
– बालाराम उपाध्यायः
नेपाल देव भुमि, तपो भुमि मात्रै हैन बीर बहादुरहरुको भुमिको रूपमा पनि विभिन्न धर्म ग्रन्थ तथा इतिहासका पानाहरु पल्टाएर हेर्दा पढ्न पाइन्छ । प्राकृतिक श्रोत ले भरिपूर्ण, अनेकौं, धार्मिक तथा सांस्कृतिक सम्पदाको खानि हाम्रो देशको बिकास जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा हुनुभन्दा पनि कछुवा गतिमा हुदैछ । जनतामा कुनै क्षेत्र प्रति आसा र भरोसा भन्दा पनि निरासा छाइरहेको छ । जसको कारण भोलिको हाम्रो नेपालको भबिस्य उज्वल देखिदैन । आर्थिक श्रोत र मानव श्रोत दिनानुदिन बिदेश पलायन भैरहेको छ । शक्ति र सत्ता को बोलवाला छ।ईमान्दारिता, योग्यता र क्षमताको कदर हैन अपमानित र तिरस्कृत गरिदैछ । डन, गुन्डा, तस्कर र धन सम्पति वालाहरु हरेक क्षेत्रमा हाबि भैरहेको छन् । सरकारि तथ्यांक अनुसार दैनिक हजारौंको संख्या युवाहरु बिदेश पलायन भैरहेको छन् । आज उत्कृष्ट नतिजा प्राप्त गर्ने देखि न्युनतम योग्यता प्राप्त युवा को पहिलो रोजाइ बिदेश रहेको देखिन्छ । आज सबै युवाले भन्ने गरेको एउटै शब्द हो:यो देशमा काम छैन।राजनीति, ब्यापार, ब्याबसाय, नोकरी, उद्योग कतै पनि आफ्नो भबिस्य नदेखिएकाले उसको बाध्यताको रोजाइ हुन्छ बिदेश ।

विभिन्न तथ्यांकअनुसार योग्य र दक्ष जनशक्ति त यो देश मा बस्नै मानिरहेका छैनन् । किन यस्तो भयो त ? यहि तरिकाले युवा पलायन हुदै जाने हो भने, यो देश कसको हुन्छ ? केहि नेताहरु जो बहुत टाठाबाठा छन्, जो निरन्तर शक्तिमा छन् जसले सत्ता र शक्ति को दुरुपयोग गरि अकुत सम्पति आर्जन गरेको छन् यि यस्ता मान्छेहरु रहरले हुनेछन् भने यो देशमा यस्ता मान्छे पनि हुनेछन् । जो राज्यको हरेको क्षेत्रमा पहुँच पुग्न न सकेका, आर्थिक रूपमा बिपन्न, शारीरिक तथा मानसिक रूपमा असक्त।जो जिउँदै मरितुल्य छन् । के यतातिर कसैको ध्यानाकषिर्त भएको छ ? राज्यको उपल्लो निकाएमा बसेकाहरु को चाडैं सत्बुद्दि पलाउन जरुरी छ । नयाँ नीति र कार्यक्रम ल्याएर जनशक्ति पलाएन रोक्न सकिएन भने भोलिको नेपाल निर्धा र मुर्दा को देश मात्रै न होला भन्न सकिन्न ।


के हामीले यस्ताकुराहरु सुधार गर्न सक्दैनौं त ? दृढ इच्छा शक्ति, देश बिकास को चाहना तथा देश र जनता को माया भए छ भने असम्भव भन्नेकुरा के छ र ? बोलि र व्यबहार मा तादम्यता न हुनु, देश र समाजको लागि न भएर नितान्त ब्यक्तिगत स्वार्थमा केन्द्रित हुनु, नातवाद, जातिवाद तथा परिवार वाद हावी हुनु, नेतृत्व का कमजोरी हुन् । यि कुराहरुलाइ सुधार गर्दै जनताको चाहना र भावनाअनुरूप चल्ने हो भने त्यो नेतृत्व र पार्टी स्थापित हुन्छ र जनता मा आएको निराशा एक हद सम्म कम हुन्छ पनि । आज गाउँमा जानु भयो भने केटाकेटी र बुढाबुढि मात्रै भेटिन्छन्, अझ हुनेखाने का त गाउँमा जग्गा जमिन देखि घर बाझो छन् ।
जमिन बाझो छ खाद्यान्न किनेर खान्छ,।दैनिक उपभोग का सामान देखि अन्य सबै सामन बिदेश बाटै आयात गर्नुपर्ने गाउँ समाज र देश परनिर्भर भै सक्यो । खेति गरौं सिचाइ छैन, सिचाइ छ मल खाद्य छैन, उत्पादन गर्यो बजार छैन, बजार लियो भाउ छैन । यो कृषि को कुरा भयो सबै क्षेत्रमा यस्तै समस्या छ । सानोतिनो पुजि ले कुनै काम हुदैन । भन सुन या लेनदेन बिना कहिँ कतै कामै हुदैनन् । अनि यो देश मा मान्छे बस्छ पो कसरि ? देश आर्थिक संकटमा फस्दै छ।गिदि र बुद्धि भएको, जोस र जागर भएको सबै बाहिर भएपछि निर्धा र मुर्दा ले समाजवाद ल्याउछन होला त ? नीतिनिर्माता हरुमा बिधि पद्धति र सिद्धान्त को ख्याल् हुदैन भने, “जो होचो उसैको मुखमा घोचो” भएछि निराशा पैदा हुनु अस्वभाविक हो र ? यो देशमा मौलाएको बेथिति लाई अध्ययन गर्ने हो र हाम्रो समाज को मनोबिज्ञान बुझ्ने हो भने जताततै असन्तुष्टि भेटिन्छ । यि सबै कुराको सार देश को बर्तमान अवस्था राम्रो छैन भन्ने नै हो । त्यसकारण नेपाल निर्धा र मुर्दा को देश न बनोस् । धन्यवाद ।
(लेखक उपाध्याय नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अधिवक्ता समेत हुनुहुन्छ ।)
