राप्रपाले माग्यो उपप्रधानसहित ४ मन्त्रालय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त राखेको छ । पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन् ।

तर सरकारमा सहभागीताबारे आफूहरूका एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने अडानमा राप्रपा छ ।

राप्रपा अध्यक्ष लिङ्देन सत्ता साझेदार दलका शीर्ष नेताका बैठकमा सहभागी हुने गरेका छन्। सत्ता साझेदार दलहरूले गत पुस १४ मा एक समिति गठन गर्दै ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका थिए। तर उक्त कार्यक्रम ल्याउन ढिलाइ भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। गत पुस १० मा ७ दल र केही स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएर विश्वासको मत लिन लागेका छन् । साथै विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तारको तयारी छ। प्रचण्डले गत पुस ११ मा शपथ लिँदै ८ जना मन्त्री नियुक्त गरेका थिए, अरू मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका ७ दलमध्ये राप्रपा, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएका छैनन् ।

नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट केही मन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन पहल गरिरहेका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका राप्रपा र नागरिक उन्मुक्ति पार्टीले केही सर्त राखेका छन्- प्रधानमन्त्रीलाई विश्वासको मत दिन र सरकारमा सहभागीता हुनका लागि !

नागरिक उन्मुक्तिले पार्टीका सल्लाहकार रशेम चौधरीलाई जेलबाट छुटाउनुपर्ने र मुद्दा फिर्तालगायत माग राखेको छ। नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभामा ४ सांसद छन् ।

यस्तै प्रतिनिधि सभामा १४ जना सांसद रहेको राप्रपाले पनि न्यूनतम साझा कार्यक्रममा आफूहरूका एजेन्डा समावेश भए सरकारमा जाने बताएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीमा बिदा दिनेलगायत राप्रपाले उठाएका माग समावेश भए सरकारमा पार्टी सहभागी हुने सेतोपाटीलाई बताए ।

‘हामीले उठाउँदै आएका माग सरकारले न्यूनतम साझा कार्यक्रममा समावेश गर्‍यो भने पार्टी सरकारमा जान्छ। सरकारमा जाने स्थिति बनेमा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा जान्छौं,’ उनले भने ।

राप्रपाको केही समयअघि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले न्यूनतम साझा कार्यक्रममा आफूहरूका एजेन्डा समावेश गरिए सरकारमा जाने र त्यो परिस्थितिमा पार्टीबाट अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने निर्णय गरेको थियो ।

राप्रपाले सत्ता साझेदार दलका बैठकहरूमा कुरा उठ्दा उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ। कुन-कुन मन्त्रालय लिने र क-कसलाई मन्त्री बनाउनेबारे भने पार्टीमा छलफल हुनै बाँकी रहेको श्रेष्ठ बताउँछन् ।

-setopati

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.