

२८ मंसिर,अछाम । अछामको कमलबजार नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट ५ महिना ढिलो गरि सार्वजनिक गरेको छ । संविधानत् असार १५ गते भित्र नयाँ आर्थिक वर्षका लागी बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भएपनि कमलबजार नगरपालिकामा बजेट निर्माणमा सहमति जुट्न नसक्दा चालु आर्थिक वर्षको ५ महिनासम्म पनि बजेट प्रस्तुत हुन सकेको थिएन ।

मंसिर २८ गते बिहिबार आज बसेको नगरसभाले आर्थिक वर्ष २०८०/८१ लागी चालुतर्फ ३६ करोड ५७ लाख ८ हजार ६ सय र पुजिँगत तर्फ १६ करोड ९७ लाख ९६ हजार गरि कुल ५३ करोड ५५ लाख ४ हजार ६ सय बराबरको अनुमानित बजेट सभासमक्ष नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले प्रस्तुत गर्नुभयो ।
नगरपालिकाको समग्र विकासका लागी गौरवका आयोजना देखि अन्य बिकासका पुर्वाधार निर्माण गरिने बजेटमा उल्लेख छ । बजेटमा शिक्षा,स्वास्थ्य,खानेपानी,यातायात, भौतिक संरचना निर्माणमा बिषेश जोड दिईएको छ । नगरपालिकामा सुशासन कायम,संस्कृति संरक्षण,पोषण,पर्यटन,खेलमैदान निर्माण लगायतका विकासका आयोजनामा बजेट विनियोजन गरिएको छ ।
नगरसभामा सभासदस्यले उठाएको जिज्ञासाको जवाफ दिनुहुँदै नगर प्रमुख ढकालले आफूहरुबिच केहि विवाद रहेका कारण बजेट ल्याउन ढिलाई भएको स्विकार गर्नुभयो । लामो समयको प्रयासपछि सबै समस्या समाधान भएकाले अब बिकासका काममा नगरपालिकाको ध्यान केन्द्रित हुने उनको भनाई छ । समयमै बजेट ल्याउन नसक्दा सबै क्षेत्रमा समस्या सिर्जना भएको स्विकार्दै नगरप्रमुख ढकालले अव सबै समस्या समाधान भई नियमित रुपमा जनताका कामहरु हुने दावी समेत गरे ।
नगरपालिकाका अधिकाँस वडाहरु भौगोलिक रुपमा विकट रहेकाले त्यस क्षेत्रका जनतालाई विकासको महसुस गर्नेगरि आगामी दिनहरुमा नगरपालिकाले काम गर्ने नगर उपप्रमुख कुँवरले बताईन् । आफूहरुले समयमै बजेट ल्याउन नसकेकाले आम जनतामा निराशा छाएको तर्फ संकेत गर्दै कुँवरले सबै समस्या समाधान गरि अब नगरको समग्र विकासमा आफूहरुको ध्यान केन्द्रित भएको बताउनुभयो ।
नगरपालिकाले समयमै बजेट ल्याउन नसक्दा कर्मचारी हरुले अहिलेसम्म तलवभत्ता प्राप्त गर्न सकेका छैनन् । पटक पटकको विवाद पछि आज नगरपालिकाले बजेट स्विकृत गरेसंगै सबै कर्मचारीहरुको तलवभत्ता भूक्तानी हुने प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले बताए ।
नगरसभामा बोल्ने अधिकाँस कार्यपालिका तथा वडा सदस्यहरुले नागरिक स्तरमा निकै वितृष्णा फैलिएको भन्दै यसलाई तत्काल समाधान गर्न पालिकालाई सुझाव समेत दिएका छन । बजेट स्विकृत भएसंगै सहज भएको भन्दै उनिहरुले यसको सहि कार्यान्वयनका लागी सबै जनप्रतिनिधिहरु,राजनितिक दल,बृद्धिजिवि वर्गले सक्रिय बन्नुपर्नेमा जोड दिएका छन ।
फरकखबरबाट साभार गरिएकाे….
