मौसमी फ्लूका बिरामी बढ्दै, सावधानी अपनाउन के गर्नुपर्छ ?

काठमाडौं । जाडो महिना सुरु भएसँगै महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा मौसमी फ्लुका बिरामीको संख्या बढ्न थालेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, सुक्खा खोकी, टाउको दुख्ने, घाँटी दुख्ने, बान्ता लगायतका समस्या भएका बालबालिका लिएर आउनेको भिड रहेको बालरोग विशेषज्ञ डाक्टर रामहरि चापागाईंले बताए ।

बाल अस्पतालमा जनरल वार्डमा दैनिक साढे तीनदेखि चार सय जनासम्म उपचारका लागि पुग्छन् । जसमा रुघा, खोकी, ज्वरो, सुक्खा खोकी, घाँटी दुख्ने आदि समस्या भएका दैनिक १५ देखि २० जना भर्ना हुने गरेको डा.चापागाईंले बताए । दम, निमोनिया, ज्वरो, रुघाखोकी, बान्ता, ब्रोङ्काइटिस लगायतका समस्या भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको उनले जानकारी दिए ।

उनले भने, ‘अन्य रोग लागेका बालबालिकालाई मौसमी फ्लू देखिएर स्वास्थ्यमा जटिलता भएर पनि अस्पताल भर्ना भएका छन् ।’ यद्यपि गर्मी मौसमको तुलनामा जाडोमा अस्पतालमा उपचार गर्न आउने बिरामीको दर कम हो । गर्मी मौसममा जनरल ओपीडीमा दैनिक आठ सयदेखि एक हजार जनासम्म उपचारका लागि पुग्ने गरेको बालरोग विशेषज्ञ डा.चापागाईं सुनाउँछन् ।

चिसो याममा मौसमी फ्लूको भाइरस सक्रिय हुने भएकाले साना बालबालिका चाँडै सङ्क्रमित हुने डा. चापागाईंको भनाइ छ । परिवारको एक जनामा मौसमी फ्लू सङ्क्रमण भएमा अन्यलाई पनि सरिहाल्ने भएकाले बालबालिका पनि सिधै प्रभावित हुने उनले बताए ।

जाडो याममा धेरैले झ्याल ढोका खुल्ला राखेर बस्दा फ्लू भाइरस सक्रिय भई श्वासप्रश्वासका माध्यमबाट सर्ने हुँदा बालबालिका बढी सङ्क्रमित हुने डा.चापागाईं बताउँछन् । जाडोमा सबै जना एकै ठाउँमा झुम्मिएर बस्दा श्वासप्रश्वासका माध्यमबाट लाग्ने रोगहरुले चाँडै आक्रमण गर्ने उनको भनाइ छ ।

कस्तो अवस्थामा अस्पताल पुग्ने ?

सामान्यतया मौसमी फ्लू बालबालिकामा देखिएको पाँच दिनदेखि सात दिनमा आफै निको हुने गर्छ । तर, बालबालिकालाई रुघाखोकी लागेको पहिलो वा दोस्रो दिनमै अभिभावक आत्तिएर अस्पताल पुग्ने गरेको उनी सुनाउँछन् ।

यद्यपि बालबालिकामा रुघाखोकी सहित अन्य रोग पनि लागेको वा दीर्घरोगी छन् भने मौसमी फ्लू हुँदा सामान्य ठान्न हुँदैन । उनी भन्छन्, ‘बालबालिकालाई खोकी लाग्नु, ज्वरो आउने, घ्यारघ्यार हुनु, चाँडैचाँडै श्वास फेर्नु, खाना खान नमान्नु, दुध चुस्न नमान्नु र बोल्न, चल्न खोजेनन् भने निमोनिया पनि हुन सक्छ ।’

बालबालिकालाई रुघाखोकी, ज्वरो, सुक्खा खोकी लागेको सात दिन कटिसकेको छ र श्वासप्रश्वासमा समस्या, छाती छिटोछिटो चलेको छ भने स्वास्थ्य संस्थामा लैजान उनको सुझाव छ ।

सरसफाइमा ध्यान दिऔं

बालबालिकालाई मौसमी फ्लूबाट जोगाउन सफाइमा ध्यान दिनुपर्ने बालरोग विषेशज्ञ डा.चापागाईं बताउँछन् । चिसोबाट जोगाउन टाउको, कान, हातखुट्टा न्यानो हुनेगरी कपडा लगाइदिनुपर्छ । साना शिशुलाई हातखुट्टा, तालु छामेर चिसो भए–नभएकोबारे आमाहरुले विशेष ख्याल गर्नुपर्ने उनले बताए । शिशुलाई नियमित रुपमा स्तनपानसँगै सन्तुलित पौष्टिक आहार खुवाउनुपर्नेमा पनि उनले जोड दिए ।

रुघाखोकी, ज्वरोबाट बचाउनका लागि विशेष गरी ६ हप्ता, १० हप्ता र ९ महिनामा दिइने एच इन्फ्लुएन्जा बी खोप लगाउने र अन्य नियमित खोप पनि अनिवार्य रुपमा लगाउन उनको सुझाव छ ।

अन्य अस्पतालमा पनि बढे रुघाखोकीका बिरामी

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसेले रुघाखोकीका बिरामी बढ्दै गएको बताए । अस्पताल भर्ना दर नबढे पनि ओपीडीमा मौसमी फ्लूका बिरामी बढेको उनको भनाइ छ ।

उता त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी ओपीडीमा मौसमी फ्लूका बिरामी उपचार आउने क्रम बढेको सुनाउँछन् । अस्पतालको ओपीडीमा उपचार गर्न आउनेमध्ये मौसमी फ्लूका बिरामी बढे पनि रेकर्ड नराखिएको उनी सुनाउँछन् ।

उनी भन्छन्, ‘कोभिड–१९ का बिरामी बढ्दा रुघाखोकीका बिरामीको रेकर्ड राखिए पनि फ्लूका बिरामीको रेकर्ड राखिएको छैन ।’

यता बीर अस्पतालमा पनि दैनिक रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या भएर उपचारका लागि आउने बिरामीको दर बढेको छ । डेढ सातायता दैनिक ओपीडीमा ६० जनासम्म यस्ता समस्या भएका बिरामी पुग्ने गर्छन् ।

प्रमुख कन्सल्टेन्ट डाक्टर चालिसेले फ्लूको भाइरस चिसो याममा सक्रिय हुने भएकाले एक जनाबाट अरुमा चाँडै सर्ने बताए । उनका अनुसार सामान्यतया रुघाखोकी आफै हराएर जान्छ ।

यद्यपि ज्येष्ठ नागरिक, दीर्घरोगी, श्वासप्रश्वासको समस्या भएका र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने व्यक्तिले मौसमी फ्लूलाई सामान्य ठान्दा खतरा साबित हुन सक्ने डा.चालिसेको भनाइ छ ।

उनी भन्छन्, ‘एक सातासम्म गर्भवती, बालबालिका, क्यान्सर, मिर्गौला मधुमेह, दम र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई रुघाखोकी, ज्वरो, बान्ता, शरीर दुख्ने, श्वासप्रश्वासमा समस्या, पखाला लागेमा उच्च जोखिम हो भनेर बुझ्नुपर्छ ।’

मौसमी रुघाखोकी लागेका व्यक्तिले कस्तो खानेकुरा खाने र कस्तो नखाने भन्ने आधार नभए पनि आराम गर्ने, झोलिलो पदार्थहरु सेवन गर्न, गेडागुडी र खानपान सफा र स्वस्थ हुनुपर्ने उनले बताए ।

यस्तै, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई इन्फ्लुएन्जा खोप लगाउन उनको सुझाव छ । एक व्यक्तिबाट धेरै जनासम्म पुग्ने सक्रिय भाइरस भएकाले हाँछ्यू गर्दा, खोक्दा, सिँगान फाल्दा सतर्कता अपनाउन पनि उनले सुझाव दिए ।

प्रशस्त मात्रामा झोलिलो र पोषिलो खाना खाने, मास्कको प्रयोग गर्ने, भिडभाडमा ननिस्कने जस्ता उपायबाट मौसमी फ्लुको जोखिम कम गर्न सक्ने उनले बताए । सरसफाइसँगै शरीर ढाक्ने न्यानो कपडा लगाउन पनि उनले सुझाव दिए ।

-ratopati

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.