
चक्र प्रशाद जैसी, अछाम – हाम्रो मंगलसेन राम्रो मंगलसेन भन्ने नारालाई आत्मसाथ गर्दै मंगलसेन बजार बिकास तथा प्रर्वद्धन समिती र मंगलसेन नगरपालिका वडा नम्बर ५ ले सक्रियता बढाएको छ ।
बजार क्षेत्रमा जथाभावी रुपमा फालिएका मदिराका बोतल तथा फोहोर व्यवस्थापन गर्नेदेखि सडकको नालिको सरसफाई लगाएत अन्य रचनात्मक कार्यहरु थालिएको हो । मंगलसेन नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष झंकर प्रसाद भाटले बजार क्षेत्रमा सडकको नालि फोहोरले भरिएर बजार दुर्गन्धित भईरहेकाले ३ दिनदेखी निरन्तर सरसफाई भईरहेको बताउनुभयो ।

सरसफाई अभियानमा व्यापारी, स्थानीय, प्रहरी, पत्रकार लगाएत सबै पक्षबाट सकारात्मक सहयोग भईरहेको उहाँको भनाई छ । उहाँले पुर्ण रुपमा बजार सरसफाई गरिसकेपछि ठाउँठाउँमा डस्टविन राखिने र हप्ताको १ पटक बजार सरसफाई गर्ने योजना रहेको बताउदै अहिले पार्टिगत रुपमा सरसफाई गरिरहेको भन्ने बजारमा हल्ला फैलाईएको प्रती भने असन्तुष्टी जनाउनुभयो ।
नयाँ समिती गठन भएदेखी मंगलसेन बजार सरसफाईका काम निरन्तर गरीरहेको प्रर्वद्धन समितीका अध्यक्ष गोपाल बोगटीले बताउनु भएको छ । बजार क्षेत्रको सरसफाईका लागि समिति र नगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले यस कार्यमा सबै बजारबासीलाई साथ दिन समेत उहाँले आग्रह गर्नुभयो । अभियानका क्रममा मंगलसेन बजारको बैरागीधारा, टिकट काउन्टर वरपर, बिचबजार स्थित सडकको नालि सरसफाई र सडक छेउको फोहोर व्यवस्थापन गरिएको छ ।
पछिल्लो समय आफुहरु बजार व्यवस्थापन र सरसफाईमा केन्द्रीत रहेको बताउँदै आफुहरुले गरेको कामप्रति नगरपालिकाले पनि अपनत्व लिनुपर्ने भन्दै थप जिम्मेवारी दिनुपर्ने उहाँको भनाई छ ।
