत्महत्या गरे । सानो हँुदा त केही लाग्दैनथ्यो तर अहिले लाग्छ कतै उनी पनि डिप्रेसनको शिकार थिए कि ? वा रक्सी खाएर उनलाई डिप्रेसन भएको थियो कि ?

फिल्मी प्रेम प्रसंगमा सफल नभएपछि रक्सी खाएको देख्दा लाग्छ मानौं रक्सी पिउनु खासै नराम्रो कुरा होइन । कतै दुःख परे पनि वा खुसी भए पनि रक्सी पिउने प्रचलन देखाउँदा यस्तो लाग्छ मानौं रक्सी नभए त जीवन नै चल्दैन ।

मानसिक रोग विशेषज्ञ नै रक्सीको बारेमा भन्छन् कि, ‘सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिले लाभदायक छैन, मात्र हानिकारक छ । कवि, कलाकार, राजनीतिज्ञलगायत सर्वसाधारणलाई रक्सीले असर पारेको छ र अझ कति व्यक्ति र परिवारलाई यसले बेहाल बनाएको छ ।

कतिलाई त रक्सीले यौनशक्ति बढाउँछ भन्ने भ्रम पनि हुन्छ । रक्सीले शारीरिक र मानसिक क्रियालाई दबाउँछ । संवेदनशील मानसिक क्रिया आत्ममूल्यांकन, सक्रियता र संयम पनि दबिन्छ र परिणामस्वरुप विवेकद्वारा नियन्त्रित बानीको सट्टा उत्तेजना, आक्रामक स्वभाव, उत्ताउलोपन माथि आउँछन् र रक्सी खाएर लागेको व्यक्तिले लाज, डर वा खतरा महसुस नगर्ने हुन्छन् ।’

पुरुष वा महिला रक्सीको कुलतमा फसेपछि परिवार कसरी नष्ट हुन्छ भन्ने मैले धेरै देखेकी छु । रक्सी खाने मानिसले गर्दा पाएको दुःख देखेर त्यो मानिस त छिटै मरिदिए पनि हुन्थ्यो भन्ने पनि परिवारका मानिसको चाहना हुन्छ ।

रक्सीले थाकेको बेला शरीरलाई आराम दिन्छ र थकान मेटाउँछ भन्ने भ्रम धेरैलाई छ । त्यसैले लामो दूरीका बसमा चालकले रक्सी नखाए त जीउ दुखिहाल्छ नि चलाउनै सकिंदैन भनेर रक्सी खाएर बस चलाउँदा दुर्घटना भएका कैयौं घटना छन् ।

मधुमेहबाट पीडित एक जना सरकारी कर्मचारी धेरै रक्सी खाएर एकचोटि बेहोश नै भएछन् । अस्पतालमा लगेर उनलाई उपचार गराउँदा अति नाजुक अवस्थामा पुगिसकेका थिए । अत्याधुनिक प्रविधि प्रयोग गरेर उनलाई बचाउने र भेन्टिलेटरमा राख्ने कि भनेर डाक्टरहरूले परिवारलाई सोध्दा जवाफ पाइयो- ‘उनी बाँचेर हामीलाई खासै फाइदा छैन । उनलाई पनि आफ्नो जिन्दगीसँग मोह छैन, त्यसैले भेन्टिलेटरमा राखेर पैसा खर्च गर्नुको कुनै औचित्य छैन ।’ भोलिपल्ट उनको मृत्यु भयो । परिवारका सदस्यले मृत्युपछिको सबै संस्कार गरे ।

रक्सी खाएर अति योग्य कलाकारहरूले सम्पूर्ण जीवन नष्ट पारेका घटना छताछुल्ल छन् । छारेरोग लागेको मानिसले रक्सी खाएर बेहोश भएर जीवन नै सिध्याएका घटना गाउँघरमा प्रशस्तै पाइन्छन् । केही समय मानिसले रक्सी खान्छ तर पछि रक्सीले मानिसलाई खान्छ । जीवन रक्सीलाई अर्पण गर्ने कि जिउने यो प्रत्येक व्यक्तिको हातमा छ ।

-Onlinekhabar बाट

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.