
होम साउद, मंगलसेनः
हरित सिप र हरित राेजगारी सम्वन्धि अभिमुखिकरण कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको आयोजना र वाक नेपालको सहकार्यमा कार्यक्रम गरिएको हो ।

नगर उपप्रमुख संगिता कुमारी रावलकाे अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख पदम बहादुर बाेहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले मानव सिर्जित विकृतिको कारण जलवायु परिवर्तनमा असर परिरहेको बताउनुभयो । जलवायु अनुकूलनका लागि नाङ्गो ठाउँमा वृक्षरोपण गर्नुपर्ने भन्दै उहाँले वडा स्तरमा पनि यस विषयमा छलफल र बहस गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारीले हरित सिप र हरित राेजगारिका लागि कानुनी र व्यवहारिक रुपमा नगरपालिका प्रयत्नशील रहेको बताउनुभयो ।
कार्यक्रममा हरित सिप तथा हरित राेजगारीका लागि नगरपालिकाले नीति तथा बजेट तर्जुमा गर्दा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । यस्तै वातावरण तथा पारिस्थितिक प्रणालीमा परिरहेको नकारात्मक प्रभाव, जलवायु मैत्री उपभोक्ता, वातावरण मैत्री समुदाय आदि विषयमा समेत कार्यक्रममा छलफल गरिएको छ ।
सेभ द चिल्ड्रेन परियोजना संयाेजक प्रेम बहादुर पुन र वाक नेपाल पावर परियाेजनाका परियोजना संयाेजक महादेव ओझाले सहजिकरण गर्नुभएको कार्यक्रममा सबै वडा अध्यक्षहरु र विभिन्न शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । वाक नेपाल पावर परियोजनाका मिल अधिकृत नरेन्द्र तिमिल्सिनाले उदेश्यमाथि प्रकाश पार्नुभएको अभिमुखिकरण कार्यक्रमको संचालन फिल्ड अधिकृत रमिता ढुंगानाले गर्नुभएको थियो ।
केही तस्बिरः
