
चक्र प्रसाद जैसी मंगलसेन – जिल्ला प्रहरी कार्यालय अछामको प्रथम चौमासिक पत्रकार सम्मेलन आज सम्पन्न भएको छ ।
सम्मेलनमा चालू आर्थिक बर्षको ४ महिनामा भएका घटना तथा कार्यक्रमहरुको बारेमा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक अर्जुन सिंह साउदले जानकारी गराउनु भएको छ । प्रहरी निरिक्षक साउँदका अनुसार यो ४ महिनाको अवधिमा विभिन्न ४१ वटा अपराधका घटना भएका छन् ।
यस्तै चालु आर्थिक वर्षमा अछाममा १५ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने ३८ जना सामान्य घाइते र ८ जना गम्भिर घाईते भएको जिल्ला पहरी कार्यालय अछामले जानकारी दिएको छ । यस्तै यो ४ महिनाको अवधीमा १ हजार ६ सय ९४ सवारी साधनलाई कारवाही गरी ९ लाख २१ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ९२ सचेतनामुलक कार्यक्रम गर्दा ४ हजार ९ सय ५२ जना लाभान्वित भएको जानकारी दिएको छ । यस्तै घरेलु हिंसाका १५ वटा उजुरी दर्ता भएकोमा १३ वटा मिलापत्र भएका छन् भने २ सम्बन्धित निकायमा पठाइएको छ । यस्तै यो अवधीमा २८ महिला तथा बालबिकाहरु हराएका थिए । जसमध्ये २० जना फेला परेका छन् भने ८ जना अझै बेपता रहेको तथ्यांकमा उल्लेख गरीएको छ ।
कारागारमा हाल ८३ जना कैदी तथा थुनुवाहरु रहेका छन् । अपराध अनुसन्धानमा समस्याहरु रहेको प्रहरी निरिक्षक साउँदले बतानुभयो । उहाँले लागुऔषध नियन्त्रण सम्बन्धी लागुऔषध विरुद्धको महाअभियान २०८० श्रावण देखी शुभारम्भ गरेको बताउदै जिल्ला स्तरीय, पालिका स्तरीय र वडा स्तरीय लागु औषध नियन्त्रण संजाल समिति गठन गरिएको समेत बताउनु भएको छ ।
महिला, बालबालिका तथा घरेलु हिंसाका घटना समाजमा नै मिलाउने प्रवृत्ति बढेको उहाँको भनाई छ । आपराधिक घटनाको शुरुमा ठाडो उजुरी दिई पीडकलाई पक्राउ गर्न लगाउने र बाहिर नै बार्गेनिङ गरी कुरा मिलाउने र पछि पीडित पक्ष सम्पर्कमा नआउने लगाएतका समस्याहरु रहेको उहाँको भनाई छ ।
सम्मेलनमार्फत् हाल जिल्लामा विभिन्न मुद्धामा ६ जना फरार प्रतिवादी रहेको जानकारी दिईएको थियो । सम्मेलनमा जिल्ला स्थित पत्रकार तथा संचारकर्मीहरुको उपस्थीती रहेको थियो ।
