जहाँ प्रचण्ड-बाबुरामको पुनः भिडन्त हुनसक्छ

काठमाडौंः

लामो समयको प्रेम-घृणाको सम्बन्धलाई पटाक्षेप गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई पुनः सँगसँगै उभिएका छन् । यस्तो लाग्छ, यी दुई नेताले पुनः एकपटक ‘चुनवाङ बैठक’ बसेका छन् र एकले अर्कोमा ‘विलय’ गरेका छन् ।

स्मरणीय छ, भारतपरस्त र राजापरस्तको आरोप लगाउँदै जुहारी खेलिरहेका प्रचण्ड-बाबुराम चुनवाङ बैठकमा एकताबद्ध भएका थिए । सोही बैठकबाट तत्कालीन माओवादीले अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधान सभा निर्वाचनको नीति अगाडि सारेको थियो ।

यही समझदारी र एकताको बलमा पहिलो संविधानसभाबाट माओवादी मुलुककै सबैभन्दा ठूलो शक्ति बने पनि माओवादीको पालुङटार प्लेनमले चुनवाङ बैठकका निर्णयलाई चुनौती दिँदै विद्रोहको लाइन लिएको थियो । पार्टीभित्र लाइन फरक परेपछि त्यतिबेलैबाट बिजारोपण भएको प्रचण्ड-बाबुराम झगडा अन्ततः राजनीतिक डिभोर्समा गएर टुंगिएको थियो ।

देउवाको आग्रह उद्धृत गर्दै बाबुरामले निकटस्थसँग भन्ने गरेका छन्, ‘प्रधानमन्त्री देउवाजीले नै तपाईं संसदमा चाहिन्छ, तपाईंलाई के कुनै दलको कोटा चाहियो र हाम्रै भागबाट भने पनि उठ्नुस् ।’ गत निर्वाचनमा भन्दा यसपटक उनलाई गोरखाबाट जित निकाल्न पनि निकै सहज थियो । यसरी तमाम अनुकूलताका बीचमा पनि उनले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडे ।

आरोप-प्रत्यारोप र खिसीटिउरीका श्रृङ्खला पार गरेर आएका नेताहरूले सार्वजनिक मञ्चबाट एकले अर्को अतिशयोक्तिपूर्ण प्रशंसा मात्रै गरिरहेका छैनन्, पत्यारै नलाग्ने ‘त्याग’ पनि गरिरहेका छन् ।

बाबुरामले प्रचण्डलाई गोरखा-२ छाडिदिएका छन् जहाँबाट उनी पटकपटक अत्यधिक मतसहित विजयी हुँदै आएका थिए । गत हप्ता गोरखाको निर्वाचन कार्यालयमा प्रचण्डको उम्मेदवारी मनोनयन गरिरहँदा प्रस्तावक बसेका बाबुरामले हस्ताक्षर गर्दै थिए । सँगसँगै रहेका प्रचण्ड आफ्नै शैलीमा खित्खिताउँदै भन्दै थिए, ‘यस्तो दिन पनि आउँदो रहेछ ।’
गोरखामा प्रचण्ड, बाबुराम र नारायणकाजी ।

आफ्नो उम्मेदवारी मनोनयन दर्ता भइसकेपछि गोरखामा सँगै रहेका बाबुरामसँग प्रचण्डले सोधे, ‘साँच्ची मानुषीको मनोनयन के भयो ?’ प्रचण्डले मानुषीको उम्मेदवारीबारे गरेको चिन्ता अनौठो थियो ।

यहीबीचमा ‘पहिलो संविधानसभामा मैले ल्याएको सर्वाधिक मतको रेकर्डलाई यसपटक प्रचण्डले तोड्ने’ भन्दै बाबुराम प्रतिक्रिया दिइरहेका भेटिए । उम्मेदवारी दर्ता भएपछि उनले सामाजिक सञ्जालबाटै प्रचण्डलाई गोरखामा अन्तरहृदयदेखि स्वागत पनि गरे ।

कृतघ्न सम्बन्धको गोलचक्‍कर काटेर आएका नेताद्वयको सम्बन्ध सुदामा-कृष्णझै कृतज्ञ जस्तो देखिने गरी यसबीचमा के भए ? यसलाई उधिन्न अलिकति इतिहास कोट्याउनुपर्छ ।

सम्बन्धविच्छेदको त्यो क्षण

डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गर्नुअघि उक्त पार्टीभित्र नेतृत्व परिवर्तनको छलफल चलिरहेको थियो । तत्काल नेतृत्व परिवर्तन गर्ने कि नगर्ने भन्नेमा प्रचण्ड दुविधामा थिए । यद्यपि, नेतृत्व छाड्न पर्दा डा. भट्टराईलाई अध्यक्ष र वर्षमान पुनलाई महासचिव बनाउने उनको तयारी थियो ।

यही दुविधा र लामो समयको सार्वजनिक आरोप-प्रत्यारोपबीच अन्ततः प्रचण्डले नेतृत्व हस्तान्तरण नगर्ने निधो गरे । उनले भट्टराईलाई निजी निवास लाजिम्पाट बोलाएर भने, ‘सके सँगै जाऔं, फुट्ने भए सल्लाह गरेर फुटौं ।’ तर अहिले नै नेतृत्व हस्तान्तरण नगरौं ।’ यसो भनिरहँदा प्रचण्डलाई भट्टराईले यतिछिटो पार्टी नै छाडेर हिँडिहाल्लान् भन्ने लागेको थिएन ।

अध्यक्ष बन्ने महत्वाकांक्षा राखेका भट्टराईलाई प्रचण्डको वचन बिझ्यो । यसबीचमा उनले माओवादीभित्रै बसेर यसलाई रुपान्तरण गर्न सक्छु भन्ने आत्मविश्वास पनि गुमाउँदै गएका थिए । अन्ततः ‘अब प्रचण्डसँग लत्रिएर बस्दिनँ’ भन्दै डा. भट्टराईले ९ असोज २०७२ मा आफैंले चार दशक बढी जीवनको ऊर्जा खर्चिएर बनाएको पार्टी परित्याग गरे ।

बाबुरामसँगै जान सक्ने जोखिम बढेपछि बर्षमान पुनलाई रोक्न प्रचण्डले उनकी पत्नी ओनसरी घर्तीलाई सभामुखको उम्मेदवार बनाइदिए । २९ असोज २०७२ मा घर्ती ३८ वर्षको उमेरमै सभामुख निर्वाचित पनि भइन् ।

बाबुरामले सल्लाह नै नगरी यति ठूलो निर्णय लिएपछि उनको समूहका नेता टोपबहादुर रायमाझी, राम कार्की, प्रभु साह, हेमराज भण्डारी लगायतले साथ दिएनन् । सँगसँगै बर्षमान लगायतलाई रोकेर प्रचण्डले तत्कालको ‘ड्यामेज कन्ट्रोल’ गरे । यद्यपि प्रचण्डको प्रयासका बावजुद पनि देवेन्द्र पौडेल लगायतका केही नेता भट्टराईसँगै नयाँ शक्तिमा गए, भलै उनीहरू भट्टराईलाई छाडेर विस्तारै पुरानै घर फर्किए ।

नयाँ शक्तिले गति नलिएपछि विस्तारै केही पूर्वमाओवादी नेताहरूले प्रचण्ड भेट्न थाले । त्यतिबेला उनी भन्ने गर्थे, ‘मलाई बाबुराम, विप्लव र किरण चाहियो । ‘बाबुरामजीलाई अलि लाज लाग्छ, कत्ति लाज नमाने हुन्छ । म पनि पूर्वाग्रह राख्दिनँ ।’

प्रचण्ड आफूलाई बम हान्ने बादललाई गृहमन्त्री बनाएकोदेखि पार्टी छाडेर गएका मात्रिका यादवलाई मन्त्री बनाएको उदाहरण देखाउँदै घर फर्किएका नेताहरूसँग पूर्वाग्रह नराख्ने विश्वास दिलाउने गर्थे । र, बाबुरामबारे उनी भनिरहन्थे, ‘गइहाल्लान् भन्ने लागेको थिएन, बेकार किन भनेछु ।’

अस्पतालको त्यो संवाद

२० साउन २०७४ मा भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा भट्टराईले मूत्रथैलीको शल्यक्रिया गराए । २८ साउनमा भट्टराईलाई भेट्न अस्पताल पुगेका प्रचण्डले पूर्वमाओवादीबीच एकताबारे छलफल गरे ।

‘जाने त्यतै (समाजवाद) हो, तर तपाईं अलि हतार गर्नुहुन्छ, आँप काँचै खाए अमिलो हुन्छ,’ उनले बाबुरामलाई भने, ‘राजनीतिमा एक्लै दौडिएर हुँदैन, समाजलाई पनि सँगसँगै अगाडि लैजानुपर्छ ।’

पार्टीले समानुपातिकतर्फ पाएको १४ लाख मतलाई बेवास्ता गर्दै माओवादी ब्रान्ड त्याग्न नहुने प्रचण्डको मत थियो । यद्यपि, पछि नेकपा एमालेसँग एकता गर्दा प्रचण्ड उक्त ब्रान्ड त्याग्न तयार भए । तर, अदालतको निर्णयसँगै उनले उक्त ब्रान्ड बोकिरहेका छन् ।

शल्यक्रियापछि भट्टराईको शारीरिक स्वास्थ्य त तंग्रिन थाल्यो तर राजनीतिक स्वास्थ्य थप कमजोर बन्न थाल्यो । रातारात केही भइहाल्छ भन्दै अवसर खोजेर आएका माओवादीहरूले उनको साथ छोड्न थाले । गैरराजनीतिक क्षेत्रबाट आएकाहरू त लाखापाखा लागिसकेका थिए ।

‘अब बाबुराम सक्किने’ २ भदौ २०७४ मा देवेन्द्र पौडेलसहित नयाँ शक्ति छाडेर माओवादी फर्कन लागेका १५ नेताको समूहले लाजिम्पाट पुगेर एकाबिहानै प्रचण्डलाई भेटे । पौडेल लगायतका नेता छक्क पार्दै प्रचण्डले भने, ‘बाबुरामजी देशलाई चाहिने नेता हो, उहाँलाई यति साह्रो कमजोर देखाउने काम नगर्नोस् ।’ उनले केन्द्रका नेता आए पनि जिल्ला संयोजकलाई नल्याउन भनेका थिए ।

कमजोर भएपछि एकअर्काको खोजी

प्रचण्ड र बाबुराम दुवै नेतासँग लामो सहकार्य गरेका र हालसालै माओवादी केन्द्र छाडेका युवा नेता हेमराज भण्डारी ढिलो गरी दुवै नेताले गल्ती महसुस गरेको बताउँछन् । ‘छरिएर बेवारिस हुनुभन्दा एकैठाउँमा बसेर समीक्षा गर्दै अगाडि जाऔं भन्ने समझदारी बनाएको बुझिन्छ’ उनी भन्छन्, ‘यसरी नयाँ ठाउँमा पुग्न सकिंदैन भन्ने अनुभूति भएको हुनसक्छ ।’

चुनावको बेला प्रचण्ड अलि आत्तिएको र बाबुरामका पनि विकल्पहरू सकिएकाले उनीहरूले सम्झौता गरेको नेता भण्डारीको बुझाइ छ । ‘समयले कसैलाई कुर्दैन, अवसर हुँदा एक्लैएक्लै मच्चिएर आफ्नो भूमिका निभाएनन्, अब धेरै ढिलो भइसकेको छ,’ उनले भने ।

पछिल्ला कार्यक्रमहरूमा प्रचण्डले दुवै पक्षको प्रयास सफल नभएको स्वीकार्ने गरेका छन् । ‘मैले ठूलो शक्तिलाई रुपान्तरण गर्ने गरी एमालेसँग एकता गरेँ, सफल हुन सकिनँ, बाबुरामजीको विलकुलै नयाँ जम्मा गरेर शक्ति बनाउने प्रयास पनि असफल भयो,’ उनले भन्ने गरेका छन् ।

नेताद्वयसँग लामो सहकार्य गरेका अर्का नेता खिमलाल देवकोटा प्रचण्ड र बाबुरामको सहकार्यलाई आवश्यकता र आकस्मिकताको संयोजन मान्छन् । ‘ढिलोचाँडो सबैले महसुस गरेर एक ठाउँमा आउनुपर्ने थियो, अहिले चुनावी आवश्यकता र नेताद्वयले विगतका गल्ती एकै समय स्वीकार्ने एउटा आकस्मिकता पनि पैदा भयो’, उनले भने, ‘यो धेरै परसम्म जानसक्ने गरी भएको एकता हो ।’

Everest Incitute

समाजवादी केन्द्रको सपना

प्रचण्डको जापान यात्रा आसपाससम्म बाबुरामसँगको संवाद नतिजा उन्मुख बनिसकेको थिएन । जनार्दन शर्माको पहलमा भएका केही भेटघाटहरू सकरात्मक ढंगले अगाडि बढेका थिए । तर प्रचण्ड माओवादी छोड्न नमान्ने, बाबुराम कम्युनिष्ट बन्न नमान्ने । वार्ताकारहरू बडो मुश्किलमा थिए ।

जसपामा केही नेताहरूको उक्साहटमा पार्टी फुटाउने निर्णयमा पुगेका बाबुरामले अन्तिममा धोका पाए । उपेन्द्र यादवले उनीहरूलाई हाताहाती मन्त्री बनाइदिए भने कतिलाई उधारै आश्वासनमा रोकिदिए ।

यसबीचमा उनी आफूलाई साथ दिएका केही पूर्वमाओवादीलाई माओवादीको दैलोसम्म पुर्‍याइदिएर आफू सक्रिय राजनीतिबाट विदा हुने र वैकल्पिक राजनीतिक अभियानमा लागेका युवाहरूलाई साथ दिने कि भन्ने मुडमा पनि थिए । यसो गर्न उनलाई वैकल्पिक राजनीतिक रुझान राख्ने डम्बर खतिवडा, प्रशान्त सिंह र मदन राई लगायतको दबाव पनि थियो ।

जब जापानबाट फर्किएका प्रचण्ड अलि बढी खुलेर संवादमा आए, उनी माओवाद छाड्न तयार भए । यद्यपि, कम्युनिष्ट जनमतको मैदान केपी ओलीलाई छाड्न नहुने उनको अडान छ । अन्ततः नेताहरूबीच चुनावपछि नेकपा (समाजवादी केन्द्र) बनाउने सहमति भयो । ‘प्रचण्ड निवास खुमलटारमा नेताद्वयले गरेको अंकमाल र व्यक्त गरेको खुसी चुनवाङ बैठकको भन्दा कम थिएन,’ त्यहाँ उपस्थित एक नेताले भने ।

उक्त केन्द्रमा नेकपा एकीकृत समाजवादी पनि अटाउनेगरी त्रिपक्षीय संवादहरू पनि भए । एकीकृत समाजवादीले पनि यसबारे छलफल गर्न समिति नै बनाएको छ ।

‘एमालेभित्र केपी ओलीपछि विद्या भण्डारीले पार्टी नेतृत्व गर्ने गरी पनि तयारी भइरहेको छ, टिकट वितरणमा भण्डारीको अहिलेको सक्रियताले पनि त्यही भन्छ’, एक माओवादी नेताले भने, ‘एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर भइरहँदा पूर्वमाओवादीदेखि अन्य असन्तुष्टहरू पनि समाजवादी केन्द्रमै ध्रुवीकृत हुने हाम्रो विश्वास छ ।’

आन्तरिक कलहले वाक्क दिक्क प्रचण्ड

भदौ तेस्रो साता सुर्खेत पुगेर प्रचण्डले भने, ‘नराम्रो पार्टी, जनतालाई ठग्ने, व्यक्तिगत स्वार्थ मात्रै पूर्ति गर्न खोज्ने, गुटबन्दीमा मात्रैमा रमाउने, पार्टी होइन गुट बनाउने, स्वार्थ समूह बनाउने, गिरोह बनाउनेतिर नै लाग्ने हो हामी पनि भने किन चाहियो यो माओवादी पार्टी ? किन चाहियो ?’

उनले कार्ल मार्क्सको भनाई उल्लेख गर्दै भने, ‘मार्क्सले भन्नुहुन्थ्यो- यो अवसरवादीहरूको खेलौना हुने पार्टी चल्नुभन्दा यसलाई फालिदिएपछि बरु जनतालाई अलि सुख हुन्छ । जनतालाई अलिकति भए पनि धेरै ठग्न पाउँदैनन् । संस्थागत ठगी, संस्थागत रूपले ठग्ने भन्दा त … ।’ प्रचण्डको उक्त अभिव्यक्तिले पार्टीभित्र कस्तो कलह चलिरहेको छ स्पष्ट हुन्छ ।

२२ भदौमा सार्वजनिक मञ्चमै प्रचण्ड र जनार्दन शर्माबीच नोकझोंक चल्यो । वर्षमान पुन र शर्माबीच महासचिव बन्न भएको संघर्ष र गुटगत अभ्यासले प्रचण्ड वाक्कदिक्क देखिन्छन् । अर्को चुनावपछि प्रधानमन्त्री बन्ने अनुकूलता मिले पार्टीको काम कसलाई जिम्मा लगाउने ? उनलाई संकट छ ।

नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई पार्टी पंक्तिले स्वीकार्न गाह्रो मान्ने, पुन र शर्मा प्रतिस्पर्धामा । यस्तो अवस्थामा वैचारिक काम समेत गर्न सक्ने र हिजो युद्धमा प्रचण्डपछिको भूमिका निर्वाह गरेका बाबुराम उनका लागि उपयुक्त विकल्प बन्न सक्छन् ।

चुनावको राग र विराग

खर्चिलो चुनाव र ऋणको बोझका कारण बाबुराम चुनाव नलड्ने मुडमा पहिलेदेखि नै थिए । उनले आक्कल झुक्कल यस्तो अभिव्यक्ति दिँदै आएका पनि थिए । अघिल्लो चुनावको ऋण अझै तिर्न नसक्दा उनको चुनावप्रति अतिरिक्त बिराग बढेको थियो ।

अघिल्लो वर्ष तिजताका जिल्लाबासी एक कार्यकर्ताको कलंकीस्थित घरमा श्रद्धाञ्जली दिन आएका उनले अर्को चुनाव नलड्ने बताएका थिए । यद्यपि, पार्टीभित्रका केही नेताहरूले भने शक्तिहीन हुने भयले चुनाव लड्नुपर्छ भन्दै दबाब दिँदै आएका थिए ।

आफ्नो उत्तराधिकारीको रूपमा एक मात्र सन्तान मानुषि यमी भट्टराईलाई अगाडि ल्याउने अनुकूल समय पनि यही भयो । योग्य र युवा उम्मेदवार राजनीतिक बजारले मागिरहेको अनुकूल अवसर उनी गुमाउन चाहँदैन थिए ।

उता प्रचण्ड अझै १० वर्ष सक्रिय राजनीति गर्ने मुडमा छन् । चुनावप्रतिको यो राग उनले सार्वजनिक समारोहहरूमा अभिव्यक्ति दिँदा पनि लुकाएका छैनन् । यसका लागि उनले सुरक्षित निर्वाचन क्षेत्र खोजिरहेका थिए । तीन ठूला दल मिलेर चौथो दलविरुद्ध चुनाव लड्न पाइने गोरखाजति अनुकूल क्षेत्र अरु हुनै सक्दैनथ्यो ।

२५ भदौमा पोखरा पुगेका प्रचण्डले हिजो जे भए पनि अब बाबुरामसँग मिलेर जाने स्पष्ट पारेका थिए । ‘उहाँलाई माओवादीमा स्वागत नै गरौं, कहीँकतै अपमान हुनेखालका कुरा नगरौं,’ उनले भने ।

भदौ ३१ गते बाबुरामको परिवारसँग डिनर बैठक गरेका प्रचण्डले बाबुरामलाई विश्वासमा लिइरहेका थिए । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले काठमाडौं-७ दाबी गरिरहँदा पनि प्रचण्डले उक्त क्षेत्र मानुषिका लागि जुनसुकै मूल्यमा पनि सुरक्षित गर्ने प्रतिबद्धता जनाइसकेका थिए ।

असोज ८ पोखरा पुगेर प्रचण्डले बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र नभएर धेरै पछिसम्मलाई हुने बताए ।

यद्यपि अन्तिम समयमा चितवनलाई नै सुरक्षित बनाउने उनको प्रयास थियो । असोज १० मा घर उनी ४० वर्षपछि चितवनमा तामझामसहित आफ्नै घरमा सरे । जित्ने आधार बनेसम्म चितवनबाटै चुनाव लड्ने उनको यो अन्तिम प्रयास थियो । यद्यपि राजनीतिका चलाख खेलाडी प्रचण्डले चितवनका ‘बागी कांग्रेस’सँग एमाले नेताहरूको कस्तो संवाद भइरहेको छ भन्ने थाहा थियो । चितवनमा प्रचण्डलाई हराउन गरेको चलखेल अनलाइनखबरसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले स्वीकार गरिसकेका छन् ।

सम्भावित भिडन्तको अर्को मैदान

पूर्ण समानुपातिक संसद, सांसद मन्त्री बन्न नपाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ भन्नेमा दुवै नेता सहमत छन् ।

‘पहिलो संविधानसभामा प्रचण्डले आफ्नो लोकप्रियताको कारण प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको नारालाई बेस्करी उठाए । तर, पालुङटार पुगेर विद्रोहको लाइन पारित गरे,’ एक माओवादी नेताले भने, ‘संविधानसभाबाट संविधान बनाउनेभन्दा विद्रोहबाट सत्ता कब्जा गर्ने लाइन हावी भएसँगै पहिलो संविधानसभाबाट संविधान नै बनेन । दोस्रोमा आइपुग्दा माओवादी अत्यधिक कमजोर भइसकेकोले यो एजेन्डालाई माओवादीले आफ्नो प्राथमिकतामा राखेन ।’

भट्टराईसँग लामो संगत गरेका पूर्वजसपा नेता प्रशान्त सिंह भन्छन्, ‘हाम्रोमा आफ्नो सुविधा हेरेर राजनीतिक नारा लगाउने प्रचलन छन् । राष्ट्रपति बनिहाल्छु कि भन्ने आशा भएका नेताहरूले मात्रै आफ्नो अनुकूलतामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको नारा लगाउँछन् ।’ सिंहको बुझाईमा संविधानप्रतिको असन्तुष्टि आ-आफ्नो दलीय स्वार्थअनुसार फरक छ । यो चुनावपछि कुनै नेता र पार्टी अत्यधिक बलियो भए उक्त मुद्दा पुनः उठ्न सक्ने उनको आकलन छ ।

‘मलाई त अब सबैतिरबाट अलिकति रेस्ट लिन मन त लाग्छ । उमेर पनि ढल्केको छ । अरु परिस्थिति पनि यस्तै छन्,’ प्रचण्डले भदौ तेस्रो साता सुर्खेतमा भनेका थिए, ‘तर जब यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउने आवश्यकता, हाम्रा ती हजारौं सहिदहरूको बलिदान, हजारौं बेपत्ता योद्धा, हजारौं घाइते अपाङ्ग, ती सहिद र बेपत्ता योद्धाका परिवार, त्यो सबैको जिम्मेवारी सम्झिँदा फेरि आफूलाई बुढो भएजस्तो पनि लाग्दैन ।’

सार्वजनिकरूपमा भनेजस्तै निर्वाचनपछि प्रचण्ड पुनः एकपटक मुलुकको नेतृत्व गर्न चाहन्छन् । यसबीचमा सोचेजसरी समाजवादी केन्द्र बन्यो भने संविधान संशोधन गरेर एकपटक प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्न चाहन्छन् । यसो हुन नसकेपनि आलंकारिक राष्ट्रपतिकै भए पनि भूमिकामा पुगेर राजनीतिबाट टाढिने प्रचण्डको योजना रहेको उनका निकटस्थहरू बताउँछन् ।

बाबुरामको पनि सत्ता राजनीतिको यो बिराम अल्पकालीन मात्रै हो । मलेसियामा मोहम्मद महाथीर ९७ वर्षमा पुनः चुनावी मैदानमा उत्रन लागेका छन् । अहिले ७० टेक्न लागेका बाबुराम अर्को चुनावतिर पुनः मैदानमा उत्रन सक्छन् । उक्त प्रतिस्पर्धाको मैदानमा उत्रनुअघि पार्टीभित्र प्रचण्ड-बाबुरामको अर्को भीडन्त हुनसक्छ ।

‘विगतको तिक्तता बिर्संदै नेताद्वयले जुन स्तरबाट एकअर्काको प्रशंसा गरिरहेका छन्, यसलाई हेर्दा एउटै पदमा लड्ने दुई नेताको महत्वाकांक्षा एकसाथ नजुर्मुराएसम्म सम्बन्ध अन्य कारणले तिक्ततापूर्ण हुन्छ जस्तो मलाई लाग्दैन, नेताद्वयको निकट रहेर पछिल्लो संवादहरूमा जोडिएका माओवादीका एक पोलिटब्यूरो सदस्यले बताए ।

-onlinekhabar

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.