शिवराज ढुंगाना : बाढी र पहिरोबाट पीडित १ सय ४३ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटीले अछाम शाखाले नगद राहत वितरण गरिएको छ । बाढी र पहिरोबाट पीडित भएका कमलबजार नगरपालिकाका विभिन्न वडाका ६० र तुर्माखाँद गाउँपालिकाका ८३ घरपरिवारलाई सम्बन्धित स्थानमा पुगेर राहत वितरण गरिएको हो ।
कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले रेडक्रसले निष्पक्ष भएर राज्यका निकायलाई सहयोग गर्दै आइरहेको भन्दै विपदमा बेलामा पीडितलाई सहयोग गरेर पीडामा मल्हम लाएको भनाइ राख्नुभयो । उहाँले कमलबजार नगरपालिकाको भएको विपदको क्षेत्रमा ठूलो काम गर्न आवश्यक भएकोले यसका लागि रेडक्रसले आगामी दिनमा सहयोगका लागि अनुरोध गर्नुभयो ।
तुर्माखाँद गाउँपालिकामा राहत वितरणका क्रममा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिसीले विपदका बेलामा रेडक्रसले यसअघि अस्थायी बासका लागि सामग्री र हाल नगद रकम उपलब्ध गराएको पीडित पक्षबाट धन्यवाद दिनुभयो । गाउँपालिकामा पहिरो र बाढीबाट धेरै क्षति भएर विस्थापित भएको भन्दै रेडक्रसले आवश्यक रहेकोको लागि अनुरोध गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुंगानाले विपदमा परेका व्यक्तिहरुलाई चाडपर्वको बेलामा खाद्यन्नमा सहयोग हुने उद्धेश्यले प्रतिपरिवारमा राहत रकम वितरण गरिएको भनाइ राख्नुभयो । नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयको सहयोगमा विपदबाट पीडितलाई केही राहत रकम हस्तान्तरण गरिएको रेडक्रस अछामका मन्त्री ध्र्रुवकुमार शाहीले जानकारी दिनुभयो ।
राहत वितरणका कमलबजार नगरपालिकामा प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख शारदा विष्ट, वडा अध्यक्ष र वडा सदस्यलगायतको सहभागिता रहेको छ । यस्तै तुर्माखाँद गाउँपालिकामा अध्यक्ष डम्बरबहादुर बिसी, उपाध्यक्ष बिमलाकुमारी शाही, वडा, अध्यक्ष, वडा सदस्य र स्थानीय अगुवाको सहभागीता रहेको थियो ।
राहत वितरणका क्रममा नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुंगाना, मन्त्री ध्रुवकुमार शाही, रेडक्रस केन्द्रिय कार्यालयका बरिष्ठ अधिकृत उमेश ढुंगाना, रेडक्रस मंगलसेन शाखाका सचिव धनकुमार केसीलगायतको सहभागिता रहेको थियो । वडामा संकलन र छनौट गरेर सम्बन्धित स्थानीय तहले रेडक्रसलाई उपलब्ध गराएको नामावली अनुसार राहत वितरण गरिएको बताइएको छ ।