भीम रावललाई गृहजिल्ला बोलाउँदै झपट बोहरा, ओलीसँग पनि आग्रह

धनगढी : नेकपा एमालेको अछाम र सुदूरपश्चिम प्रदेश कमिटीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि डाक्टर भीम रावलको नाम सिफारिस गरेको थियो । तर, उनले टिकट पाएनन्। एमाले पार्टीको केन्द्रले रावलको टिकट खासेर सुदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्री झपट बोहरालाई टिकट थमाएर चुनाव लड्न मैदानमा पठायो ।

Samajik New Add 2082

नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावलले यसअघि चुनाव लड्दै आएको क्षेत्रमा बोहराले मनोनयन दर्ता गरे। उनी अहिले चुनावी मैदानमा होमिएका छन्। उनी माओवादी केन्द्रबाट एमालेमा समाहति भएका नेता हुन् । उनले अहिले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा जनताको घर दैलोमा पुगेर मत मागिरहेका छन्। तर, नेता रावल भने गृहजिल्ला आएका छैनन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि जिल्ला जाने वातावरण नबनाएको बताउँदै आएका छन् ।

एमालेका केन्द्रीय सदस्य एवम् अछाम जिल्ला इन्चार्जसमेत रहेका उम्मेदवार बोहराले भने आफूले भीम रावललाई गृहजिल्ला बोलाएको बताए। उनले भीम रावलसँग आफू सम्पर्कमा रहेको दाबी गरेका छन् ।

उनले भने, ‘मैले सबैबाट सहयोग पाएको छु। कसैबाट असहयोग छैन। अहिले पार्टी एमालेका उम्मेदवारलाई जिताउन लागेका छन्। एमालेको जित निश्चित छ।’ उनले थपे, ‘अहिले हामी सम्पर्कमा छौँ। छलफल भइरहेको छ। वातावरण मिलेपछि उहाँ आउनुहुन्छ। उहाँलाई ल्याउन हामी प्रयत्न गरिरहेका छौँ। एमाले अध्यक्ष ओलीलाई पनि रावल कमरेडलाई जिल्ला पठाउन आग्रह गरेका छौँ ।’ यस्तै ओलीले पनि रावललाई गृहजिल्ला जान आग्रह गर्छु भनेर भनेको उनले बताए ।

अछाममा एमालेको विजयीका लागि नेता भीम रावलको आवश्यकता पर्ने तर्क गर्ने गरिएको छ। पार्टीभित्र फरक मत राख्दै आएका रावल अध्यक्ष ओलीसँगको अन्तरद्वन्द्वका कारण टिकट पाउनबाट वञ्चित भएको कतिपयको बुझाई छ। उनले पार्टीको दशौं महाधिवेशनपछि पार्टी अध्यक्ष ओलीसँग कुनै सम्पर्क र समन्वय नभएको दाबी गर्छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागी नेकपा एकिकृत समावादीका केन्द्रीय सदस्य श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर उम्मेदवार बनेका छन् ।

जिल्लाको प्रदेश १ मा कांग्रेसका मेघराज खड्का र २ मा माओवादी केन्द्रका झपट साउँद चुनावी मैदानमा छन्। जिल्लाको क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि एमालेतर्फबाट यज्ञ बोगटी, गठबन्धनको तर्फबाट कांग्रेसका जिल्ला पार्टी सभापति पुष्पबहादुर शाह चुनावी मैदानमा छन् ।

-thaha khabar

Leave A Reply

Your email address will not be published.