
अछाम : तुर्माखाँद गाउँपालिकाले वडा नम्बर ५ का पहिरो पीडितलाई राहत रकम दिएको छ । गाउँपालिकाका अध्यक्ष डम्बर बिसी आफैँ पहिरोग्रस्त क्षेत्र वडा नम्बर ५ को काडा पुगेर पीडितलाई राहत रकम उपलब्ध गराएका हुन् ।

गाउँपालिकाले पहिरोमा परेर ज्यान गुमाएका ९ जनाका परिवारलाई प्रतिपरिवार ५० हजारका दरले रकम उपलब्ध गराएको छ । साथै किरिया खर्चस्वरूप २५ हजारका दरले गरी पाँच लाख २५ हजार रुपैयाँ स्थानीय सरकारकातर्फबाट सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष बिसीले जानकारी दिए ।


उनका अनुसार घटनास्थल काडामा रहेका दुईवटा घर पूर्णरूपले क्षतिग्रस्त भएका छन् । अन्य १० वटा घरहरू पहिरोको उच्च जोखिममा रहेकाले बस्ती नै सार्नुपर्ने अवस्था छ । अध्यक्ष बिसीले सहयोगका लागि प्रदेश सरकार, संघ सरकारसहित पक्षसँग आग्रह गरेका छन् ।
“घटनास्थलसम्म सडक पूर्ण रूपमा बन्द छ । खानेपानीका मुहान र पाइप लाइनहरू नष्ट भएका छन् । खेतीयोग्य जमिन नष्ट भएको छ । कैयौँ पशुचौपाया मरेका छन् । सहयोगका लागि संघीय सरकार, प्रदेश सरकार र विभिन्न सहयोगी संघ संस्थासँग आग्रह गर्दछ,” उनले भनेका छन् ।
भदौ ३१ गते राति माथिबाट आएको पहिरोका कारण तुर्माखाँद ५ काडाका ९ जनाले ज्यान गुमाएका थिए । तुर्माखाँदमा अन्य वडामा पहिरोले क्षति पुर्याएको छ ।
