
होम साउद, अछाम १५ जेठः
१६ औं गणतन्त्र दिवसको अवसरमा अछाम सदरमुकाम मंगलसेनमा प्रभातफेरी सहित प्रवचन कार्यक्रम गरिएको छ । गणतन्त्र मुल समारोह समितिको आयोजनामा दिवस मनाईएको हो ।
गणतन्त्र दिवस मुल समारोह समितिको निर्णय अनुसार जेठ १४, १५ र १६ गते दिवस मनाउँने निर्णय अनुसार १४ गते मंगलसेन बजार सरसफाई सहित जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो भने १५ गते प्रभातफेरी सहित प्रवचन कार्यक्रम गरिएको छ । मंगलसेन खुल्ला मञ्चबाट सुरु भएको प्रभातफेरि कार्यक्रम बजार परिकर्मा गरि अछाम बहुमुखी क्याम्पसको सभाहलमा औपचारीक कार्यक्रम गरिएको थियो ।
जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवरको अध्यक्षतामा भएको औपचारिक समारोहमा मंगलसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता कुमारी रावल, अछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपाने, नेपाली काँग्रेसका जिल्ला उपसभापति नयाँराम बजगाई, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सरिता उपाध्याया लगायतले प्रवचन मन्तव्य राख्नुभएको थियो । वक्ताहरुले गणतन्त्र दिवसको महत्व, ईतिहास र वर्तमान अवस्थाबारे धारणा राख्नुभएको थियो ।

गणतन्त्र दिवसको अवसर पारि अछाम बहुमुखी क्याम्पसमा संचालित गणतन्त्र कार्यान्वयनमा युवाहरुको भूमिका विषयक वक्तित्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने चन्द्र प्रसाद भाट, दृतिय स्थान हासिल गर्ने गणेश अधिकारी र तृतिय स्थान हासिल गर्ने प्रमिला ढुंगानालाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । सोहि अवसरमा प्रथम स्थान हासिल गरेका विद्यार्थि चन्द्र प्रसाद भाटले सम्वन्धित विषयमा मन्तव्य राखेका थिए ।
जिल्ला स्थित राजनीतिक दल, जनप्रतिनिधि, सरोकारवाला, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थि, सुरक्षाकर्मी र पत्रकार लगायतको सहभागीता रहेको औपचारीक समारोहमा मंगलसेन नगरपालिका ५ का वडा अध्यक्ष झंकर प्रसाद भाटले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको थियो ।
२०६५ जेठ १५ गते राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई गणतन्त्र स्थापना भएको दिनको अवसरमा हरेक वर्ष जेठ १५ गते राष्ट्रिय दिवसकै रुपमा गणतन्त्र दिवस मनाउँने गरिएको छ ।
केहि तस्बिरहरुः
