

मंगलसेन – कमलबजार नगरपालिकामा १८ महिना देखीको करार कर्मचारीको समस्या समाधान भएको छ ।
सो सहमती कार्यान्वयन गराउन जनप्रतिनिधि एकमत रहेका र कार्यान्वयनका लागी कार्यालयले तत्काल काम गर्नुपर्ने नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले बताउनुभयो । आज भएको छलफल पछिको सहमतीलाई अब कसैले पनी तोड्न नहुने कमलबजार नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष लाल बहादुर शाहले बताउनुभयो ।
विभिन्न चरणमा छलफल पश्चात भएको सहमतीपछि कार्यालयको सेवा प्रवाह भोली बिहिवार बिहान १० बजे देखी सुचारु हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले जानकारी दिनुभयो । कर्मचारीले उठाएका मागलाई नगर सरकारले सम्बोधन गरी आर्थिक वर्ष २०८०÷८१ को बजेट मंसिर २४ गतेभित्र पास गरी तलब भुक्तानी गर्ने र आगामी करार म्याद थप गर्ने सर्तमा ताला खोलिएको करार कर्मचारी संघर्स समितीका संयोजक देवेन्द्र बहादुर शाहीको भनाई छ ।
पारिश्रमिक नपाएका पालिकाभित्रका शिक्षकहरुले मंसिर १० गते देखी शिक्षण सेवा ठप्प पारेकाले यो महिनाको मसान्तसम्म तलब भुक्तानीकोे सुनिश्तिता गर्ने गरी सहमती भएकोले भोली देखीनै शिक्षणलाई निरन्तरता दिईने भएको छ । साथै यस पछि १५ गते कार्यपालिकाको बैठक बस्ने र २४ गते नगर सभा बस्ने समेत निर्णय भएको छ ।
